जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार ०७:५७

एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा भिड्दै


काठमाडौं, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् । चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ । प्लेअफ यात्रा बलियो बनाउन पाँचौँ खेलमा सुदूरपश्चिमलाई जित आवश्यक छ ।

यता तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हारसहित चार अंक जोडेको छ । चौथो खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्य कर्णालीको छ ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँडेको छ । तीन अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवन आजको खेल जित्दै आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

अर्कोतर्फ पोखरा एभेन्जर्स प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पोखरा चितवनलाई हराउँदै जितको खाता खोल्ने लक्ष्यमा हुनेछ ।

आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले टोलीहरूका लागि जित महत्त्वपूर्ण हुनेछ ।