जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार ०८:५१

एनआरएनए अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच भिडन्त पक्का : दुवै उम्मेद्वारले थाले चुनावी अभियान


काठमाडौं, साउन १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनमा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य अध्यक्षको उम्मेद्वार बन्ने निश्चित भएको छ । बर्तमान अध्यक्ष भवन भट्टले पूर्वसहमतिअनुसार पुनः अध्यक्षको उम्मेदवार नबने घोषणा गरेसँगै बिश्वभर रहेका प्रवासी नेपालीको साझा संस्था एनआरएनएको नेतृत्वमा उपाध्यक्षद्वय पन्त र आचार्यबीच प्रतिस्पर्धा हुने भएको हो ।

सम्मेलनको मिति नजिकिदै गर्दा अध्यक्षका दुवै प्रत्यासीले आफ्नो रणनीतिक टीम बनाएर चुनावी अभियानलाई तीब्रता दिनुभएको छ । एनआरएनएमा पुराना मित्रका रुपमा रहेका आचार्य र पन्त दुवैले नेतृत्वका लागि उम्मेद्वार बन्ने घोषणा गरेसँगै चुनावी अभियान अघि बढाउनु भएको छ । यसबीचमा अध्यक्षमा पूर्वअध्यक्ष शेष घलेकी पत्नी जमुना घलेलाई उम्मेद्वारी बनाउने प्रयाश पनि भइरहेको छ । तर घले निर्वाचनमा उठने कि नउठने भन्ने दुविधामा रहनुभएकी छ । अहिलेसम्म चुनावी अभियान सुरु नगरेको र लामो समय एनआरएनएमा काम गरेका दुई हस्ती चुनावी अभियानमा रहेको कारण जमुनाले निर्णय लिइनसकेको बताइएको छ । त्यसो त जमुना आफै चुनाव लडन इच्छुक नरहेको उनी निकटहरुले बताइ रहेका छन ।

उपाध्यक्ष पन्तले आफू यसअघि नै सहमतिमा यस पटक अध्यक्ष हुने तय भइसकेको कारण उम्मेद्वारी घोषणा गर्नै नपर्ने बताएर चुनावी अभियानमा लाग्नुभएको छ भने आचार्य बिश्वभर छरिएर रहेका एनआरएनएका प्रतिनिधिले उम्मेद्वारी दिन दवाव दिएकोले पछि नहटने घोषणा गर्नुभएको छ । ‘यसपटकको एनआरएनए निर्वाचनमा कुनै उलटपुलट भएन भने कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ, जमुना घलेलाई उम्म्दवार बनाउने पहलकदमी सफल नभए अरु उम्मेदवार हुने छैनन,’ एनआरएनए आइसिसिका एक सदस्यले जनताटाइम्ससँग भने ।

पन्त र आचार्यले उम्म्दवारी घोषणा गरेसँगै एनआरएनएभित्र चुनावी सरगर्मी एकाएक बढेको छ । एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । चुनाव नजिकिदै जाँदा एनआरएनए आइसीसीमा नेतृत्वका लागि दुवै उम्मेद्वारले आफ्नो चुनावी टीम बनाएरु भित्रभित्रै तयारी अघि बढाएका छन भने बिभिन्न देशमा भइरहेको एनसिसि सम्मेलनमा सहभागिता पनि निकै बढेको छ । सहभागिताको दौडमा आचार्य भन्दा पन्त बढी देखिनुभएको छ । आचार्य भने आन्तरिक तयारीमा बढी ब्यस्थ बनेको उनी निकट एक सदस्यले बताए । एनआरएनएको आठौं विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचित भवन भट्टलाई मैदान खाली गरेपछि दुवै दावेदारले आफ्नो चुनावी अभियानलाई गति दिएपछि हरेक जसो मुलुकमा दुई पक्षमा समुह बन्ने क्रम पनि बढेको छ । एनआरएनएमा पार्टीगत मत नआउने बुझाइमा रहेका दुवै अध्यक्षका प्रत्यासीले एक अर्काेलाई कमजोर बनाउन प्रभावशाली ब्यक्ति चोर्ने खेलसमेत अघि बढाएका छन ।

