जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार २१:२३

कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी हुन् : प्रधानन्यायाधीश


काठमाडौं, साउन २७

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कानून व्यवसायी न्याय प्रज्वलन गर्ने अभियानकर्मी भएको बताउनुभएको छ । नेपाल कानून व्यवसायी परिषद्को रजत महोत्सव समापन समारोहमा उहाँले कानून व्यवसायी अदालतमा प्रतिनिधित्व गर्ने मात्र नभएर समाजमा न्याय प्रज्वलन गराउने अगुवासमेत भएको बताउनुभयो ।

“कानून व्यवसायीमा दक्षता, इमान्दारी र लगनशीलता आवश्यक छ”, प्रधानन्यायाधीश राणाले भन्नुभयो, “कानून व्यवसायीको समृद्धिबाटै समग्र न्याय व्यवस्थाले पूर्णता प्राप्त गर्न सक्छ ।” उहाँले विभिन्न देशको अभ्यासलाई अध्ययन गर्दा बार र परिषद् मिलेर नेतृत्वदायी भूमिका रहेको देखिएकाले नेपालमा पनि त्यो अभ्यास प्रभावकारीरुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।”

प्रधानन्यायाधीश राणाले न्यायको गरिमालाई बढाइराख्न कानून व्यवसायीको विकास र संस्थागत समृद्धि हुनु जरुरी रहेको र लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको न्यायपालिका र कानून व्यवसायीलाई सक्षम र व्यावसायिक बनाउँदै लैजानु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

परिषद्ले कानूनी शिक्षाको स्तरीयता वृद्धि, नीतिगत र दूरगामी क्षेत्रमा केन्द्रित हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले कानून, व्यवसायीलाई आचारसंहिताको पालना गराउनेतर्फ परिषद्को प्रभावकारी भूमिका रहने बताउनुभयो । प्रधानन्यायाधीश राणाले भन्नुभयो, “कानून व्यवसायीलाई अनुशासित, व्यवस्थित र विश्वासयोग्य बनाउन सकिन्छ, यसले सेवाग्राही र आम नागरिकमा कानून व्यवसायी र न्यायप्रतिको आस्था र भरोसा बढाउन सहयोग पुग्दछ ।”

कार्यक्रममा प्रधानन्यायाधीश राणाले नेपालको न्याय क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै वरिष्ठ अधिवक्ता तथा परिषद्का पहिलो अध्यक्ष स्व मोतीकाजी स्थापितलाई मरणोपरान्त र वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको थियो ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नागरिकलाई न्याय दिलाउने कानून व्यवसायीले इमान्दार र निष्ठाका साथ आचारसंहिताको पालना गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको इतिहासमा निकै सङ्र्घष गरेर कानून व्यवसायी अहिलेको अवस्थासम्म आएको स्मरण गर्दैै बार काउन्सिलमा परीक्षा लिएर अधिवक्ता बन्नुपर्छ भन्ने कानून बनाउँदा निकै जटिलता आएको स्मरण गराउनुभयो ।

महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष अग्नि खरेलले परिषद्ले कानूनको क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने कार्यको शुरुआत गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष तथा परिषद्का उपाध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १८ हजारभन्दा बढी कानून व्यवसायीले न्यायको निष्ठालाई ध्यानका राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा परिषद्ले बार काउन्सिलको २६औँ परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको थियो । त्यस्तै यो वर्षमा उत्कृष्ट किताब ‘निर्वाचन कानूनः अभ्यास’ नामक पुस्तकका लेखक डा गोविन्द गौतमलाई रु १० हजारसहित पुरस्कृत गरिएको थियो । त्यस्तै परिषद्को स्थापनादेखि नै अनवरतरुपमा सेवा गर्नुभएका वरिष्ठ प्रशासकीय अधिकृत विदुरप्रसाद सापकोटालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । परिषद्ले वरिष्ठ अधिवक्ता तथा परिषद्का पहिलो अध्यक्ष स्वर्गीय स्थापित र वरिष्ठ अधिवक्ता तथा परिषद्का अध्यक्ष तुलाधरको कानूनी क्षेत्रको दिएको योगदानका विषयमा वृत्तचित्रसमेत प्रस्तुत गरेको थियो ।

कानून व्यवसायीको आचारसंहिता बनाउने र उल्लङ्घन गरे कारवाही गर्ने, कानून व्यवसायीको लगत राख्ने र कानून व्यवसायीका लागि परीक्षा लिने लगायतका काम गर्दै आएको परिषद्को स्थापना विसं २०५० मा भएको थियो ।