जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार २०:३८

महामारीमा लापत्ता भए यी मनुवा


काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकालगायत मुलुकभर डेंगुको माहामारी फैलिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका कारण नुवाकोटको ल्याण्डफिल साइटमा फोहोर फाल्न भएको अवरोध र काठमाडौं महानगरपालिकाले समयमै फोहोर ब्यवस्थापन गर्न नसक्दा असार अन्तिम साताबाट फैलिएको डेंगुले यतिबेला महामारीको रुप लिएको छ ।

पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन भनेसाउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेश प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदुरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयकै तथ्यांकले काठमाडौं महानगरपालिकासहित उपत्यकाभित्र डुंगुको बिरामी निकै बढेको देखाउँछ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलालीमा सवैभन्दा बढी डेंगु संक्रमित छन ।

मुलुकमा डेंगुको यति माहामारी हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री भवानी खापुङ, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र भरतपुर नगरपालिकाका मेयर रेनु दाहाल कानमा तेल हालेर बस्नुभएको छ । प्रधानमन्त्री देउवा जनता मरे मरुन, गठबन्धन जोगाउनु पर्छ भनेर २४ घण्टा आफ्नो सत्ताका लागि ध्यान केन्द्रित गर्नुभएको छ । उहाँले अहिलेसम्म डुंगु नियन्त्रणमा सामान्य चासोसमेत दिनुभएको छैन ।

यस्तै स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसी पनि अत्यन्तै गैरजिम्मेवार देखिनुभएको छ । खापुङ र केसीले स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कामबाहेक सवै काम गरिरहनु भएको छ । जनताको जीवन जोगाउने लाइफलाइन मन्त्रालयमा बसेर उहाँहरु मुख्य काम छाडेर उठती पुठतीमा तल्लिन भएको मन्त्रालयकै अधिकारीहरुको भनाई छ ।

यता काठमाडौं महानगरपालिकाका मेयर शाह पनि प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री तथा राज्यमन्त्रीको जस्तै गैरजिम्मेवारीपना मात्रै नभई आपत्तिजनक मौनतामा बस्नुभएको छ । डेंगुले जनताको ज्यान गइरहेको बेला मेयरको ध्यान यसलाई नियन्त्रणतर्फ नभई अन्यत्रै गएको पाइन्छ । जनताको जीवन जोगाउन कुनै पहलकदमी नलिएकोमा आलोचना होला भनेर बालेन टुकुचाको लफडामा फस्नुभएको छ ।

जनताका लागि र महानगरका मतदाताका स्वास्थ्यका लागि केही नगर्ने, केवल चर्चा बटुलेर हिरोपन्थी देखाउने शैलीमा मेयर बालेन रहनुभएको छ । महानगरको पछिल्लो अवस्था देख्दा यस्तो लाग्छ, मेयर बालेनलाई काठमाडौं महानगरका मतदाताका लागि केही गर्नु छैन । मतदाता मरुन, तर आफ्नो चर्चा कम नहोस भन्नेमै बालेनको अभियान देखिन्छ ।

यस्तै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र भरतपुर नगरपालिकाका मेयर रेनु दाहाल पनि आफ्नो महानगरको जनताको स्वास्थ्यका लागि सिन्कोसम्म भाँच्ने काम गर्नुभएको छैन । उहाँहरुमा पनि डेंगु नियन्त्रणतर्फ कुनै ध्यान गएको पाइएको छैन ।

डेंगु महामारीमा केन्द्र सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकार पुरै गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको तथ्यहरुले प्रमाणित गरेको छ । यी सवै अवस्था हेर्दा प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र स्थानीय सरकार प्रमुखहरु लापत्ता भएको भन्न सकिन्छ ।