जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १६:५८

घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानमा पाल्पाका स्थानीय तह


सुशीला रेग्मी, पाल्पा । पाल्पा जिल्लाका सबैजसो स्थानीय तहले घरमै सुत्केरी हुने दरलाई शून्यमा पुर्याउने लक्ष्यका साथ अगाडि बढेका छन् । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् । जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन् ।

गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका छन् । जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउनुुहुन्छ । तर मिशन अस्पताल पाल्पामा भने आमा सुरक्षा कार्यक्रम लागू नभए पनि प्रसूति सेवा उपलब्ध छ । “पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हुँदै गएको छ, कार्यालयले यसमा विशेष चासोका रुपमा हेरेको र जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनी सुधार छ”, ज्ञवालीले भन्नुभयो ।

आव ०७५/७६ मा बाहिरी जिल्लाबाट सुत्केरी हुन आउनेको सङ्ख्या कम रहेकाले अघिल्ला वर्षमा भन्दा तथ्याङ्कीय हिसाबले सुत्केरी हुने दर घटे पनि जिल्लामा भने स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था राम्रो रहेको उहाँले बताउनुभयो । आव २०७४/७५ मा पाँच हजार ५३९ महिलाले स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माएका छन् । ०७३/७४ मा पाँच हजार ३३७, आव ०७१/७२ मा छ हजार ५०० र ०७२/७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ ।

यअघि अन्धविश्वास, रूढीवादी र अशिक्षाका कारण जीवन मरणको दोसाँधमा रहेर घरमै जोखिमपूर्ण सुत्केरी हुन बाध्य थिए । गाउँगाउँमा स्वास्थ्य संस्था नहुनु, सडक सञ्जाल नजोडिएकाले घरमै सुत्केरी हुनुपर्ने अवस्था थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ न्यून भेटिन्थ्यो । अझै पनि जिल्लाका अति विकट, दुर्गम क्षेत्रमा यदाकदा भने घरमै सुत्केरी हुने चलन पूर्णरुपमा हट्न सकेको छैन ।

घरमै सुत्केरी हुँदा महिलाहरूमा पछि गएर विभिन्न समस्या देखापर्ने गरेको पाइन्छ । सुत्केरी आमा र बच्चाले समयमा नै उपचार नपाउँदा अकालमै ज्यानसमेत जाने गर्दछ । यही कारणले गर्दा पनि हिजोआज भने उनीहरू श्रीमान्, घरपरिवार, आफन्तको साथमा सुत्केरी हुने समय अगावै स्वास्थ्य संस्थामा जाने गरेको पाइन्छ । महिलालाई स्वास्थ्य संस्थामा नै सुत्केरी हुनका लागि प्रोत्साहनस्वरुप नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चार पटकसम्म गर्भ परीक्षण गराएको रु चार सय रकम प्रदान गरिरहेको छ ।

उमेर नपुगीकन गर्भवती बन्नु, खानपानमा ध्यान नदिनु, नियमित गर्भ परीक्षण नगर्नु, लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि घरमै राख्दा आमा र बच्चाको ज्यान उच्च जोखिममा पर्न सक्ने हुँदा स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुन स्वास्थ्यकर्मीको सुझाव छ । नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने तथा पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने गरेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउनुहुन्छ ।

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुँदा उनीहरूलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । गर्भ रहेको थाहा भए देखि नै नियमित रुपमा नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा चेकजाँच गराउनुपर्छ । गाउँगाउँमा स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व, घरमै सुत्केरी हुँदाका जोखिम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे जनचेतना गराएका कारण बर्सेनी प्रगति राम्रो हँुदै गएको स्वास्थ्य शाखा संयोजक ढुङ्गाना बताउनुहुन्छ ।

माथागढी गाउँपालिका–३ को कसेनी शून्य होम डेलिभरी वडा घोषणा भइसकेको छ भने अन्य स्थानीय तहका विभिन्न वडालाई पनि शून्य होम डेलिभरी वडा घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । रासस