जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार ०५:४१

मेयर–उपमेयर हुन त यस्ता : आफ्ना लागि गाडी किन्ने पैसाबाट जनताका लागि खानेपानीको ट्यांकर


सर्लाही, साउन २ । स्थानीय निकायका जनप्रतिनिधि आफ्नो सुबिधा र असारे बिकासमा रमाइरहेको जताततै समाचार आइरहेको छ । कतै मापसेका घटना त कतै आफ्नै सेवा सुबिधाको कुराले जनप्रतिनिधि बदनाम भइरहेका छन । तर सर्लाहीको एक नगरपालिकामा भने मेयरको एउटै कामले जनताबाट वाहवाही पाइरहेका छन ।

नगरपालिकाले आफ्नो सुबिधाको लागि गाडी किन्न बिनियोजन गरेको पैसाबाट मेयरले जनताका सेवाका लागि खानेपानीको ट्यांकर खरिद गरे । सुत्केरी पोषण भत्ताबापत छोरी जन्मिए ५ हजार रुपैयाँ र छोरा जन्मिए ३ हजार रुपैयाँ दिएर सवैको प्रिय बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा खानेपानीको ट्यांकर किनेपछि जनताका नजरमा हिरो बन्नुभएको हो ।

नगरभित्र पर्ने चुरे क्षेत्रको बस्तीमा देखिएको खानेपानीको समस्या बुझेर मेयर थापाले अघि सारेको योजनामा उपप्रमुख लीलाकुमारी मोक्तानले दह्रो साथ दिनुभयो । उपप्रमुख पनि आफै जस्तो पाएपछि गाडी किन्न आएको २२ लाख रुपैयाँबाट खानेपानीको ट्यांकर खरिद गर्नुभयो । अहिले त्यही ट्यांकरबाट प्रत्येक दिन नगरबासीले निःशुल्क खानेपानी पाएका छन् । गाडी नकिनेर ट्याङकर किन्ने नगर प्रमुख थापा र उप–प्रमुख मोक्तान दुवै पैदल हिडनुहुन्छ ।

नगरभित्रका कार्यालयमा आवत जावत गर्न मोटरसाइकलमा लिफ्ट मागेर हिडनु हुन्छ । ‘हामी गाडी चढदै गर्दा कसैले पानी खाएको छैन भने त्यो राम्रो हुँदैन भन्ने लागेर हामीले आफ्नो लागि गाडी होइन, जनताका लागि ट्यांकरमार्फत बस्ती बस्तीमा खानेपानी पुर्याउने काम गरेका छौं, यस्मा जति खुसी अरुमा हुने रहेनछ,’ उपप्रमुख मोक्तान भन्नुहुन्छ । त्यसो त बागमती नगरपालिकाले गरेको सुत्केरी भत्ता नगरपालिका संघको उत्कृष्ट एक सय कामभित्र पर्न सफल भएको छ । जुन साच्चिकै उदाहरणीय छ ।

छोरी जन्मिदा भेदभाव हुने गरेकाले नगरपालिकाले सामाजिक कुरिती हटाउँदै समाजमा चेतना अभिवृद्धि गर्न सो अभियान अघि बढाइएको हो । उपप्रमुख मोक्तानको भनाई उधृत गर्दै सर्लाहीका पत्रकार कृष्ण उप्रेतीले जनाएअनुसार नगरपालिकाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत छोरी जन्माउनेलाई विषेश प्राथमिकता दिएको छ । जसले समाजमा छोरा र छोरीबीच हुने भेदभाव रोक्नेछ । नगरपालिकाको न्यायिक समितिले गरेको काम पनि उतिकै सरहानीय छ । मुद्दा मामीलाका घटनाहरु बागमति नगरपालिकामा खासै आइपुग्दैनन् । न्यायीक समितीको संयोजक, उपप्रमुख रहने व्यवस्था छ । त्यसैले पनि कतिपय समस्याहरु घरदैलोमा नै पुगेर समाधान गर्ने गरिएको उहाँ बताउनु हुन्छ ।

‘गाउँका समस्या लिएर नगरपालिकामा आउनुहुन्छ । हामी समस्या समाधानको सुझाव दिन्छौं । तर उहाँहरु हाम्रो उपस्थिति नै चाहनुहुन्छ । अनि हामीले गाउँमै पुगेर समस्या समाधान गर्ने गरेका छौं,’ उपप्रमुख मोक्तानले भन्नुभयो । नगरपालिकाले महिला तथा बालबालिकाको क्षेत्रमा पनि उदाहरणीय काम गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा महिलाहरुको दक्षता अभिवृद्धि र अभिमूखीकरण कार्यक्रमको लागि २० लाख र न्यायमा सम्बन्धी सशक्तीकरणको लागी १० लाख विनीयोजन भएको छ । आगामी वर्षका लागि नगरपालिकाले १ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ ।