जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १७:३७

संघर्षबाट स्थापित इश्वर पोखरेलको मान–मर्दनले सुदृढ बन्दैन नेकपा


कसैले माने पनि नमाने पनि इश्वर पोखरेल राजनीतिमा संघर्षपूर्ण यात्राबाट जन्मिएको र कामबाट खारिएको नेता हो । अनेकन आन्तरिक र वाह्य प्रहारका वावजुद सग्लै खडा रहेर लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान निर्वाह गरेको नेता हो इश्वर पोखरेल । जसले पार्टी एकता पश्चात पनि अव विगतको आवद्धताको धङधङी हैन, सामुहिक चिन्तनले एक भएर अगाडि बढनु पर्छ भन्ने चिन्तनको वकालत गर्दै आउनु भएको छ । आजको नेकपाको मुल लाइन र एकताको स्पिरिट यही हो 

कुनैपनि पार्टीभित्र नेताहरुको जिम्मेवारी बाँडफाँट एउटा प्रक्रियाको अंश मात्रै हुन । तर प्रत्यक नेताहरुको व्यक्तित्व चाँहि एउटा निरन्तर संघर्ष र उल्लेख्य योगदानको उपज हो । त्यसैले जिम्मेवारी बाँडफाँटको छलफल चल्दै गर्दा आफूले देखे जानेको आधारमा यो जिम्मेवारीमा यो ठीक वा त्यो बेठीक भन्न त पाइएला । तर फलानो हुनैपर्छ वा फलानो हुनै हुँदैन भन्ने खालका अभिव्यक्ति ठीक हुदैन । पार्टी हितमा पनि हुन्न । अहिले नेकपाको एकता प्रक्रिया चलिरहेको छ । जसअनुसार अहिले सचिवालयका नेताहरुको जिम्मेवारीको बारेमा छलफल चल्दैछ । निर्णय नभइन्जेल कसले के जिम्मा पाउने हो ? यसै भन्न सकिन्न । तर त्यो सत्यका वावजुद पार्टी स्कूल विभागको नेतृत्वको सम्वन्धमा नेताहरु इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्य को हुने भन्ने ठुलो हानथाप रहेको जस्तो ढंगले प्रचार प्रसार भैरहेको छ ।

पार्टी जीवनमा महत्वपूर्ण रहने स्कूल बिभागको नेतृत्व गर्न उल्लेखित दुई वाहेक अन्य नेताहरु बेदुराम भुषाल र घनश्याम भुषालले पनि सार्वाजनिक रुपमै आफ्नो दावी प्रस्तुत गर्नुभएको छ । यस्तो अवस्थामा पार्टीले एउटा उचित निर्णय पक्कै लिनेनै छ । जुन स्वाभाविक पनि छ । यद्धपि स्कूल विभागको नेतृत्वको निम्ती भनेर चर्चामा रहनु भएका नेता इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको सम्वन्धमा जे जसरी पक्ष वा विपक्ष गरेर वहस चलाइने मात्रै नभएर विवाद गर्ने जुन तरिका बिभिन्न फोरमदेखि सामाजिक संजालहरुमा देखाइएको छ । त्यसले राम्रो संकेत गरेको छैन । बरु नजानिँदो ढंगले संघर्षपूर्ण प्रक्रियाबाट स्थापित नेताहरुको मान मर्दन भैरहेको छ ।

कसैले माने पनि नमाने पनि इश्वर पोखरेल राजनीतिमा संघर्षपूर्ण यात्राबाट जन्मिएको र कामबाट खारिएको नेता हो । अनेकन आन्तरिक र वाह्य प्रहारका वावजुद सग्लै खडा रहेर लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान निर्वाह गरेको नेता हो इश्वर पोखरेल । जसले पार्टी एकता पश्चात पनि अव विगतको आवद्धताको धङधङी हैन, सामुहिक चिन्तनले एक भएर अगाडि बढनु पर्छ भन्ने चिन्तनको वकालत गर्दै आउनु भएको छ । आजको नेकपाको मुल लाइन र एकताको स्पिरिट यही हो । यो लाइन पार्टी नेतृत्वको पक्षमा दृढतापुर्वक साथ हो । अनि उहाँलाइ पूर्वएमालेको राजनीतिक विचार अर्थात जनताको वहुदलीय जनवादलाई बोकेको भन्दै माओवादीले स्वीकार्नै मिल्दैन वा हुँदैन भनिएको छ । यसमा पनि कुनै तुक छैन । किनकि नाम जेसुकै राखिए पनि सिद्धान्तत पूर्वएमाले र पूर्वमाओवादी एक भएर नेकपा बन्ने समयमा संवैधानिक सर्वोच्चतासहितको वहुदलीय व्यवस्थालाई स्वीकार गरिसकिएकै छ ।