अघिल्लो पटक कुमार पन्तलाई आफूपछिको अध्यक्ष बनाउने सहमतिका साथ अध्यक्ष बनेका भट्ट उम्मेद्वार नबने घोषणा गरेपनि सार्वजनिक रुपमा केही बोल्नुभएको छैन । पन्तको बिश्वस भट्टले आफूलाई नै सघाउने रहेको छ भने आचार्य पनि आफूलाई भट्टको साथ रहने बिश्वाश ब्यक्त गरेका छन । ‘एनआरएनएको निर्वाचनमा मलाई सवैको साथ रहेको छ, चुनावी अभियान अघि बढाइरहँदा प्राप्त समर्थनले अन्तिममा सर्वसम्मत हुन सकिन्छ भन्ने बिश्वस छ,’ अध्यक्षका प्रत्यासी कुमार पन्तले जनताटाइम्ससँग भन्नुभयो । अघिल्लो सम्मेलनको सहमतिअनुसार आचार्यले पनि आफैलाई सघाउने बिश्वास ब्यक्त गर्ने पन्त चुनावमै आउँदा पनि खासै समस्या नहुने, आफूले सहज रुपमा जित्ने दावी गर्नुहुन्छ । ‘चुनावमा मलाई समस्या छैन, सहज रुपमा जित्छु,’ पन्तले जनताटाइम्ससँग भन्नुभयो । अर्का उम्मेद्वार कुल आचार्यले पनि पन्तकै जस्तो आफूले सहज रुपमा जित्ने दावी गर्नुहुन्छ ।

‘मलाई चुनाव जित्न गाह्रो छैन, सहज रुपमा जित्छु, अहिलेसम्म सवैतिबाट साथीहरुले जुन उत्साहका साथ अघि बढनोस भन्नुभएको छ, त्यस आधारमा सहज ढंगबाट जितिन्छ भन्ने तथ्यांक देखिन्छ,’ जनताटाइम्ससँग अध्यक्षका दावेदार आचार्यले भन्नुभयो । अहिलेसम्म भएको निर्वाचनमा धेरैजसो एनसिसिमा आफूलाई उम्म्दवार बन्नुपर्छ भन्ने टीमकै बाहुल्यता रहेको पनि आचार्यले बताउनु भयो । ‘चुनावमा जाँदा सवैलाई जित्छु भन्ने नै लाग्छ, हामी मित्रवत प्रतिस्पर्धामा रहेकोले धेरै तितो कुरा गर्दिन, जित्न चाँहि मैले नै जित्छु,’ आचार्यले भन्नुभयो ।

आचार्य र पन्तको चुनावी अभियानलाई अघि बढाएसँगै अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिबेशनले तीब्रता पाएको छ भने अन्य पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढेको छ । अहिलेसम्म झण्डै दुई दर्जन बढीले बिभिन्न पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन । अध्यक्षका दौडमा रहेका पन्त र आचार्यले अभियान अघि बढाएपछि अन्य पदमा पनि उम्मेद्वारी घोषणाको क्रम बढेको हो । ‘भट्टले छाडेपछि युरोपकै दुई हस्तीबीच चुनाव हुने पक्कापक्की छ,’ एनआरएनए युरोपका एक सदस्य भन्छन ।

यता एनआरएनएको चुनाव नजिकिदै गर्दा ईच्छुक उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । आगामी निर्वाचनमा संख्या बढाएसंगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पूर्वक्षेत्रीय संयोजक सोनाम लामालगायत आकांक्षी देखिनुभएको छ । यस्तै महासचिबमा बर्तमान सचिब डीबी क्षेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल र हेमराज शर्माले आकांक्षी हुनुहुन्छ । सचिबमा युकेका बिनय अधिकारी, एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीलगायतले उम्मेद्वारी दिने बताउनुभएको छ ।

कोषाध्यक्षमा बर्तमान सहकोषाध्यक्ष सोम सापकोटा, मध्यपूर्ब संयोजक आरके शर्मा र एनआरएनए जापानबाट महेश श्रेष्ठले दावेदारी प्रस्तुत गरिरहनुभएको छ । एनआरएनएले चुनावमा राजनीतिक तथा जातीय आधारमा प्यानल बनाउन प्रतिवन्ध लगाइसकेको छ । निर्वाचनको मिति तय भएसँगै एनआरएनएले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान तथा प्रचार प्रसार गर्न रोक लगाएको हो । संघको अन्तराष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार गर्दै यस्तो कार्यमा रोक लगाएको हो ।

‘राजनैतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचार गर्न पाइने छैन,’ नियमावलीको बुँदा नम्बर ५.१० मा भनिएको छ । सो व्यवस्थाको उलंघन गरेको पाइए निर्वाचन समितिले छानबिन गरी मनोनयन रद्ध गर्न सक्नेसम्मको व्यवस्था गरिएको छ ।