काठमाडौं, असार १३ । मदन भण्डारी फाउण्डेशनले ख्यातिप्राप्त पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८१ बाट सम्मानित गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको फाउण्डेशनको केन्द्रीय सचिवालय बैठकले सोलुखुम्बुका शेर्पालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार पुरस्कार प्रदान गर्ने यस संस्थाको निर्णयका आधारमा आवश्यक मापदण्डहरु तय गरी नेपालमा जलवायु परिवर्तन र वातावरण संरक्षणको क्षेत्रमा नीतिगत पैरवी, सचेतना र नवप्रवर्तनको कार्यहरुमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने निर्णय अनुसार योगदान दिने संस्था वा व्यक्तिलाई राष्ट्रिय स्तरमा पुरस्कृत गर्न जलवायु परिवर्तन र वातावरण संरक्षणको क्षेत्र तय गरिएको थियो ।
उक्त क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने संस्थारव्यक्तित्वलाई सहभागि गराउन सार्वजनिक सूचनामार्फत आवेदन आव्हान गरिनुका साथै सम्बन्धित क्षेत्रका संघ संस्थाहरुलाई उपयुक्त संस्थारव्यक्ति सिफारिश गर्नका लागि पत्राचार समेत गरिएको थियो ।
आएका आवेदनहरु उपर छानवीन गरेर निर्णय गर्न गठित सो क्षेत्रका विज्ञहरुको ७ सदस्यीय स्वतन्त्र छनौट समितिले तय गरेको मापदण्ड र सूचकहरु, कार्यक्रम र योगदानले पारेको प्रभाव, नवप्रवर्तन, समावेशीकरण, निरन्तरता र दिगोपन, तथ्यमा आधारित कार्य, नीतिगत पैरवी तथा सचेतना, सहकार्य, समन्वय तथा नेटवर्किङ, प्रयोग सहजता वा अनुकरणीयता, प्रचलित कानून र विधिको पालना जस्ता विषयहरुमा आधारित रही गरिएको छलफल, विश्लेषण र गरेको निर्णय तथा सिफारिश एवं फाउन्डेशनको केन्द्रीय सचिवालयले यही असार ७ गते गरेको निर्णयका आधारमा माथि उल्लेखित क्षेत्रमा योगदान दिने संस्थारव्यक्तित्वलाई यो बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने निर्णय गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।
उक्त निर्णय अनुसार यो बर्षको पुरस्कार सगरमाथाको फेदी सोलुखुम्बु जिल्ला, पासाड ल्हामु गाउंपालिका वडा नं ४ खुम्जुङ्ग गाउँमा जन्म भई विगत ४७ बर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्धामा सक्रिय अभियन्ता, ख्यातिप्राप्त पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सोलखुम्बुलाई प्रदान गरिएको भण्डारीले बताउनु भयो । नेपाल पर्वतारोहण संघको झण्डै पटक पटक गरी १५ वर्ष अध्यक्षका रुपमा नेतृत्व गर्नुभएको छ । उहाँ अहिले पनि जलबायु मैत्री हिमाली संगठन, विश्व पर्वतारोहण महासंघ, एसिएन पर्वतारोहण महासंघ, विश्व पर्वतारोही संघ, हिमालयन होष्ट कन्ट्रिज जस्ता संस्थाहरुमा नेतृत्वकारी भूमिका निर्वाह गरिरहनु भएको छ । शेर्पा नेपाल सरकारका तर्फबाट अनरेरी कन्सुलर अफ बेल्जियमको कन्सुलर हुनुका साथै ६१ देशका महाबाणिज्यदूतहरुको संस्था, ज्ऋऋल् का सभापतिका रुपमा समेत योगदान दिनु भएको छ ।
नेपालको हिमालको शुक्ष्म अवलोकन र अध्ययन गर्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ जसले सगरमाथा आधार शिविरबाट मानव मलमुत्रलाइ तल ल्याउन व्याग प्रविधि (Roof Top) प्रयोग गरी हिमाल सफाइ अभियान शुरु गरिरहनु भएको छ । यो संगसंगै उहां नै Eco Everest Expedition पनि थालनी गर्ने व्यक्तिको पहिलो लहरमा पर्नुहुन्छ । उहाँले २२ वटा हिमाली जिल्लाहरुमा हिमाल बचाउ अभियान (Save the Himalayas Campaign) संचालन गरी जनचेतना बढाउन सक्रिय भूमिका निर्वाह गर्नु भएको छ । साथै त्यहांका समुदायसंग समन्वय र साझेदारी गरी हिमालमा आएको परिवर्तन र जलवायु परिवर्तनले जिविकोपार्जनमा ल्याएको समस्या र चुनौतिहरुको सामना गर्न हिमाली समुदायका लागि जलवायु एलाएन्स अभियान मार्फत कार्यक्रमहरु संचालन गरिरहनु भएको छ ।
हिमालको समस्या, सरकारको पनि समस्या भएकोले र समाधानको लागि सरकारको ध्यानाकर्षण गर्न उहांकै पहलमा नेपालमा पहिलोपल्ट ४ डिसेम्वर २००९ मा सगरमाथा आधार शिविरको कालापत्थरमा मन्त्रिपरिषदको बैठक राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यान तान्न सफल हुनु भएको थियो । उक्त बैठकबाट पारित सगरमाथा घोषणापत्र (Everest Declaration) बोकेर उहां COP कोपनहेगन (२००९) मा सहभागि रहेकै क्रममा सगरमाथा आरोहीहरुको ध्यानाकर्षण जुलुस आयोजना गरी हिमाली भेगको जलवायुको असर सम्वन्धि मुद्धालाई घनिभूत रुपमा पेश गरी “हाम्रा हिमालहरु पीडा र समस्यामा छन’ (Himalayas are in Crisis) भन्ने अभियानको अगुवाई गर्नु भएको थियो ।
