जनता टाइम्स

४ भाद्र २०७६, बुधबार ०८:५०

स्वास्थ्य परीक्षणका लागि दोस्रो पटक सिङ्गापुर जाँदै प्रधानमन्त्री ओली : यस्तो छ चिकित्सकको तयारी


काठमाडौं, भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जानु हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी पनि दिनुभयो । बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्केपछि महत्वपुर्ण निर्णय लिनुभएका प्रधानमन्त्री ओली भोलि परनः सिंगापुर जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्किनासाथ १५ महिनादेखि अल्झिएको एकताको काम छिटो टुंग्याउन अग्रसर देखिनुभयो । ओलीले साउन २९ र ३० गते अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग लगातार आठ घन्टाभन्दा बढी छलफल गर्नुभयो । सोही छलफलकोसहमतिपछि साउन ३१ साउनमा बसेको बैठकले ३२ केन्द्रीय विभागको कार्यविभाजन टुंग्याउनुका साथै प्रदेश कमिटीमा केही नेताहरूलाई सहइन्चार्जको जिम्मेवारी दियो ।

लामो समयदेखि आफूसँग चिढिनुभएका वामदेव गौतमलाई मनाएर उपाध्यक्षमा प्रस्ताव गराउन ओली सफल हुनुभयो भने साउन ३२ गृहकार्यपछि १ भदौमा बसेको सचिवालय बैठकले झलनाथ खनालको असन्तुष्टि सम्बोधन गर्दै वरीयता सच्याउँदै जनवर्गीय संगठन, विशेष प्रदेश कमिटी तथा सम्पर्क विशेष कमिटी गठन र एकीकरणको काम टुंग्यायो । केन्द्रीय निकाय, सल्लाहकार परिषद् र प्रवास कमिटीबाहेक नेकपाको एकीकरण र कार्यविभाजनले पूर्णता पाएको छ ।

अब बाँकी काम पनि आज बस्ने सचिवालय बैठकबाट टुंगो लगाएर प्रधानमन्त्री ओली भोलि बिहीबार पुनः सिंगापुर जान लाग्नुभएको हो । यसपटकको सिंगापुर बसाई डेढ साता हुने अनुमान छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी छ । आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्ने जानकारी चिकित्सकले दिएका छन । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्षभन्दा बढी भएको छ ।

चिकित्सकहरुका अनसार मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ । त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ । अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । तर, चिनेपछि समस्या देखिन थाल्छ । प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ । अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ । अहिले प्रधानमन्त्री ओलीको पनि त्यही भएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा।डा। ऋषिकुमार काफ्ले बताउनु हुन्छ ।

काफ्लेका अननुसार एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ । यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्छ । एक–दुईपटकमा सुधार नभए थप प्रयास गरिँदैन । तर, मिर्गौलामा सुधार भएरनभएको दुई सातामै स्पष्ट हुन्छ । प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ । मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ । डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ । यसको चक्र हुन्छ । नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन् । दोस्रोपटकको प्रत्यारोपण आयु पनि सामान्यतया पर्याप्त हुन्छ ।