काठमाडौं, कात्तिक २० । तिहार र छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको भाइ मसला तथा सुक्खा फलफूल नेपाल भित्रिएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार ओखर, नरिवल, बदाम, काजु र किसमिस आयातमा मात्रै २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ । उक्त आयातबाट सरकारले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
तीन महिनाको अवधिमा सबैभन्दा बढी रकम ओखर आयातमा खर्च भएको छ । यस अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात भएको छ । ओखर मुख्य रूपमा चीन र अमेरिकाबाट भित्रिएको हो ।
परिमाणका आधारमा भने नरिवलको आयात सबैभन्दा धेरै भएको छ । तीन महिनामा १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल आयात गर्दा ५६ करोड ६० लाख ७० हजार रुपैयाँ बाहिरिएको छ । नरिवलको आयात मुख्यतः भारतबाट हुने गरेको छ ।
यसैगरी ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको बदाम, ४६ करोड ५७ लाख २६ हजार रुपैयाँको काजु र २७ करोड ६३ लाख ४९ हजार रुपैयाँको किसमिस आयात भएको छ । बदाम मुख्यतः अमेरिकाबाट, काजु भारत र भियतनामबाट तथा किसमिस चीन र भारतबाट आयात गरिएको भन्सार विभागको तथ्याङ्क छ ।
गत वर्ष साढे ४ अर्बको आयात
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ४ अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ बराबरको सुक्खा फलफूल तथा नरिवल आयात गरेको थियो । उक्त अवधिमा ३ करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम वस्तु आयात हुँदा सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत वर्ष रकमका आधारमा सबैभन्दा धेरै किसमिस आयात भएको थियो । १ अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको किसमिस नेपाल भित्रिएको थियो । त्यसैगरी ९० करोड १७ लाख रुपैयाँको बदाम र ८७ करोड ७० लाख रुपैयाँको काजु आयात भएको थियो ।
परिमाणका आधारमा गत वर्ष पनि नरिवल सबैभन्दा अगाडि थियो । एक वर्षमा ३ करोड ११ लाख ७७ हजार ८३२ किलोग्राम नरिवल आयात गर्दा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ बाहिरिएको थियो । नरिवलको अधिकांश आयात भारतबाट हुने गरेको छ ।
यसरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामै गत वर्षभरि भएको सुक्खा फलफूल तथा नरिवलको आयात मूल्यको आधाभन्दा बढी रकम बराबरका वस्तु नेपाल भित्रिएका छन् ।
तिहारमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने भाइ मसलामा ओखर, काजु, बदाम, किसमिस र नरिवललगायतका वस्तु समावेश गरिन्छन् । चाडपर्वका बेला यस्ता वस्तुको माग बढ्ने भएकाले नेपालले बर्सेनि अर्बौं रुपैयाँ खर्चेर विभिन्न मुलुकबाट आयात गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्