उक्त सम्मेलनमै तत्कालिन संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई उहांले सगरमाथा राष्ट्रिय निकुन्जमा जलवायु परिवर्तनले पारेको प्रत्यक्ष असर र प्रभावका बारेमा जानकारी गराउन सफल हुनु भएको थियो । सन् २०२३ मा राष्ट्रसंघका महासचिव अन्तोनियो गुट्रेज संग यसै विषयमा एकल छलफल गरी सहयोग हिमालका विषयमा उहांले ध्यानाकर्षण गर्न महत्वपूर्ण योगदान पपुर्याउनु भएको छ । उहांकै सक्रियता र नेतृत्वमा पोखरामा एसियामै पहिलो अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम व्यवस्थापन र संचालन गरिरहनु भएको छ ।
हिमाली भेकका जनतामा आई पर्ने स्वास्थ्य समस्यामा सहयोग पुर्याउन उहांकै पहलमा खाङ्ग्री अन्तर्राष्ट्रिय अस्पताल समेत संचालित छ । विभिन्न सामाजिक उत्तरदायित्व पूरा गर्न दिन रात खट्नु हुने वहां कोभिड महामारी र २०७२ को महाभुकम्प पीडितहरुका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आव्हान गरी उल्लेखनीय योगदान पुर्याउनु भएको थियो। हिमाली क्षेत्रमा आएको बाढी पैह्रो र महाभुकम्बाट क्षतिग्रस्त, विद्यालय, स्वास्थ्य केन्द्र, समुदायका घरहरुको पुननिर्माणका लागि उल्लेखनीय योगदान पुर्याउनु भएको छ, जुन अहिले पनि जारी रहेको छ ।
आङ छिरिङ शेर्पा हिमाली भेग हिमालको संरक्षण गर्ने र जलवायु परिवर्तनबाट हिमाल पग्लिरहेको र यसको असर त्यस भेगमा रहेको र जिविकोपार्जनमा पर्न गएको कठिनाइबारे पहलकदमी गर्ने हिमाली भेगका बासिन्दा मध्ये पहिलो ख्यातिप्राप्त व्यक्ति र अहिले पनि निरन्तर लागी रहेका एक सशक्त अभियन्ता हुनुहुन्छ । उहांलाई हिमालको “जिवीत ईनसाईक्लोपेडिया” (Walking Encyclopedia) को रुपमा समेत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुनुहुन्छ।
यो क्षेत्रमा उहांले पुर्याउनु भएको निरन्तरको योगदान र हिमपहिरोको रोकथाम, हिमालको सरसफाई, जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा गर्नु भएको अद्धितीय योगदानको कदर स्वरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका द मार्क अफ अनर अफ क्राउन, अनर अफ नाईट ईन द अर्डर अफ लियोपोल्ड बेल्जियम लगायत विभिन्न पुरस्कार, प्रसंशापत्र एवं नेपाल सरकारका तर्फबाट सुप्रबल गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित भईसक्नु भएको छ ।
पुरस्कृत शेर्पालाई शनिवार अर्थात असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमकाबिच रु १ लाख नगदसहितको सम्मान–पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ । ‘विशेष व्यक्तित्व, आङ छिरिङ शेर्पालाई सम्मान गर्न पाएकोमा मदन भण्डारी फाउण्डेशन गौरवान्वित भएको छ । उक्त केन्द्रलाई फाउण्डेशनको तर्फबाट संस्थाको उत्तरोत्तर प्रगतिको कामनाकासाथै हार्दिक बधाई एवम् सफल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छौं । सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं,’ अध्यक्ष भण्डारीले भन्नुभएको छ ।
समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रणेता, सिद्धान्तनिष्ठ राजनीतिज्ञ तथा राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाका प्रवल पक्षधर नेपाली जनताका नेता मदन भण्डारीका राजनैतिक योगदान, सोच, बिचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उहाँले दिनुभएको योगदानलाई चिरस्थायी बनाई राख्न, उहाँको काम र अनुभवबाट भावि पुस्तालाई प्रशिक्षित गर्न तथा उहाँका विविध विचार र आयामहरूको अध्ययन अनुसन्धान र खोज गरी नेपाली समाजको आमूल रूपान्तरणमा ठोस योगदान पुर्याउने उद्धेश्यसहित विभिन्न कार्यक्रमहरुमार्फत २०५६ सालदेखि यो संस्था क्रियाशील रहेको छ ।
यसै सन्दर्भमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै, उहांको व्यक्तित्वलाई सम्मान गर्न र उहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गर्नुभएका संस्था र व्यक्तित्वहरूलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न प्रत्येक बर्ष मदन भण्डारी फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्