जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार ०७:५२

ममताको मृत्युबारे नरेशको बयान : ‘मैले हत्या गरेको होइन, शव टुक्र्याएर फोहोरमा फालेँ’


काठमाडौं, कात्तिक २० । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणका अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतमा ममताले आत्महत्या गरेको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका छन् ।

अदालतमा बयान दिने क्रममा नरेशले सन् २०२४ जुलाई २९ को रात आफू छोरीसँग अर्को कोठामा सुतेको र भोलिपल्ट बिहान करिब ४ बजे मुख्य बेडरुममा जाँदा ममतालाई भुइँमा लडिरहेको अवस्थामा भेटेको बताएका छन् ।

उनका अनुसार ममताको शरीर नजिकै बान्ता, केही चक्की र कीटनाशक विषादीका खोल थिए । उनले ममतालाई होसमा ल्याउन ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको तर कुनै प्रतिक्रिया नदिएको र श्वासप्रश्वाससमेत बन्द भइसकेको जिकिर गरेका छन् ।

ममताको अवस्था देखेपछि आफू निकै आत्तिएको र आपत्कालीन सेवा ९११ मा फोन गर्न नसकेको नरेशले अदालतमा बताएका छन् । वकिलले फोन नगर्नुको कारण सोध्दा उनले आफू अत्यधिक डराएको र त्यसको कारण अहिलेसम्म बुझ्न नसकेको जवाफ दिएका थिए ।

नरेशले त्यसपछि बालबालिका हेर्ने व्यक्तिलाई सन्देश पठाएर छोरीलाई उनको घरमा छाडेको र शव व्यवस्थापनका लागि आवश्यक सामान खोज्न होम डिपो गएको बताएका छन् ।

उनले ममताको शव करिब डेढ दिन लगाएर टुक्र्याएको र घरको फोहोर फाल्ने भाँडोमा राखेको बयान दिएका छन् । यस क्रममा आरा प्रयोग गरेको र थोरै मात्र चक्कु प्रयोग गरेको पनि उनले स्वीकार गरेका छन् ।

तर, अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका भिडियोमा नरेशले पन्जा लगाएर विभिन्न फोहोर फाल्ने स्थानमा झोला फालेको देखिएको थियो । ती झोलामा ममताका अवशेष नभई आफ्ना व्यक्तिगत सामान रहेको नरेशको दाबी छ ।

शारीरिक हिंसा अस्वीकार, मानसिक तनाव दिएको स्वीकार

यसअघि बयानको पहिलो दिन नरेशले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका थिए । तर, आफूले उनलाई मानसिक तथा भावनात्मक तनाव दिएको स्वीकार गरेका छन् ।

अदालतमा उनले विवाहको सुरुका दुई वर्ष सम्बन्ध राम्रो रहे पनि पछि विवाद बढ्दै गएको बताएका छन् । सन् २०२४ को सुरुवातदेखि दैनिकजसो झगडा हुने गरेको र आफूले सम्बन्धविच्छेदको कुरा गर्ने गरेको उनको भनाइ छ ।

सरकारी वकिल ट्रेसी लेनोक्सले ममता बेपत्ता हुनुअघिका केही महिनामा दम्पतीबीच भएका टेक्स्ट सन्देश देखाउँदै शारीरिक हिंसाको धम्कीबारे प्रश्न गरेकी थिइन् । जवाफमा नरेशले शारीरिक हिंसा नगरेको तर मानसिक तनाव दिएको बताएका थिए ।

उनले छोरी जन्मिएपछि ममताको व्यवहारमा परिवर्तन आएको दाबीसमेत गरेका छन् । ममता दिनभर सुत्न खोज्ने र सामान्य कुरामा पनि झर्किने गरेको भन्दै उनलाई प्रसवपछिको डिप्रेसन भएको हुन सक्ने आफूले अहिले आएर महसुस गरेको नरेशको भनाइ छ ।

सन् २०२४ अगस्टदेखि बेपत्ता

ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

त्यसपछि प्रहरीले उनीहरू बस्दै आएको घरमा पुगेर अनुसन्धान थालेको थियो । नरेशले ममताले जुलाई २९ मा घर छाडेको र सम्बन्धविच्छेदको कुरा गरेको प्रहरीलाई बताएका थिए । उनले अगस्ट ५ मा ममता हराएको औपचारिक उजुरी दिएका थिए ।

तर, परिवार र साथीहरूले सानी छोरीलाई छाडेर कसैलाई खबर नगरी ममता घरबाट गएको भन्ने कुरामा विश्वास गरेका थिएनन् । अनुसन्धानपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो ।

अभियोजन पक्षले नरेशले ममताको हत्या गरेर शव लुकाएको आरोप लगाउँदै आएको छ । ममताको शव अहिलेसम्म फेला परेको छैन । अदालतमा नरेशले गरेको दाबी र अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणका आधारमा मुद्दाको सुनुवाइ जारी छ ।