काठमाडौं, कात्तिक २० । युरोपका विभिन्न देशमा उडिरहेका विमानमा बम राखिएको भन्दै झुटो धम्की आएपछि बिहीबार एकै दिन २१ भन्दा बढी उडान प्रभावित भएका छन् । धम्कीपछि केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ ।
विमानको सुरक्षा जाँचका लागि कतिपय देशले लडाकु जेटसमेत परिचालन गरेका छन् । तर, अहिलेसम्म कुनै पनि विमानमा विस्फोटक पदार्थ वा शंकास्पद वस्तु फेला परेको छैन ।
बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले घटनालाई ‘दुर्भावनापूर्ण झुटो धम्की’ भन्दै टिप्पणी गर्नुभएको छ । यसअघि गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए ।
इटालीको रोम आउने विमानलाई लक्षित गरी इमेलमार्फत बमको धम्की दिइएको थियो । आफूलाई ‘फाइटर्स अफ द मेल स्टेट’ बताउने समूहले उक्त इमेल पठाएको दाबी गरिएको छ । समूहले नारीवादी शासन व्यवस्थालाई निशाना बनाइरहेको जनाएको थियो ।
चेक गणतन्त्रको प्रागमा पनि बमको धम्कीपछि अवतरण गरेका चारवटा विमानमा प्रहरीले सुरक्षा जाँच गरेको थियो । ती विमानमा अस्थायी रूपमा बनाइएको विस्फोटक उपकरण (आईईडी) हुन सक्ने आशङ्का गरिएको थियो । तर, जाँचका क्रममा कुनै पनि विस्फोटक पदार्थ फेला परेन ।
लडाकु जेट परिचालन गरेर विमानको सुरक्षा
धम्कीपछि विभिन्न देशका वायुसेनाले विमानको सुरक्षाका लागि लडाकु जेट परिचालन गरेका थिए । इटालीको वायुसेनाले हेलसिन्कीबाट रोम आउँदै गरेको फिनएयरको विमानलाई लडाकु जेटमार्फत सुरक्षा दिएको थियो । उक्त विमान क्रोएसियाको हवाई क्षेत्रमा प्रवेश गरेपछि त्यहाँको वायुसेनाले इटालीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
त्यस्तै, बुल्गेरियातर्फ गइरहेका र्यानएयरका तीनवटा विमानलाई पनि सैन्य विमानले सुरक्षा दिएका थिए । तीमध्ये दुईवटा विमान डेनमार्कको कोपनहेगन र स्पेनको म्याड्रिडबाट सोफिया पुगेका थिए भने लन्डनबाट आएको अर्को विमान बुल्गेरियाकै प्लोभ्दिभमा अवतरण गरिएको थियो ।
डब्लिनबाट रोमका लागि उडेको एर लिङ्गसको विमानलाई फ्रान्सको इभ्रुस्थित सैन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो । फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयका अनुसार विमान सुरक्षित अवतरण भएपछि विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले जाँच गरेको थियो ।
फ्रान्सेली अधिकारीहरूले पाइलटले सुरक्षा निकायसँग अपेक्षाअनुसार सहकार्य नगरेको भन्दै लडाकु विमान परिचालन गरी विमानलाई अवरोध गरेको बताएका थिए । तर, एर लिङ्गसले आफ्ना पाइलटले फ्रान्सेली अधिकारीसँग पूर्ण सहकार्य गरेको जनाएको छ ।
एकै दिन धेरै उडान प्रभावित हुनु असामान्य
विमानमा बम राखिएको भन्दै झुटो धम्की आउनु युरोपका लागि नयाँ घटना नभए पनि एकै दिन यति धेरै उडान प्रभावित हुनु असामान्य रहेको अधिकारीहरूले बताएका छन् ।
ब्रसेल्सस्थित ब्रुगेल थिंक ट्यांकका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डका अनुसार यस्ता धम्कीले युरोपेली सरकार र विमानस्थलका अधिकारीहरूको सुरक्षा प्रतिक्रिया तथा आपसी समन्वयको परीक्षण गरिरहेको हुन सक्छ । यस्ता गतिविधिको उद्देश्य हवाई यातायात प्रणालीप्रति अनिश्चितता र अविश्वास सिर्जना गर्नु पनि हुन सक्ने उहाँको भनाइ छ ।
इंग्ल्यान्डको कोभेन्ट्री विश्वविद्यालयका उड्डयन सुरक्षा विषयका भिजिटिङ प्रोफेसर फिलिप बाउमका अनुसार एउटा उडान प्रभावित हुँदा विमान कम्पनीलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म खर्च हुन सक्छ । यसले चालक दलको कार्यअवधि बढ्ने, वैकल्पिक कर्मचारी परिचालन गर्नुपर्ने र यात्रुले अर्को उडान छुटाउनेजस्ता समस्या निम्त्याउँछ ।
यसैबीच, युरोपेली संघका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने निष्कर्षमा पुग्न हतार गर्न नहुने बताउनुभएको छ ।
घटनाबारे विभिन्न देशमा अनुसन्धान भइरहेको छ भने हवाई सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने युरोपेली संघको संयन्त्रसमेत सक्रिय बनाइएको छ । यस साताका धम्की एउटै समूहले दिएको हो वा फरक–फरक समूह संलग्न छन् भन्ने अझै खुलेको छैन । धम्की दिनुको उद्देश्यबारे पनि अनुसन्धान जारी छ ।














प्रतिक्रिया दिनुहोस्