जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १८:३६

कांग्रेस नेता बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ । कैलाली क्षेत्र–४ (क) मा हिजो आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले आज उहाँलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छश्र,’ आयोगले बलायरलाई सोधेको छ।

उहाँलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ ।