जनता टाइम्स

४ आश्विन २०७५, बिहीबार ११:५९

राष्ट्रिय धावकको पीडाः काँचो चना खाएर कहिलेसम्म दौडिनू ?


दौडन तयार भएर ट्रयाकमा जानुअघि कसले सोच्छ होला र लास्ट हुन्छु भन्ने ? अरु कुदिरहेको हेर्दा लाग्छ, ह्या… यति त म पनि सक्छु नि ! तर, जब दौडिन थालिन्छ, तिनीहरुले नै धेरै पछि छाडिदिन्छन् । अनि आफ्नो अवस्था छर्लङ्ग बुझिन्छ ।

अहिले जिन्दगीको दौडमा पनि त्यस्तै छर्लङ्ग भएको छु म । नामको भोक मेटियो वा  हरायो । अझ भनौं, लोकप्रियताको चाहनालाई भविश्यको चिन्ताले ओझेलमा पारिदिएको छ । बरु अहिले काँही त किन खेलाडी बनेछु भन्ने पो लाग्छ ।

हुन त मैले दौडमा लाग्ने, खेलाडी बन्ने सपना पनि धेरै पछि मात्रै देखेको हुँ ।

खुट्टा भाँचिएर कहिल्यै ठीक नहोला जस्तो भएको थियो कुनै बेला । १०० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउँदा एक अर्थमा आफ्नो सपना भेट्टाएँ । तर, अहिले त त्यही सपनाले झनै पीडा दिएको छ । त्यो सपना किन देखें होला जस्तो लागेको छ ।

न अब अरु क्षेत्रमा राम्ररी लाग्न सक्छु, न त खेलकुदमा देखेको भविश्य नै मिलिरहेको छ । जीवन र मृत्युको दोसाँधमा लडिरहेको मान्छे जस्तो भएको छु भन्दा फरक नहोला ।

खेलकुदबाट राष्ट्रिय स्तरमा मैले राम्रै गरेको छु जस्तो लाग्छ । तर पनि अहिले किन निराश भएँ ?

कुराहरु अन्त्यबाट सुरु गरें । सुरुबाट सुरु गर्छु, अनि तपाईँहरुले बुझ्नु हुनेछ ।