जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार ०७:१८

नेकपा, समाजवाद र विकास : यसरी खानुपर्छ ताली


नेत्रप्रसाद नेपाल

अहिले नेकपासँग दुईतिहाइ बहुमतको सरकार छ । देशमा अहिले भइरहेको बेथिति अन्त गर्न उक्त बहुमत प्रयोग गरौं । सांसदलाई उपयोग गरौं, हामीले चाहे जसरी कानुन संसोधन गरौं जनताको पक्षमा । कानुन बनाउने मात्रै होइन, कडाइका साथ लागू पनि गरौं, अपराध गर्नेहरु मेरो र तेरो नभनी सजाँयको भागि हुने व्यवस्था गरौं । साँच्चै कानुन बाहेक भनसुनको भरमा केही नहुने गरौं । बहुसंख्यक जनताको हित हुने, देशको हित हुने कानुन बनाऔं र लागु गरौं । सरकारलाई असजिलो हुने सबै कानुन संशोधन किन नगर्ने ? हाम्रो संविधानले नेपाललाई समाजवादमा पुर्याउने लक्ष लिएको छ । त्यसमाथि हामी कम्युनिस्ट, हाम्रो त झन उदेश्य नै त्यही होइन र ? समाजवादमा हामी जाने हो भने कम्युनिस्टले शासन गरेको देश जस्तो होइन, कम्तिमा युरोपियन पुँजिवादी मुलुकले जत्तिको त नियम कानुन बनाउन सकिन्छ त ?

साँच्चै हामी समाजवादमा जाने भए कमसेकम तिनकुरा भुमी, शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा हुनुपर्ने अनिवार्य सर्त हो । यो शर्त पूरा गर्नेतर्फ हामी लम्कने काम शुरु गर्नु पर्दैन अब ? शिक्षा, स्वास्थ्य र भुमी राज्यको नियन्त्रणमा नहुने हो भने हामी समाजवादमा कहिले पुग्ने ? भूमीलाई पुस्तान्तरण नगर्ने, गर्न परे जम्मा मुल्यको ठुलै रकम तिर्नु पर्ने गरी कानुन ल्याउन सकिन्छ त ? सकिन्छ भने भ्रष्टाचार आधा त्यसबाटै घट्छ । अनि न नेता न कर्मचारी कसले पनातीसम्मलाई सम्पत्ति जोड्न खोज्छ ? शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्नुस, यसबाट नेकपाका नेताहरु कसकसलाई पीडा पर्छ र कोको विरोधमा उत्रन्छन, थाहा हुन्छ । यसबाट पार्टीभित्रका शैक्षिक माफिया र मेडिकल माफिया सबैको पहिचान हुन्छ । उनीहरु केका लागि नेकपामा लागेका रहेछन, थाहा हुन्छ । यिनैका कारण पार्टीमा विकृति बढेको कुरा बिना धक भन्न सकिन्छ । के संसदको दुई तिहाईले शिक्षा र स्वास्थ्य राष्ट्रियकरण गर्न सक्छ ? सक्छ भने अत्यधिक जनता सरकारको साथमा हुन्छन । अन्यथा समाजवाद नक्कली र जनतालाई झुक्याउने ललिपप मात्रै हुनेछ ।

पुँजीवादीले त राज्यलाई लोककल्याणकारी राज्यको परिकल्पना गरेर कानुन बनाइ लागु गरेका छन भने हामी त कम्युनिस्ट हो नि होइन ? कम्युनिस्टले त धेरै लोककल्याणकारी काम गर्नुपर्छ यसको लागि पार्टीले अग्रता लिनु पर्दैन ? कानुन बनाउँदा आन्दोलन गर्नेहरुलाई आन्दोलन गर्नै नसक्ने बनाउँ । विकास निर्माण कार्य बाटो, पुल पुलेसा भवन निर्माण, जलविद्युत निर्माणदेखि यावत निर्माण कार्य गर्ने ठेकेदार र पास गर्ने इन्जिनियर दुवैलाई क्वालिटी कमजोर बनाए युरोप अमेरिकातिर जस्तो ५० बर्षसम्म उनीहरुले नै बिग्रेको बनाउने गरी जिम्मेवार र जवाफदेही बनाउने काम गरौं । जरिवाना तिराउने, पहिला पेश्की लिन नपाउने, एउटा काम नसकी ठेकेदार कम्पनी वा ठेकेदारलाई अर्काे काम नदिने, एउटा मात्र ठेक्का दिने गरी खरिद ऐन संसोधन गर्न सकिन्छ त ? सकिन्छ भने ठेकेदार र भ्रष्टाचारमा रमाउने इन्जिनियर बाहेक अरु को यसको विरुद्ध लाग्छ ? यसले काममा चुस्तता ल्याई छिटोछरितो र गुणस्तरीय काम गर्न संम्बन्धित सबै बाध्य हुन्छन । यसबाट पनि बहुसंख्यक जनता सरकारको पक्षमा लाग्छन ।

