जनता टाइम्स

१८ जेष्ठ २०८०, बिहीबार ०९:००

यो काम संसदीय सर्वोच्चता र नयाँ जनादेशकै अवमुल्यन गर्नु होइन र ?


प्रमाणिकरण नभइ अस्विकृत भएको र नयाँ जनादेश समेत आएको अवस्थामा संसदमा यो विषयलाई प्रवेश नै नगराई ६ महिनाभन्दा वढि समय गुजारेर पुरानै निष्कृय भएको विधेयकलाई व्याकडोरवाट भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गर्नु के स्वभाविक विषय हो र ? अनि यस्तो विषयमा प्रश्न उठ्दा जानीजानी के हो असहमती भनेर प्रतिवाद गर्नु संसदीय सर्वोच्चता र नयाँ जनादेशकै अवमुल्यन गर्नु होइन र ?

शंकर पोखरेल

नागरिकता विधेयकमा आलोचना र प्रतिवादको अन्तर्यः

कतिपयले नागरिकता विधेयकमा के समस्या छ भनेर भइरहेको आलोचनाको प्रतिवाद गरिरहनु भएको छ ।कतिपयले नेकपा(एमाले)ले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनेर भ्रम सिर्जना गर्न खोजेको देखिन्छ ।

वैवाहिक अंगिकृतका सन्दर्भमा भारत र नेपालको बीचमा कम्तिमा समान व्यवस्था राख्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । अहिलेको प्रावधानले भारतमा विवाह भएको ७ वर्षमा र नेपालमा विवाह लगतैको असमान व्यवस्था राखेको छ ।
संविधानले प्रादेशिक पहिचान खुल्नेगरी नागरिकताको व्यवस्था हुनुपर्ने व्यवस्था गरेको छ । तर अहिलेको स्विकृत विधेयकमा त्यो समावेश छैन ।

सर्वोच्च अदालतले नेकपा(एमाले)को नेतृत्वको सरकारको समयमा अंगिकृतका सन्तानले व्यहोरिरहेको नागरिकता समस्याको समाधान गर्न खोजिएको थियो । अध्यादेश मार्फत उक्त समस्याको समाधान गर्न खोज्दा प्रकृयामा जोड दिएर अध्यादेश खारेज गरेको थियो । त्यतिवेला नागरिकताको विषय सम्वेदनशील विषय भएको हुँदा संसदीय प्रकृयामा विशेष जोड दिइएको थियो तर अहिले संसदीय प्रकृयालाई समेत पूर्णतः उपेक्षा गरिएको छ ।

त्यसमाथि प्रकृयागत हिसावले सम्माननीय पूर्वराष्ट्रपतिले संवैधानिक रुपमा अघिसारेका गम्भीर प्रश्नहरुमा प्रवेश नगरिकनै त्रुटिपूर्ण र अपूर्ण विधेयक प्रमाणिकरणका लागि पुनः पठाएको थियो जसलाई उहाँले प्रमाणिकरण नगरी अस्विकार गर्नुभएको अवस्था हो ।

यस्तो अवस्थामा प्रमाणिकरण नभइ अस्विकृत भएको र नयाँ जनादेश समेत आएको अवस्थामा संसदमा यो विषयलाई प्रवेश नै नगराई ६ महिनाभन्दा वढि समय गुजारेर पुरानै निष्कृय भएको विधेयकलाई व्याकडोरवाट भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणित गर्नु के स्वभाविक विषय हो र ? अनि यस्तो विषयमा प्रश्न उठ्दा जानीजानी के हो असहमती भनेर प्रतिवाद गर्नु संसदीय सर्वोच्चता र नयाँ जनादेशकै अवमुल्यन गर्नु होइन र ?