जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार ०८:००

विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात


काठमाडौँ, २० फागुन । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो ।

बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा ९साउन–माघ० १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।

गत वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपियाँभन्दा बढीको आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा भने उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् ।

रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात ९साउन–माघ० महिनामा सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् । कार्यालयका अनुसार चालु आवको सात महिनामा रसुवा नाकाबाट ३२ अर्ब ९६ करोड २८ लाख रुपियाँको सामान आयात भएको छ । जसमा सबभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । कार्यालयका प्रमुख रामप्रसाद पाठकले विद्युतीय गाडीको प्रयोग प्रवर्धन गर्ने सरकारको नीतिको कारणले गर्दा पनि आयातमा वृद्धि भएको जानकारी दिनुुभयो ।

विद्युतीय सवारी वातावरणमैत्री हुनाका साथै उपभोक्ताको चाहना बढ्दै गएकाले पनि आयातमा वृद्धि भएको उहाँको भनाइ छ । सो नाकाबाट यातायातको पहुँचलाई सहज बनाउन नेपाली व्यवसायीले चीनबाट सबैभन्दा धेरै ‘बिवाइडी’ विद्युतीय गाडीको आयात गरेका छन् ।

अन्य सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको उपभोक्ताको धारणा छ । पछिल्लो समयमा बजारमा विद्युतीय कार, भ्यान, स्कुटरको प्रयोग धेरै हुने गरेको छ । पेट्रोल, डिजल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको मर्मत खर्च एकदमै कम हुनुका साथै टायर, ब्याट्री, सर्भिसिङ र सरसफाइ खर्च मात्रै लाग्ने भएकाले विद्युतीय सवारी साधनको ‘मेन्टेनेन्स खर्च’ अन्य सवारी साधनको तुलनामा कम लाग्ने गरेको व्यवसायी बताउँछन् ।

विद्युतीय सवारी साधनले पेट्रोल, डिजेल सवारी साधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पु¥याउने कार्बोनमोनोक्साइड ग्यास पनि उत्सर्जन नगर्ने हुनाले विद्युतीय सवारी साधन वातावरणमैत्री रहेको छ ।

पेट्रोल, डिजेल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च तीन गुणा कम हुने गरेको व्यवसायीको भनाइ छ । तर पर्याप्त चार्जिङ स्टेसन नहुँदा यसको प्रयोगमा चुनौती देखिएको छ । गोरखापत्रमा समाचार छ ।