जनता टाइम्स

११ चैत्र २०८०, आईतवार ०७:१५

सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर


काठमाडौँ, ११ चैत । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा। प्रज्वल श्रेष्ठले क्षयरोग नियन्त्रणमा चुनौती रहेको बताउँदै भन्नुभयो, “उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् ।”

सरकारले सुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत १२५ स्थानीय तहमा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ । उहाँले क्षयरोग नियन्त्रणका लागि ७५३ वटै स्थानीय तहमा खोज कार्यक्रम विस्तार गरिने बताउनुभयो । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोगी छन् भने बाँकी २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् ।

केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका छन् । उहाँले सबैभन्दा धेरै बिरामी मधेश प्रदेशमा र त्यसपछि बागमतीमा र लुम्बिनी प्रदेशका रहेको बताउनुभयो ।

डा। श्रेष्ठले नेपालमा क्षयरोग उपचारको सफलता दर विश्वका अन्य देशकोभन्दा उच्च रहेको जानकारी दिनुभयो । विश्वमा औषधी प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि रहेको भन्दै उहाँले क्षयरोग सरुवा रोग भएकाले यसको समयमै निदान र उपचार जरुरी रहेको बताउनुभयो । उहाँले क्षयरोगका लक्षण भएका र जोखिम समूहमा पर्नेले क्षयरोग परीक्षण गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ३७ हजारभन्दा बढी बिरामी थपिएका छन् । क्षयरोग नियन्त्रण गर्न सकिने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक पर्ने केन्द्रले बताएको छ । उहाँले क्षयरोग नियन्त्रण गर्न स्थानीय तहको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

छाती रोग विशेषज्ञ डा। केदारनरसिंह केसीले क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको जानकारी दिनुभयो । उहाँले लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगका कारण हुने बताउनुभयो । उहाँले क्षयरोग अन्त्य गर्न रोगीमाथि हुने भेदभावको अन्त्य हुनुपर्ने बताउनुभयो । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

यसैबिच आज विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने रहेको छ । गोरखापत्रबाट