कञ्चनपुर, कात्तिक १९ । काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पीडित युवतीले गत कात्तिक १७ गते काठमाडौँबाट महेन्द्रनगर आउने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा घटनासम्बन्धी दृश्य कैद भएको थियो । उक्त दृश्य सार्वजनिक भएपछि घटनाबारे थप चासो बढेको थियो ।
पक्राउ परेका तीनै जनामाथि घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्