२०७६ मंसिर महिनाको एक दिन मलाई अचानक पेट दुख्यो । खप्नै गाह्रो भएपछि मलाई अस्पताल पुर्याइयो । एपेन्डिसाइटिस भएको रहेछ । मेरो आन्द्रामा इन्फेक्सनसमेत भएको देखियो । त्यसले गर्दा आन्द्रा सुन्निएको थियो । पीप निस्केर आन्द्रातिर फैलिएको थियो । आन्द्रामा इन्फेक्सन भएपछि त्यसले झन् छिटो पीप निकालेको र पेटभरि फैलिएको पत्ता लाग्यो । तर पीप रक्तनलीमा प्रवेश गर्न पाएनछ ।
डाक्टरहरूले हतारहतार मेरो अपरेसन गर्नुभयो । शल्यक्रियापछि मेरो ब्लडप्रेसर स्वाट्टै घटेछ । यसरी घटेछ कि मलाई बचाउनै सकिँदैन कि भन्ने आशंकामा डाक्टरहरू पुग्नुभएछ । प्रेसर बढाउने तेस्रो डोज औषधि दिँदा पनि बढेनछ । स्थितिमा कुनै सुधार आएनछ । डाक्टरहरूले त माया नै मार्नुभएछ ।
मलाई अब्जर्भेसनमा राखिएको थियो । म नबाँच्नेजस्तो भएपछि अपरेसन गर्दा चिरिएको घाउ नसिलाईकन त्यत्तिकै छोड्ने कि भन्ने पनि कुरा भएछ । तर अपरेसन पूर्ण गर्नुपर्छ भनेर घाउ सिलाइएछ । केही समय अब्जर्भेसनमा राखेपछि म बौरिएँ अर्थात् बाँच्ने अवस्थामा पुगें ।
होस खुल्दा भेन्टिलेटरमा थिएँ । डाक्टरले मतिर हेरिराखेको देखें । मेरो मुखमा केही राखिएको थियो, जसले गर्दा बोल्न मिलेन । हातखुट्टा चलाउन खोजें, एनेस्थेसियाको प्रभावले गर्दा त्यो पनि चलेन । आँखा डाक्टरतिर फर्काउन खोजें, त्यसो गर्न पनि सकिनँ । डाक्टरको धमिलो आकृति देखें ।
मैले केही भन्न खोजेको डाक्टरले बुझ्नुभयो सायद, एक जना डाक्टरले भन्नुभयो, ‘मुखमा भेन्टिलेटरको पाइप राखिएको छ । तपाईंको फोक्सो आफैं सास फेर्न सक्ने भएपछि त्यसलाई हामी निकाल्छौं । त्यसपछि भने तपाईं बोल्न सक्नुहुन्छ ।’
अस्पतालमा मलाई पटक-पटक होस खुलेजस्तो हुने तर नखुल्ने भयो । धेरै पटक त्यस्तो भयो अनि बल्ल होस खुल्यो । मैले आँखा खोलें, डाक्टरहरू धेरै खुसी हुनुभएको देखें । बल्ल उहाँहरूलाई म बाँच्छु भन्ने लाग्न थालेछ । यी सबै कुरा मलाई निको भएपछि डाक्टरहरूले नै सुनाउनुभएको हो ।
‘यो मरिसक्यो, अब फर्किंदैन’ भनेर सबैले आस मारेको मेरो आफ्नै कथा त मैले कैयौं पटक सुनेको छु । तर यस पटकको यो कथा सुन्दा अलि रोमाञ्चक जस्तो लाग्यो । अचेत अवस्थामा भएका कुरा सुन्दा अचम्म लाग्छ तर त्यो पीडादायी हुँदैन । मृत्युले समाउन खोज्दै गर्दा चाहिँ अलिकति नरमाइलो अनुभव हुने रहेछ ।
प्रतिक्रिया दिनुहोस्