सरकारी कर्मचारीलाई सरकारप्रति जवाफदेही, बनाउने, काममा दक्ष बनाउने, तालिम दिने व्यवस्था गर्ने, ट्रेडयुनियन खारेज गर्ने, सरकारी अफिसमा बसेर जनताको काममा ढिलासुस्ती गर्न नपाउने ब्यवस्था गरौं । जनताको काम एउटा टेबुलबाट अर्कोमा नपुग्दै बढिमा दुई घण्टामा अनिवार्य सक्नुपर्ने अन्यथा सेवाग्राहीको उजुरीका आधारमा कर्मचारीमाथि कार्बाही हुने गरी कानुन ल्याउन सकिन्छ ? सेवा दिने कार्यालयमा अत्याधुनिक प्रविधिमार्फत काम गर्ने, राजश्व बैंकिङ प्रणालीमार्फत तिर्ने काम व्यबस्था गर्न सकिन्छ त ? बुढा कर्मचारी जो भ्रष्टाचार मात्रै मन्त्र सम्झन्छन, यिनलाई सेवाबाट अवकास दिने र नयाँ युवा कर्मचारी भर्ना गर्ने व्यवस्था गर्न सक्ने नियम ल्याउन मिल्छ नि ? यस्तो कानुन बनाई लागू गर्दा को विरोधी हुन्छ ? कर्मचारी होइन ? तर जनताको सबै हिस्सा सरकारको पक्षमा आउँदा सत्तारुढ दललाई त फाईदा हुन्छ नि होइन त ? सरकारी कर्मचारीले हरेक बर्ष उसको परिवार र आफन्तको सम्पति विवरण बुझाउने व्यबस्था गर्ने, नबुझाउनेलाई सेवाबाट बर्खास्त गर्न सक्ने कडा कानुनी व्यबस्था गर्न सकिन्छ ।

न्यायको क्षेत्र सबैभन्दा नाकाम छ, बर्षौं देखिका मुद्दा तामेलीमा छन्, छिटोभन्दा छिटो फैसला गर्नुपर्ने, मुद्दा अड्काउने र अनावश्यक मुद्दालाई अग्राधिकार दिई फैसला गर्ने कामले जनता न्यायाधीश र न्यायालयप्रति विश्वस्त हुनसकेका छैनन । विकास निर्माणमा न्यायालयले अवरोध गर्ने काम कत्तिको जायज छ ? विकास अहिलेको युग अनुसार हुनुपर्छ कि पर्दैन ? बाटो खन्दा घर बनाउँदा अन्तरिम आदेशले अवरोध गर्ने अन्तरिम आदेशको पुर्ण फैसला गर्न बर्षौं लगाउने न्याय प्रणालीप्रति जनता कत्तिको विश्वास गर्लान ? तसर्थ न्यायालय र न्यायाधीशलाई मर्यादित बनाउन, न्यायाधीशहरुको सम्पत्ति छानविन गर्न पाउने गरी विशेष आयोग बनाउनु पर्छ । न्याय किनबेच हुन नदिने व्यबस्था हुनुपर्छ । यस्तो कानुन बनाउन मिल्छ त ? अख्तियार दुरुपयोग आयोग भ्रष्टाचार छानविन त गर्छ, आफ्नै आयुक्तले घुस लिएको प्रत्यक्ष प्रमाण हुँदा बोल्दैन । सरकार जेल जाक्नुको सट्टा राजीनामा गराउँछ ।

