जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार ०७:५६

भारतबाट आयात हुँदा नेपाली मह विस्थापित


काठमाडौं, १६ चैत । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित हुनुहुन्छ । देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन। ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भन्नुभयो, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन।’

२५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहनुभएको छ । ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उहाँले भन्नुभयो, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ देवकोटाले २८० घार मौरी पालिरहनुभएको छ ।

मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान हुनुहुन्न। मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन्। भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको किसानको गुनासो छ। भारतबाट वैधानिक ‘च्यानल’बाट मात्र नभएर अवैध बाटोबाट पनि मह आयात भइरहेको मौरीपालक महासंघले जनाएको छ। करिब ३ हजार मेट्रिक टन मह बिक्री नभएको महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो । ‘पोहोरदेखि मह बिक्री भएको छैन,’ उहाँले भननुभयो, ‘भारतीय महका कारण बिक्री नभएको हो।’

सस्तो भन्सार हुनुका साथै गैरकानुनी रूपमा मह आयात हुने भएकाले यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उहाँको भनाइ छ। ‘मह बिक्री नभएर किसानको बिजोग भएको छ,’ उहाँले भन्नुभयो, ‘बिक्री नभएको मह थुपारेर राखेका छौं।’ पौडेल बी फार्म सञ्चालन गर्दै आएका उहाँसँग करिब ३५ क्विन्टल मह स्टक छ ।

अहिलेको बजार भाउअनुसार त्यति महको मूल्य १६ लाख रूपैयाँभन्दा बढी पर्छ। ‘मह बिक्री नहुँदा समस्यामा परेका छौं,’ पौडेलले भन्नुभयो , ‘२० वर्षको अनुभवमा महका लागि अहिलेसम्म बजार अभाव भएको थिएन।’

भारतबाट किलोको २११ रूपैयाँमा मह आयात भइरहेको छ। नेपालमा उत्पादन भएको महको उत्पादन लागत नै किलोको करिब ४०० रूपैयाँ छ । महको होलसेल मूल्य किलोको ४०० देखि ५०० रूपैयाँ र खुद्रा मूल्य ७०० देखि ८०० रूपैयाँ रहेको महासंघले जनाएको छ। नेपालमा वार्षिक करिब ७ हजार मेट्रिक टन हाराहारीमा मह खपत हुने महासंघको अनुमान छ।

स्वदेशमा ४ हजार मेट्रिक टन उत्पादन हुन्छ। करिब १४ सय मेट्रिक टन आयात भएको भन्सारको तथ्यांकले देखाउँछ। अरू मह गैरकानुनी च्यानलबाट आएको महासंघका पदाधिकारीको दाबी छ। ‘वैध र अवैध च्यानलबाट मह आउँदा यहाँको मह बिक्री भएन,’ निवर्तमान अध्यक्ष पौडेलले भन्नुभयो ।

मह बिक्री नभएको गुनासो किसानबाट आएको व्यावसायिक किट विकास केन्द्रले जनाएको छ। भारतबाट सस्तोमा मह आयात र आन्तरिक कारणले बिक्री नभएको व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले बताउनुभयो । यो समाचार नागरिक दैनिकमा छ ।