महोत्तरी, कात्तिक २० । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । मधेस प्रदेशका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा तिहारको पहिलो दिन धनतेरस मनाइँदै छ ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझ घरघरमा दीपमालिका गरी धनतेरस मनाउने चलन छ । यस अवसरमा धातुका नयाँ भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री खरिद गरी लक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ ।
मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार यस वर्ष तिथिको घटबढका कारण तिहार पर्व पाँच दिनको सट्टा छ दिनसम्म मनाइने भएको छ । आज बिहान द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
पण्डित झाका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु भएको त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ । त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।
मिथिला क्षेत्रमा दीपावलीलाई बोलीचालीमा दिवालीसमेत भनिन्छ । धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने विश्वासका साथ धनतेरसका दिन नयाँ धातुका सामग्री किन्ने र घरमा दीप प्रज्वलन गर्ने परम्परा छ ।
मिथिला क्षेत्रमा चाडपर्व, तिथि, नक्षत्र तथा शुभकार्यको निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने प्रचलन छ ।
यस वर्ष आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ । मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै तिहार पर्व सम्पन्न हुनेछ ।














प्रतिक्रिया दिनुहोस्