जनता टाइम्स

१५ माघ २०७९, आईतवार १७:२८

कला, संस्कृतिको जगेर्ना गर्न महोत्सव


सुदूरपश्चिम, १५ माघ । प्रदेश कला र संस्कृतिमा धनी छ । यहाँको कला, संस्कृतिको जगेर्नाका लागि प्रदेशका विभिन्न क्षेत्रमा सांस्कृतिक मेला महोत्सव आयोजना गरिँदै आएका छन् । स्थानीय कला, संस्कृति जोगाउन महोत्सवबाट मद्दत पुगेको छ ।

कला, संस्कृति जगेर्ना गर्न विगत लामो समयदेखि स्थानीयस्तरमा महोत्सव आयोजना गरिँदै आएका र मौलिकता हराउँदै गएको अवस्थामा यसबाट मद्दत पुगेको भजनीका तपेन्द्र कुँवर बताउनुहुन्छ । यहाँ आयोजना गरिने महोत्सवमा स्थानीय प्रतिभाले स्थान पाउने गरेका छन् ।

देउडा, न्याउल्या, हुड्के, सखियालगायत नाचले महोत्सवमा प्राथमिकता पाउँदै आएको छ । महोत्सवमा प्रस्तुत हुने गरेका पञ्चेबाजा, हुड्के नाच, देउडा, न्याउलेलगायतका नाचले विगतलाई सम्झाउने टीकापुर महोत्सव अवलोकन गर्न आउनुभएका टीकापुर नगरपालिका–१ का प्रेमबहादुर बोगटीले बताउनुभयो । “मलाई अझै सम्झना छ, मेरो विवाहमा हुड्के नाचले सबैको ध्यान आकर्षित गरेको थियो”, उहाँले भन्नुभयो ।

बोगटीको विवाह अछाममा भएको थियो । “तराई झरेपछि हुड्के नाच देख्न मुश्किल भएको थियो, बल्ल यहाँ आएर हेर्न पाइयो”, उहाँले भन्नुभयो । करिब ४० वर्षपछि हुड्केली नाच हेर्न पाउँदा बोगटी औधी प्रसन्न हुनुभयो । मेला महोत्सवमा छाडा प्रवृत्ति भित्रिने गरेकोप्रति आयोजक सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले टीकापुर महोत्सवले कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । स्थानीय कला, संस्कृतिलाई महत्व दिँदै यहाँका प्रतिभालाई स्थान दिने गरेको उहाँ बताउनुहुन्छ । “महोत्सव मुनाफा कमाउनका लागि मात्र होइन । यो स्थानीय कला, संस्कृति जोगाउनका लागि पनि हो”, भण्डारीले भन्नुभयो– “कला र संस्कृति हाम्रा पहिचान हुन । यसमा गौरव गर्नुपर्छ ।”

कला, संस्कृति संरक्षणमा टीकापुर महोत्सवले इँटा थपेको सङ्घका महासचिव नवराज रिमाल बताउनुहुन्छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा हुड्के नाच प्रस्तुत गरिँदै आएको छ । आधुनिकतासँगै यो नाच लोप हुने अवस्थामा छ । टीकापुर डान्स एकेडेमीका सञ्चालक टीकाराम परियार स्वर्गीय पिता गगनसिंह हुड्केको सम्झनामा हुड्के नाच प्रस्तुत गर्दैआएको बताउनुहुन्छ । गगनसिंह हुड्के नाचका लागि प्रख्यात हुनुहुन्थ्यो ।