जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार ०८:४६

स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ हुँदैन : मुख्यमन्त्री थापा


हेटौँडा, कात्तिक २० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ नहुने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।

बागमती प्रदेशको स्वास्थ्य कार्यक्रमअन्तर्गत हेटौँडामा आयोजित एकीकृत समीक्षा कार्यक्रमको समापन समारोहलाई हिजाे साँझ सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “आगामी दिनमा आवश्यकताको आधारमा बजेट विनियोजन हुन्छ । विगत वर्षमा जस्तो स्वास्थ्य मन्त्रालयको बजेटमा कन्जुस्याइँ हुँदैन ।”

उहाँले स्वास्थ्य क्षेत्रको सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधनको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्रालयले गरेका काम र उपलब्धिका कारण मन्त्रालय अहिले देखिने मन्त्रालयका रूपमा स्थापित भएको उहाँको भनाइ थियो । “कामको कारण बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय देखिने मन्त्रालय भएको छ,” मुख्यमन्त्री थापाले भन्नुभयो ।

प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको र त्यसको अनुभूति नागरिकले समेत गर्न थालेको उल्लेख गर्दै उहाँले स्वास्थ्यकर्मीहरूको मेहनतका कारण परिवर्तन सम्भव भएको बताउनुभयो । “बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको छ भन्ने कुरा नागरिकले अनुभूत गर्न पाएका छन् । स्वास्थ्यकर्मीहरूको मेहनतले परिवर्तन सम्भव भएको छ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापाले स्वास्थ्य मन्त्रालयका कामलाई समन्वय र सहकार्यका साथ अगाडि बढाइने पनि बताउनुभयो । कर्मचारीलाई अनावश्यक दुःख दिने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै उहाँले सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । “कुनै पनि मन्त्रालयका कर्मचारीलाई मैले दुःख दिएको छैन, तर सुशासन, पारदर्शिता र डेलिभरीलाई हामीले प्राथमिकतामा राखेका छौँ,” उहाँले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक बजेट, प्रभावकारी समन्वय र स्वास्थ्यकर्मीहरूको मेहनतलाई सरकारले प्राथमिकतामा राख्ने मुख्यमन्त्री थापाको भनाइ थियो ।