यसैलाई इश्वर पोखरेलले बोक्नुभएको छ । इश्वर पोखरेलको भनाइ केवल आफ्नो सैद्धान्तिक अडानमा प्रष्ट रहेको कार्यक्रमलाई बोक्नुपर्छ भन्ने नै हो । हिजोको एमालेको हुने हिजोको माओवादीको नहुने भन्ने बिल्कुल होइन भन्नेमा भ्रम राख्नु हँदैन । त्यसको साथसाथै इश्वर पोखरेल पार्टी एकता हुँदा आफुले सम्हालिरहेको महासचिवको जिम्मेवारी पार्टी एकता पश्चात आफ्नै पूर्वपार्टीको अर्को नेतालाई दिइंदा समेत कुनै विरोध नगर्ने नेता हो । पार्टी एकताका लागि उहाँले गरेको त्याग अनि बलिदान हो यी तथ्यहरु । दुई पार्टी एक होस आफ्नो पद जेसुकै होस भन्ने प्रमाण हो । पार्टी एकता पश्चात उहाँकै शव्दमा ‘अव नो मोर एमाले नो मोर माओवादी’ भन्ने स्पष्ट राख्ने नेता हो भन्ने पनि भुल्न हुदैन ।

हालको निम्ति इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवै नेकपाका महत्वपूर्ण नेताहरु हुनुहुन्छ, उहाँहरुले योग्यता क्षमता र आवश्यकता अनुसारको जिम्मेवारी पाउनु उचित हुन्छ र पाउनुपर्छ । तर एउटालाई एमाले अनि अर्कोलाई माओवादी अनि एउटालाई क्या राम्रो, अर्कोलाई कामै नलाग्ने भन्ने खालका टिक्का टिप्पणीहरु बन्द गरिनुनै नेकपाका सबै नेता कार्यकर्ताको हितमा छ

अनि अर्को दावेदार रहनु भएका नारायणकाजी श्रेष्ठको पनि आफ्नै इतिहास छ । एउटा निरन्तर संघर्षको श्रृंखला छ उहाँको । त्यसभन्दा अझै महत्वपूर्ण भनेको उहाँ कहिले मिल्नै सक्दैनन भन्ने ठानिएको पूर्वएमाले र पूर्वमाओवादीलाई मिलाउन भूमिका खेल्ने नेता हुनुहुन्छ । जसले तत्कालिन माओवादी र काँग्रेसको गठबन्धन हुँदा त्यो भन्दा एमाले–माओवादी मिल्नु उचित हुन्छ भन्ने मत राखेको सुनिएको थियो । तत्कालिन एमाले अध्यक्षको रुपमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतले नाकावन्दी गर्दा नाकावन्दीको सामना गर्न राजनीतिक आस्था र गठबन्धनलाई बेवास्ता गर्दै केपी ओली र एमालेलाइ साथ दिनुपर्छ भन्ने मान्यता राखेको पनि सुनिन्थ्यो । अतः यसबाट के बुझ्नुपर्छ भने इश्वर पोखरेल अनि नारायणकाजी श्रेष्ठ दुवैजना नेकपाका महत्वपूर्ण नेताहरु हुनुहुन्छ । उहाँहरु मध्य एकलाई खसाल्ने अनि अर्कोलाई उचाल्ने कामले कसैको हित हुनेछैन ।

हो आफ्नो आफ्नो बुझाइको हिसाबले यो जिम्मेवारीमा यो ठीक, त्यसमा त्यो ठिक भन्न लेख्न र खुला वकालत गर्न पाइन्छ र हुन्छ पनि । तर एउटाको देवत्वकरण अनि अर्कोलाई दानवीकरण गर्ने काम उचित छैन र त्यसो गरिनु हुदैन । तसर्थ हालको निम्ति इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवै नेकपाका महत्वपूर्ण नेताहरु हुनुहुन्छ, उहाँहरुले योग्यता क्षमता र आवश्यकता अनुसारको जिम्मेवारी पाउनु उचित हुन्छ र पाउनुपर्छ । तर एउटालाई एमाले अनि अर्कोलाई माओवादी अनि एउटालाई क्या राम्रो, अर्कोलाई कामै नलाग्ने भन्ने खालका टिक्का टिप्पणीहरु बन्द गरिनुनै नेकपाका सबै नेता कार्यकर्ताको हितमा छ । यो यथार्थप्रति सवैलाई हेक्का रहोस ।