७ भाद्र २०७६, शनिबार ००:००

सगरमाथाको उचाई मापन अन्तिम चरणमा, यसरी हुदैछ काम


काठमाडौं, भदौ ७

नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ ।

तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्ंक संकलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभागले असारसम्ममा फिल्डको काम सक्ने तालिका तय गरे पनि त्यसो हुन सकेन । वर्षाका कारण काम गर्नसक्ने अवस्था नहुँदा फिल्डको १० प्रतिशत काम रोकिएको हो । नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले फिल्डको काम असारसम्म सक्ने योजना रहेको भए पनि वर्षाका कारण समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । त्यसैले आउँदो पुससम्ममा उचाइ मापनको नतिजा सार्वजनिक गर्नका लागि समय निर्धारण गरिएको छ ।

उपलब्ध तथ्याङ्क संकलन र प्रोसेसिङको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उहाँले तोकिएकै समयमा काम सक्ने दाबी गर्नुभयो । तोकिएको सयममा फिल्डको काम नसकिँदा समयमा काम सकिने सम्भावना कम छ । वर्षा सकिएसँगै चाँडै परिणाम दिने गरी काम सुरु हुने पनि उहाँले बताउनुभयो ।

नेपाल सरकारको स्रोत साधनको उपयोग गरी पहिलोपटक सगरमाथाको मापन हुन लागेको हो । गत वर्ष (२०७४) फागुनदेखि बङ्गालको समुद्री सतहबाट सगरमाथाको मापन सुरु गरिएको थियो । दुईवटा विधि ‘ग्राबिटी सर्भे र त्रिगोनोमेट्रिक लेभलिङ’बाट सगरमाथाको मापन गरिँदै छ । पहाडी क्षेत्रमा ‘ग्राबिटी सर्भे’को काम बाँकी रहेको हो ।

हिमाली क्षेत्रमा मौसमका कारण जुनसुकै बेला काम गर्न नसकिने भएका कारण पहिला हिमाली क्षेत्रमा काम गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मौसमका कारण पहिले हिमाली क्षेत्रमा केन्द्रित भएका हौँ, त्यसपछि तराईको ग¥यौँ । त्यसपछि मनसुन सुरु भयो ।” अर्को त्रिगोनोमेटिक लेभलिङको पूर्वेक्षण सकिएको छ । यो सर्वेक्षणभन्दा अघिको काम हो । सर्वेक्षणका कतिपय काम अझै बाँकी रहेको छ । त्रिगोनोमेटिक लेभलिङका लागि सगरमाथा अवस्थित क्षेत्रमा १२ वटा बिन्दुबाट मापन गरिने काम हो । हरेक बिन्दुबाट सगरमाथा र बिन्दुहरू आपसमा देखिने गरी मिलाउनुपर्ने हुन्छ । यही काम सकिएको छ भने मापनचाहिँ बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरकफरक निस्किएको थियो ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनको मापनमा आठ हजार ८४४ मिटर निस्किएको थियो । चीनको मापनमा हिउँलाई घटाएर चट्टानी भागको मात्र उचाइ लिइएको भनिएको छ । विसं २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्भेमा काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । काठमाडौँ उपत्यका औसतमा शून्य दशमलव ९२ मिटर उचालिएको र १।४२ मिटर दक्षिण–पश्चिमतर्फ सर्केको निष्कर्ष निस्किएको थियो । यसलाई आधार मानेर सगरमाथाको उचाइमा पनि परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ । त्यसपछि सगरमाथा मापनलाई नेपाल सरकारले अगाडि सारेको हो ।