जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार ०९:३४

खाँडादेवीका किसानको उत्पादनलाई बजारसँग जोड्न हेफरको आपूर्ति शृङ्खला परियोजना


रामेछाप, कात्तिक २० । हेफर प्रोजेक्ट नेपालले रामेछापको खाँडादेवी गाउँपालिकामा किसानको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित आपूर्ति शृङ्खला परियोजना सञ्चालन गर्ने भएको छ । पाँच महिनाको पाइलट परियोजनाका रूपमा सञ्चालन हुन लागेको कार्यक्रमले कृषि तथा पशुपालन क्षेत्रको उत्पादन, बजारीकरण र किसानको आयआर्जनमा जोड दिनेछ ।

परियोजनाअन्तर्गत सञ्चालन गरिने गतिविधिबारे जानकारी दिन बिहीबार खाँडादेवी गाउँपालिकामा शुभारम्भ बैठक आयोजना गरिएको हो । कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका सिनियर प्रोग्राम म्यानेजर दिपेश पोखरेलले यसअघि गाउँपालिकामा सञ्चालन गरिएको परियोजनाका उपलब्धिलाई थप टेवा पुर्‍याउने उद्देश्यले पाँच महिनाको पाइलट परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

हेफरले विशेष प्रकृतिका समस्या पहिचान गरी समाधानका लागि काम गर्ने उल्लेख गर्दै उहाँले यसपटकको परियोजना मुख्य रूपमा किसानकाे उत्पादनलाई बजारसँग जाेड्ने कुरामा केन्द्रित रहने बताउनुभयो । “यस पटकको परियोजनामा किसानको उत्पादनलाई आपूर्तिसँग जोड्ने विषयलाई प्राथमिकता दिइएको छ,” उहाँले भन्नुभयो ।

परियोजनाको प्रभावकारिताका आधारमा आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिने पोखरेलले जानकारी दिनुभयो । स्थानीय तह, साझेदार संस्था र समुदायको समान सहभागिता तथा सक्रियताबाट मात्रै कार्यक्रम सफल हुने उहाँको भनाइ थियो ।

परियोजना अवधिभर सञ्चालन गरिने गतिविधिबारे कार्यक्रम अधिकृत ठाकुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी समाज कल्याण केन्द्र दोरम्बासँगको साझेदारी तथा स्थानीय तहहरूसँगको सहकार्यमा रामेछापका दुई र सिन्धुलीका दुई स्थानीय तहमा परियोजना सञ्चालन गर्न लागिएको हो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले विगतमा हेफर परियोजनाको सहयोगमा बाख्रापालनलगायत कृषि क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो । ती कार्यक्रमबाट नागरिकको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आएको उहाँको भनाइ थियो ।

“हेफरले स्थानीय सरकारको बजेटलाई ठीक समयमा ठीक ठाउँमा खर्च गर्न सिकाएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले विगतका कार्यक्रमले महिलाहरूको क्षमता विकासमा समेत महत्वपूर्ण सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष रमा घिसिङले परियोजनाको अवधि छोटो भएकाले सीमित समयमा देखिने उपलब्धि हासिल गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । आफ्नो कार्यकालको समयावधि पनि कम रहेको उल्लेख गर्दै उहाँले बाँकी समयमा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले स्थानीय उत्पादनको प्रशोधन र विविधीकरणमार्फत किसानले बढी लाभ लिन सक्ने बताउनुभयो । स्थानीय उत्पादनका लागि स्थानीय बजार खोज्न सके ढुवानी लागत घट्ने र किसानको आम्दानी बढ्ने उहाँको धारणा थियो ।

उहाँले रैथाने बाली तथा बीउको संरक्षण र बजारीकरणमा समेत परियोजनाले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । छोटो अवधिको परियोजना भएकाले निर्धारित समयसीमाभित्र योजनाबद्ध रूपमा काम गर्न सके मात्रै अपेक्षित उपलब्धि हासिल हुने उहाँले बताउनुभयो ।

बैठकमा साझेदार संस्था पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेलले परियोजना इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परियोजना सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

दुग्ध व्यवसायी भानु श्रेष्ठले विगतका कार्यक्रमबाट प्राप्त उपलब्धिलाई आधार बनाएर नयाँ परियोजना अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले रामेछापबाट कम्तीमा १० हजार लिटर दूध बाहिर पठाउने योजनाअनुसार आफूहरूले काम गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै, अर्का दुग्ध व्यवसायी किशोर पौडेलले खाँडादेवीका कम्तीमा चार स्थानमा दुग्ध सङ्कलन केन्द्र स्थापना गर्न सके किसानको उत्पादनले बजार पाउने बताउनुभयो । सानो परिमाणमा उत्पादन गर्दा बजार पाउन कठिन हुने उल्लेख गर्दै उहाँले उत्पादनको परिमाण बढाउन किसानलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सहभागी स्थानीयले सामुदायिक वनमा नर्सरी स्थापना तथा डालेघाँस उत्पादनका कार्यक्रम सञ्चालन गर्न सके कृषि तथा पशुपालन उत्पादन वृद्धि गर्न सहयोग पुग्ने सुझाव दिएका थिए । उनीहरूले स्थानीय उत्पादनको उचित बजारीकरणमा समेत जोड दिएका थिए ।

बैठकमा जनप्रतिनिधि, सरोकारवाला कर्मचारी, स्थानीय सामाजिक अगुवा, किसान, सामुदायिक वनका प्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि, उद्यमी तथा सहकारी सञ्चालकहरूको सहभागिता रहेको थियो ।