जनता टाइम्स

६ श्रावण २०७६, सोमबार ०६:२५

नेकपामा यसरी मिल्यो भागबन्डा : पूर्वएमाले ५३.२४, पूर्वमाओवादी ४६.७५ प्रतिशत


काठमाडौं, साउन ६ । सत्तारूढ नेकपाले एकता भएको १४ महिनापछि ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ। लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको हो।

एकता भएको १४ महिनापछि जिल्ला इन्चार्ज र सहइन्चार्जहरू तोकिएको हो। नेकपाले यसअघि नै जिल्ला अध्यक्ष तथा सचिव तोकिसकेको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। ६ महानगरमा इन्चार्जहरू तोकिएका छन्। महानगरमा सहइन्चार्ज भने तोकिएका छैनन्। केही जिल्लामा इन्चार्ज मात्रै तोकिएका छन् भने कतिपय जिल्लामा भागबन्डा मिलाउन १० जनासम्म सहइन्चार्ज पनि तोकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको बसेको नेकपा सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाट गरेको हो। तर बैठकले विभाग प्रमुखहरू भने तोक्न सकेन। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय विभाग र आयोगहरूको जिम्मेवारीबारे छलफल गर्न बैठक बस्ने निर्णय भएको छ ।
आइतबार भूगोलका ७७ जिल्लामध्ये तत्कालीन एमालेले ४१ र माओवादीले ३६ जिल्लामा इन्चार्ज पाएका छन्। यो कुल प्रतिशतका हिसाबले तत्कालीन एमालेको ५३.२४ र माओवादीको ४६.७५ प्रतिशत भागबन्डा हो।

६ महानगरपालिकामध्ये तत्कालीन एमालेले ४ र माओवादीले २ इन्चार्जको जिम्मेवारी पाएका छन्। महानगरलाई पनि जिल्लाकै हैसियत दिई नेकपाले नेताहरूको कार्यविभाजन गरेको छ। पर्सा, उदयपुर, मुगु, दैलेख, स्याङजा, डोटी र बाजुरा गरी ७ जिल्लाको इन्चार्ज–सहइन्चार्ज दुवैमा तत्कालीन एमाले नेताले जिम्मेवारी पाएका छन्। तत्कालीन माओवादीले रोल्पा, सुर्खेत, जुम्ला, अछाम र सोलखुम्बु गरी पाँच जिल्लाको इन्चार्जरसहइन्चार्जको जिम्मेवारी पाएको छ।

कुन जिल्लामा कसलाई ?

पूर्वएमालेले भूगोलका ४१ र महानगरका ४ ओटाको इन्चार्ज पाएको छ। उसले ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेहथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा, बारा, पर्सा, चितवन, मकवानपुर, नुवाकोट, रामेछाप, काभ्रे, काठमाडौं, लमजुङ, स्याङजा, मनाङ, नवलपरासी पूर्व, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, अर्घाखाची, रुकुम पूर्व, बाँके, बर्दिया, दैलेख, जाजरकोट, मुगु, डोल्पा, दार्चुला, कञ्चनपुर, डोटी, बझाङ र बाजुरा जिल्ला तथा पोखरा महानगरपालिका, काठमाडौं महानगर, ललितपुर महानगर र वीरगन्ज महानगरको इन्चार्जको जिम्मा पूर्व एमालेका नेताहरुले पाएका छन्।

त्यस्तै माओवादी केन्द्र तर्फका ३६ भूगोल र २ महानगरपालिकाको जिम्मा पाएको छ। उसले धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर, सोलखुम्बु, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पाँचथर, इलाम, धनकुटा, भोजपुर, गोरखा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, कपिलवस्तु, गुल्मी, प्यूठान, दाङ, रोल्पा, सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, सल्यान, रुकुम पश्चिम, बैतडी, डडेलधुरा, कैलाली, अछाम र विराटनगर महानगर र भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी पाएको छ।