जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १२:५५

नक्सापासमा छुट दिने व्यवस्था हट्यो, सबै नागरिकलाई समान अवसर


तनहुँ, साउन ११

तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको छ । गाउँपालिकाले पाँचौं गाउँसभामार्फत चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो ।

बन्दीपुर संरक्षित उपक्षेत्रमा निर्माण हुने घरलाई नक्सापासमा दिइने गत वर्षको छुट व्यवस्था चालू आव २०७६/७७ देखि हटाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । “सबै नागरिकलाई समान अवसर र सुविधाको नीति अवलम्बन गरी उक्त व्यवस्था हटाएका छौँ”, थापाले भन्नुभयो, “नक्सापासमा भन्दा घर निर्माण गर्दा नै अनुदान दिने विषयमा छलफल भइरहेको छ ।”

थापाका अनुसार प्राचीन घर बनाउँदा आँखी झ्यालमा रु ३० हजार बराबरको अनुदान दिने विषयमा छलफल भइरहेको छ । गाउँपालिकाले बन्दीपुर रिङरोडभित्र र रिङरोड बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

बन्दीपुर बजारमा भएका पुराना घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले उपक्षेत्रभित्र घर बनाउँदा आधुनिक र पश्चिमेली शैली झल्काउन नपाइने नियम गाउँपालिकाले बनाएको छ । बजार क्षेत्रभित्र बनिसकेका घरको अगाडिको भाग प्राचीन शैलीमा निर्माण गर्न अनुरोध गरिएको थापाले बताउनुभयो ।

थापाका अनुसार उपक्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकार काठका झ्याल, ढोकाहरु पसलको कवलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभिर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गाह्रोमा प्लाष्टर नगरी प्रष्टसँग इट्टा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा स्लोप छाना हुनुपर्ने लगायतका नियम बनाइएको छ ।

साथै कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा, स्मारक वा स्मारकको कम्पाउण्डको वरिपरिका पहिलो पङ्तिका घरहरु स्मारक भन्दा होचा हुने गरी निर्माण गर्नुपर्नेछ । गाउँपालिकाले घर नक्सापासका लागि एक घर दुई बिरुवाको नीति ल्याएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “हरियो बढाउ सन्ततीलाई जोगाउ” भन्ने नाराका साथ एक व्यक्ति एक रुखको नीतिसमेत ल्याइएको छ ।

पाँच करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य

गाउँपालिकाले चालू आव २०७६/७७ मा कूल रु पाँच करोड ६७ लाख १७ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । आव २०७५/७६ मा गाउँपालिकाले रु एक करोड ३२ आन्तरिक आम्दानी गरेको थियो । आन्तरिक आयका नयाँ र स्थायी स्रोतको खोजी गर्ने, व्यवसाय कर, सम्पत्ति कर जस्ता करहरु तिरी गाउँपालिकाको विकासमा योगदान दिनुपर्छ भन्ने मान्यताको विकास गराउने नीति गाउँपालिकाले लिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफैँले निर्माण गरेका पूर्वाधारमा प्रवेश शुल्क लिने तयारी गरेको छ । जसबाट रु पाँच लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ । व्यवसाय दर्ता र नवीकरण एवं वार्षिक व्यवसाय कर वापत रु १५ लाख, वडा कार्यालयबाट प्रदान गरिने सेवाको दस्तुरबाट रु २५ लाख, नक्सापास दस्तुरबाट रु १० लाख, नाता प्रमाणित सिफारिसबाट रु एक लाख ५० हजार, मालपोत रोयल्टीबाट रु २५ लाख, कर दस्तुर शुल्कबाट रु चार लाख ८५ हजार आम्दानी हुने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षदेखि खोलाहरुमा ढुङ्गा, गिटी, बालुवाको ठेक्का लगाउने र त्यसबाट रु ५० लाख आम्दानी हुने अनुमान गरिएको छ । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रुपमा परिचित छ । यहाँ वर्षेनी लाखौँ पर्यटकहरु घुम्न आउने गर्दछन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिन्छन् ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।