जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार ०९:०९

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न गणतन्त्र संस्थागत हुन आवश्यक : हिक्मतकुमार कार्की 


काठमाडौं, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताको लामो समयदेखिको चाहाना, त्याग, बलिदान र संघर्षबाट मात्रै गणतन्त्र प्राप्त भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कार्कीले संविधान सभाले निर्माण गरेको नेपालको अहिलेको संविधान उत्कृष्ट संविधान भएको उल्लेख गर्नुभएको छ । ‘त्यसकै जगमा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ,संविधानसभाको पहिलो बैठक २०६५ साल जेष्ठ १५ गते घोषणा गरिएको गणतन्त्र नेपालीहरूको सङ्घर्षपूर्ण बलिदानबाट प्राप्त भएको प्रतिफल हो, नेपाली जनताको त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा आज हामी देशलाई समुन्नति र समृद्धिको यात्रामा अगाडि बढाइरहेका छौँ’, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

कोशी प्रदेश सरकार गणतन्त्रलाई संस्थागत गर्दै समुन्नत प्रदेश बनाउन क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘गणतन्त्र दिवस मनाइरहँदा हामीले अङ्गीकार गरेको संविधान र संरचनामाथि केही तत्त्वहरूले प्रहार गर्ने कोसिस गरिरहेका छन्, यी सबै कोसिसहरूलाई निस्तेज पारेर हामीले व्यवस्थालाई बलियो बनाउनुपर्ने आजको आवश्यकता छ’, कार्कीको सन्देशमा लेखिएको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयन गर्दै संविधानका मौलिक अधिकार र आम नागरिकका इच्छाहरूलाई सम्बोधन गरेर गणतन्त्रलाई बलियो बनाउनु पर्ने उहाँको धारणा छ । हामीले आफैँलाई समीक्षा गरेर जनताका पक्षमा काम गर्ने र दृढतापूर्वक यो व्यवस्थालाई बलियो बनाउनका लागि सङ्कल्प गर्नुपर्दछ, दृढ सङ्कल्प, निष्ठा र इमानदारीपूर्वक जनताका पक्षमा काम गर्न सकियो भने हामीले मुलुकलाई बदल्न सक्दछौँ, गणतन्त्र दिवसको यो सुखद अवसरमा मुलुकको समृद्धि र परिवर्तनका लागि दृढ संकल्पित भएर अघि बढ्न म अपिल गर्दछु’, उहाँको सन्देशमा उल्लेख छ ।

गणतन्त्र संस्थात नभएसम्म नागरिकका आकाङ्क्षा पुरा हुन नसक्ने उहाँको धारणा छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्नका लागि पनि गणतन्त्र संस्थागत हुनुपर्दछ’, उहाँको धारणा छ ।

नागरिकका इच्छालाई पूरा गर्दै द्रुत विकासको गतिमा लाग्नु पर्ने उहाँले बताउनुभएको छ । सूचना र प्रविधिको आजको युगमा यसको सही सदुपयोग गरेर विकासमा फड्को मार्ने र व्यवस्थालाई बलियो बनाउने तर्फ सबैको ध्यान जानु पर्ने उहाँले स्पष्ट पार्नुभएको छ । ‘आज सूचना र प्रविधिको गलत प्रयोग गरेर व्यवस्थामाथि प्रहार गर्नेहरूले निराशा र असन्तुष्टि फैलाउने प्रयत्न गरिरहेका छन्, यस्ता खालका प्रयत्नबाट सचेत हुँदै आम नागरिकमा आशा जगाउन आजको दिनले प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु’, कार्कीले लेख्नु भएको छ ।