सुर्खेत, ४ फागुन । ताँजाकोट गाउँपालिका–३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा २५ वर्षसम्म हात नपरेको केशबहादुर रोकायाले बताउनुभयो । जग्गा नापी भए पनि आफ्नो नामको लालपुर्जा मालपोत कार्यालयमा भए नभएको कुनै जानकारी समेत नभएको उहाँले बताउनुभयो ।
उक्त गाउँका वडा सदस्य धनवीरे रोकायाले नापी भएको जग्गाको लालपुर्जा मालपोत कार्यालयमा भएको जानकारी आफूलाई आए पनि स्थानीय सिमकोट पुगेर लालपुर्जा लिन सक्ने अवस्थामा नरहेको बताउनुभयो । मासपुरबाट सिमकोट आई पुग्न चार दिन पैदल लाग्ने भएको कारण पनि लालपुर्जा लिनका लागि स्थानीयले आनाकानी गरिहेको बताउनुभयो ।
धेरै जसो जग्गा धनी वृद्ध, महिला र अपाङ्ग भएको कारण हालसम्म सदरमुकाम सिमकोट पुगेर लालपुर्जा ल्याउन नसक्ने अवस्था रहेको बताउनुभयो । मासपुरवासीले लालपुर्जा लिन शारीरिक कष्टका साथै आर्थिक व्ययभार पनि गर्नुपर्ने अवस्था रहेको छ । गाउँवासी सबै सिमकोट पुगेर लालपुर्जा लिन जान सक्ने अवस्था नरहेको कारण उनले मालपोत कार्यालयमा भएको लालपुर्जा गाउँमै वितरण गर्ने व्यवस्था गर्न कार्यालय र गाउँपालिकालाई आग्रह गर्नुभयो ।
लालपुर्जा नभएकै कारण मास पुरवासी अनुदानका कार्यक्रमबाट समेत वञ्चित हुँदै आएका छन् । एकातिर कुनै विकासे कार्यालयबाट अनुदानका लागि प्रस्तावना खुल्दा जानकारी नहुने र भइहाले पनि लालपुर्जा नभएको कारण प्रस्ताव पेस गर्नै नपाउने बताउनुभयो । अर्को कुरा जग्गाको किनबेच गर्नुपर्ने अवस्था आएपछि व्यवहारिक रूपमै बिक्री गर्ने गरिएको छ ।
किनेको मानिसले जग्गाको प्रमाण बिनै पनि जग्गा उपभोग गर्नुपरिरहेको छ । मालपोत कार्यालयका प्रमुख रवीन्द्र शाहीले मास पुरवासीको कार्यालयको लिखतमा जग्गा नापी भएको देखिए पनि एक जना बाहेक अन्य कुनैले लालपुर्जा नलिएको बताउनुभयो । मोठ र स्रेस्ता नापी भएकै बेलाको भए पनि लालपुर्जा लिन कोही नआएको कारण मास पुरवासी जग्गाको प्रमाणविहीन देखिएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्