के यो सुहाउँदो कुरा हो ? अख्तियारप्रति विश्वास जगाऔं, उसको आयुक्तहरु, कर्मचारीहरु सबैको सम्पत्ति छानविन हुने शक्तिशाली आयोग बनाउने व्यबस्था गर्न सकिन्छ । यसले न्यायाधीश र अख्तियारका व्यक्तिको सम्पत्ति छानविन गरोस । यस्तो गर्न सक्ने हो भने जनता सरकारको जयजयकार गर्छन होइन र ? समाजका हरेक क्षेत्र विकृत बनाउने काम तीब्र भएको छ, यसलाई न्युनिकरण गर्न जरुरी छ । पुलिस, प्रशासन, कर्मचारी, राजनीतिक नेताहरु, संबैधानिक आयोग, निजी क्षेत्र,सबैमा विकृति बढेको छ । यसबाट समाजलाई मुक्त गर्नुपर्छ । यसको लागि तत तत संस्थ हरुको कानुनमा कडाइका साथ संशोधन गर्नुपर्छ । सबैलाई जनताप्रति जवाफदेही, जिम्मेवार बनाउन के के गर्नुपर्छ, यो सबै गर्न प्रधानमन्त्री एक्लैले सक्नुहुन्न, भ्याउनु पनि हुन्न । पार्टीका अरु नेताहरु अब पाँच बर्ष सत्तापट्टी नहेरी र्याल नकाढी प्रधानमन्त्रीलाई सफल बनाउन सहयोग गर्ने विधि पार्टीको बैठकबाट बनाउन जरुरी छ । सवै नेताबाट गाली होइन, ताली । असहयोग होइन, सहयोग। बेइमानी होइन, इमानदारिता देखाउन जरुरी छ । सवै नेतामा एउटा कार्यकर्ताको निवेदन पनि यही छ ।

पार्टीलाई परिवार सम्झनुस, कार्यकर्ता, सदस्य, जनतालाई भगवान सम्झेर काम गर्न सके सबै जनता नेकपा समर्थक हुनेछन । सबैले सत्तामा रहन पाउनु हुनेछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षविरुद्ध पार्टी भित्रबाट भएको अपमान गर्ने, होच्याउने, मानमर्दन गर्ने काम रोकेर यदुवंशी हुनबाट बचौं । केपी कमरेडले कसैका निम्ति सम्पत्ति कमाउनु छैन । उहाँको त्यो महान उदेश्य समेद्ध न्पाल, सुखी नेपालीको अभियानलाई पुर्ण बनाउनेतिर सबै लागौं । घरमा आगो लगाएर नतापौं । नबिर्सौं केपी कमरेड नेतृत्वमा आउनु भएपछि पार्टीले ठुलो छलाङ मारेको तथ्यलाई । केपी कमरेडेको वाकपटुता, दृढता, कठोर र चट्टानी अडानका कारण पार्टी एकता भएको हो । यस्मा अध्यक्ष प्रचण्डको पनि त्यत्तिकै भुमिका छ । दृढ निश्चयका साथ दुवै अध्यक्षले नेकपालाई गति दिन थाल्नुभएको छ । ती ऐतिहासिक पुरुषलाई सम्मान गरौं ! के हामी यस्तो गर्न सक्छौं त ? यसमै सबैको भलो छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यउपचार गरिरहनुभएको छ । प्रधानमन्त्रीज्यू, तपाईंको शरिर जिर्ण छ, रोग छ तर पनि तपाईं सहास र आँटका धनी हुनुहुन्छ र रोगलाई जितिरहनु भएको छ । मान्छेको शरिर नासवान छ, नासिन्छ । तथापि तपाईं अझ बीश बर्ष बाँच्नुपर्छ । गाली गर्नेहरुको ताली खानुपर्छ । तपाईंलाई रिस, डाहा गर्नेहरु धेरै बर्ष बाँचुन, सहने मानिस ठुलो र महान हुन्छ । तपाईं ठीक भएर आउनुस र देशको वागडोर समाल्नुहोस । तपाईंको स्वास्थ्य लाभको कामना गर्दछु । कमरेड ओली बिरामी हुनुहुन्छ, आउनुस फेरि हामी सबैले उहाँको स्वास्थ्यलाभको कामना गरौं, ‘प्रधानमन्त्रीज्यू, तपाईं छिटो निको भएर देश फर्कनुस र जनताको काम गर्नुस ।’