रामेछाप, १३ असार। रामेछापको शैलुङ क्षेत्रलाई सिन्धुपाल्चोक र दोलखाबाट जोड्ने शैलुङ्ग–ढुङ्गे–खोलाखर्क सडकको सुधार कार्य सम्पन्न भएपछि यस भेगमा पर्यटन र यातायात आवागमन सहज बन्ने अपेक्षा गरिएको छ।
लामो समय ओझेलमा परेको सो सडक स्थानीय सरकार, व्यवसायी तथा धर्मगुरुको सक्रियताले पुनः निर्माण गरिएको छ । सिन्धुपाल्चोकको मुडे, दोलखाको ढुङ्गेबाट रामेछापको खोलाखर्क हुँदै दोरम्बासम्म नयाँ ट्रयाक सञ्चालनमा आएपछि करिब एक दशकसम्म मुडे–दोरम्बा बस सेवा यही बाटो भएर चल्ने गर्थ्यो। तर बिपी राजमार्ग सञ्चालनमा आएपछि उक्त सित्खाबाट दोरम्बा हुँदै खोलाखर्कसम्म सडक बनेपछि यो सडक उपेक्षित रहँदै गएको थियो। मौसम प्रतिकूल हुँदा नेपालथोकको बिपी राजमार्ग जोखिमपूर्ण बन्ने र विकल्पको अभावले दोरम्बा–डडुवा क्षेत्रका बासिन्दा र पर्यटकहरू समस्या भोग्दै आएका थिए।
शैलुङ्गको धार्मिक–पर्यटकीय महत्त्व बढेसँगै, उक्त क्षेत्रबाट कालिञ्चोक, खाँडादेवी मन्दिर, थानापति मन्दिर हुँदै सिन्धुलीको ऐतिहासिक गढीको यात्रा गर्न चाहनेहरूका लागि शैलुङ्ग–ढुङ्गे–खोलाखर्क सडक प्रमुख मार्ग बन्ने सम्भावना बढेको छ। यसको साथै अब बिपीमार्ग अवरुद्ध हुँदा पनि दोरम्बा क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने स्थानीयले यो बाटो प्रयोग गर्न सक्ने भएका छन् ।
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५ लाख रुपैयाँ, दोलखाको शैलुङ्ग गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरी सडक सुधारमा लगानी गरेका छन् । यसबाहेक शैलुङ्ग खोलाखर्क क्षेत्रमा सञ्चालनमा रहेका होटेल व्यवसायी, चौँरीपालक किसान तथा धर्मगुरु सोनाम लामाको व्यक्तिगत तथा संस्थागत सहयोगले सडकको मर्मत सम्भव भएको हो ।
धार्मिक तथा पर्यटकीय दृष्टिले चर्चित शैलुङ्ग क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा वृद्धि भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरजस्ता सहरबाट पर्व विशेषमा मात्र होइन अघि पछि पनि त्यहाँ आउने पर्यटकहरू शैलुङ्ग घुमेपछि सोझै कालिञ्चोक तथा दोरम्बा, सिन्धुली गढी क्षेत्रतर्फ जान चाहने गरेका छन्। यसरी वैकल्पिक र छोटो मार्गको रूपमा रहेको शैलुङ्ग–ढुङ्गे–खोलाखर्क सडकको पुनर्सञ्चालनले ‘पर्यटन सर्किट’ निर्माण भएको छ ।
बिपी राजमार्ग नेपालथोक खण्डमा वर्षा याममा हुने पहिरो तथा बाटो कटानका कारण सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा समस्या पर्ने हुँदा ढुङ्गे–खोलाखर्क मार्ग विकल्प बढेको छ । डडुवा दोरम्बा–काठमाडाैं बस सेवा यसै मार्गबाट सञ्चालन गर्ने प्रक्रिया थालिएको र यातायात व्यवसायीहरूसँगको सहकार्यमा चाँडै नियमित सवारी सेवा सञ्चालन हुने स्थानीय दावासाङ्बु शेर्पा बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्