जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार ०७:४६

डेमोक्र्याटको चुनावी सफलतापछि एआई कम्पनीमाथि नियमन बढ्ने चिन्ता, अमेरिकी टेक कम्पनीको सेयरमा गिरावट


काठमाडौं, कात्तिक २० । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सफलता हासिल गरेपछि एआई पूर्वाधारमा सरकारी नियमन बढ्न सक्ने आशङ्काले अमेरिकी प्रविधि कम्पनीका सेयरमा गिरावट आएको छ ।

एआई क्षेत्रमा थप नियमन हुन सक्ने चिन्ताका कारण बिहीबार अमेरिकी प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट सूचकाङ्क ५.५६ प्रतिशतले घटेको छ । यो पछिल्लो १९ महिनायताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो ।

निर्वाचनमा डेमोक्र्याटहरूले सिनेटमा सात र प्रतिनिधिसभामा कम्तीमा ३९ सिट थपेका छन् । पाँच राज्यमा गभर्नर पदसमेत जितेपछि एआई पूर्वाधार विस्तारमा कडा नियम लागू हुन सक्ने चिन्ता लगानीकर्तामा बढेको हो ।

विशेषगरी एआई प्रणाली सञ्चालनका लागि आवश्यक डेटा सेन्टर निर्माण र सञ्चालनमा नियमन हुन सक्ने सम्भावनाले बजार प्रभावित भएको बताइएको छ । डेटा सेन्टरले ठूलो मात्रामा विद्युत् र पानी खपत गर्ने भएकाले स्थानीय समुदायमा पनि यसको विरोध बढ्दै गएको छ ।

टेक्सासको गभर्नरमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जिना हिनोजोसाले नयाँ डेटा सेन्टर निर्माण रोक्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले तीन कार्यकालदेखि गभर्नर रहेका रिपब्लिकन उम्मेदवार ग्रेग एबटलाई पराजित गर्नुभएको हो ।

यसैगरी, कङ्ग्रेसका डेमोक्र्याट सांसदहरूले डेटा सेन्टरका कारण सर्वसाधारणको विद्युत् महसुल बढ्न नदिन नयाँ कानुन ल्याउनुपर्ने र एआई प्रणालीको स्वतन्त्र परीक्षण अनिवार्य गर्नुपर्ने माग अघि सारेका छन् ।

लगानी अनुसन्धानकर्ता मेलिसा ब्राउनका अनुसार एआई पूर्वाधार निर्माणको गति सुस्त भएमा यस क्षेत्रमा आधारित आर्थिक वृद्धिको अपेक्षामा असर पर्न सक्छ ।

यसबीच अलास्का र मिसिसिपीको सिनेट निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ । ती दुवै राज्यमा डेमोक्र्याट उम्मेदवार अगाडि रहेकाले सिनेटमा उनीहरूको सिट सङ्ख्या ५६ पुग्न सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

नयाँ सिनेट जनवरीदेखि क्रियाशील हुनेछ । त्यसपछि डेमोक्र्याटहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका निर्णयमाथि अनुसन्धान अघि बढाउन र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । यसले एआई क्षेत्रसहित प्रविधि उद्योगमा सरकारी नीतिको प्रभाव बढ्न सक्ने लगानीकर्ताको चिन्ता थपिएको छ ।