जनता टाइम्स

२१ असार २०८२, शनिबार २१:३५

स्थानीय तहले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : प्रदीप ज्ञवाली


काठमाडौं, २१ असार । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले संविधानमा मौलिक हकका रूपमा सुनिश्चित शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने दिशामा स्थानीय तहले प्राथमिकता दिनु आवश्यक रहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपाल पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले जनताको पढाइ र उपचारको खर्च सरकारले व्यहोर्नुपर्नेमा जोड दिनुभयो। ‘जनताको पढाइ र उपचारको खर्च निःशुल्क हुनुपर्छ, नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष महत्त्व दिँदै निःशुल्क बनाउने अभियान नै सञ्चालन गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।

उहाँले शिक्षा र स्वास्थ्यजस्ता सेवा निःशुल्क बनाएमा भ्रष्टाचार रोकिने, गरिब र विपन्न परिवारलाई राहत पुग्ने र जनताको जीवनयापन सहज हुने विश्वास व्यक्त गर्नुभयो। आवश्यकताको आधारमा पूर्ण वा अर्धआवासीय शिक्षा प्रणालीको व्यवस्था गर्नेतर्फ पनि नीति निर्माण आवश्यक रहेको उहाँको सुझाव छ ।

उपमहासचिव ज्ञवालीले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै देश विकासको यात्रामा अगाडि बढिरहेको बताउनुभयो। उहाँका अनुसार, ९७ प्रतिशत घरमा बिजुली पुगिसकेको छ, ९५ प्रतिशत भन्दा बढी घरमा खानेपानीको धारा पुगेको छ, अधिकांश स्थानीय तहका टोलटोलमा सडक पुगिसकेको छ। यस्ता उपलब्धिहरूको सकारात्मक प्रचार नहुनु दुःखद भएको उहाँको भनाइ छ। ‘अहिले नकारात्मक प्रचार मात्रै भइरहेको छ, जनतालाई केही भएन भन्ने गरी निराशा फैलाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पत्रकारहरूले भएका विकासलाई उजागर गर्नुपर्छ।’

ब्रेकिङ न्युजको हतारमा सत्य सूचना ओझेलमा पर्ने गरेको भन्दै उहाँले सामाजिक सञ्जालको दुरुपयोगले सत्य समाचारबाट जनता वञ्चित हुनुपरेको तर्क गर्नुभयो। सञ्चार क्षेत्र पनि अहिलेको आर्थिक संकटबाट अछुतो नरहेको उल्लेख गर्दै श्रमजीवी पत्रकार तथा सञ्चारमाध्यमलाई सवल बनाउने कार्यमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा क्षेत्र नं. २ का सांसद ठाकुर गैरे, क्षेत्र नं. १ का सांसद नारायण आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू, प्रदेश सांसद इन्द्राकुमारी गहतराज, नेकपा एमालेबाट निर्वाचित पाल्पाका विभिन्न स्थानीय तहका अध्यक्ष उपाध्यक्ष, पार्टीका जिल्ला अध्यक्ष तथा जनप्रतिनिधिहरू, प्रेस चौतारी नेपालका पदाधिकारी तथा सदस्यहरूको बैठकमा सहभागिता रहेको थियो।

बैठकमा जिल्लाको समग्र विकास, सञ्चारको भूमिकालगायत चौतारीको आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो।