जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार १९:१६

स्थानीय तहलाई महेश बस्नेतको सुझाव : आम्दानी र खर्च होइन, योजना र काममा परिणाम हेर्नाेस


भक्तपुर, साउन २७ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर सिर्जनशील बन्न सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा संविधानले स्थानीय तहमै कानुन बनाउनेसम्मको अधिकार दिएको भन्दै सांसदसमेत रहनुभएका नेता बस्नेतले स्थानीय आवश्यकता र सम्भावनालाई हेरेर जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाउनु भएको हो ।

‘तपाईहरु आलोचनात्मक बन्नुस, गल्ती कमजोरीहरु पत्ता लगाएर सुधार्नेतर्फ केन्द्रित हुनोस,’ बस्नेतले भन्नुभयो । आफुलाई सधैका लागि जनप्रतिनिधि भएको दम्भ नपाल्न पनि बस्नेतले सुझाउनु भयो । ‘स्थानीय विकास आफ्नै लागि हो, पाँच वर्ष पछाडि चप्पल पड्काउने कि ? जुत्ता टल्काउने ? त्यो तपाईको आफ्नै हातमा छ,’ बस्नेतको भनाई थियो । उहाँले वार्षिक समीक्षा गोष्ठीमा सहभागी हुँदा आम्दानी र खर्चको विवरण मात्रै सुन्ने र सुनाउने काम नगर्न समेत सुझाव दिनुभयो । ‘यहाँ कति आम्दानी भयो ? कति खर्च भयो ? भन्ने कुरा मुख्य हैन, कस्ता योजना छानिए, कहाँ सञ्चालन भए ? कति गुणस्तरीय काम भयो ? परिणाम आयो कि आएन ? त्यो महत्वपूर्ण हो,’ बस्नेतको भनाई थियो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले स्थानीय अभ्यासलाई आधार बनाएर राष्ट्रिय नीति परिवर्तन गर्नेसम्मका लागि नीतिगत परिवर्तनका लागि सुझाव गर्नुपर्ने बस्नेतको भनाई छ । ‘यहाँ मान्छेको ज्याला भर्ने, डोजर लगाएर काम गर्ने र काम देखाउने प्रवृत्ति छ,’ बस्नेतले भन्नुभयो, ‘असारे विकासको वर्षेनी चर्चा हुन्छ, हाम्रो स्थानीय अभ्यास र भोगाइले जे भन्छ, त्यो सुझाव लेखेर पठाऔं ।’

आर्थिक वर्ष असारसम्म हुँदा र बैशाखमै आर्थिक वर्ष सकिने व्यवस्था गर्दा हुने फाइदाको विषयमा जिल्लास्तरको समीक्षामा छलफल गर्न पनि बस्नेतले सुझाउनुभयो । स्थानीय तहको विकासमा उपयुक्त विधि र नीति आफैँ बनाएर अघि बढ्न र समृद्ध भक्तपुर बनाउन सबै जनप्रतिनिधि र कर्मचारीलाई आव्हान पनि गर्नुभयो ‘सबै मानिस गलत छैनौं, सबै ठेकेदार गलत छैनन, अब व्यक्ति मात्रै हैन, प्रवृत्ति सुधार गर्नेतर्फ सबै केन्द्रित हुनुपर्छ,’ भक्तपुर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले भन्नुभयो ।

उहाँले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम भएकोप्रति स्थानीय तहले ध्यान पुर्याउनु पर्ने आवश्यकता पनि औल्याउनु भयो । ‘थोरै खर्चमा पढाई हुने सरकारी विद्यालयमा किन केटाकेटी हुदैनन् ? यहाँ किन समीक्षा नगर्ने ? यसको विकल्प के हुनसक्छ ? सिर्जनशील भएर किन नसोच्ने ?,’ बस्नेतले भन्नुभयो । अब शैक्षिक सुधारका लागि पब्लिक–प्राइभेट पार्टनरसिपको योजना ल्याउनुपर्ने विषयमा समेत छलफल गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रममा प्रदेश सांसद शशीजङ्ग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र लगायतले मन्तव्य राख्नुभएको थियो । समीक्षा गोष्ठीमा भक्तपुरमा रहेका स्थानीय तहसहित सबै सरकारी तथा गैरसरकारी संघसंस्थाले अघिल्लो आर्थिक वर्षमा गरेका गतिविधि र आम्दानी खर्चका विषयमा छलफल सुरु भएको छ ।