जनता टाइम्स

१९ असार २०८०, मंगलवार १३:२५

संसदीय समितिका सभापति चयन गर्न शीर्ष नेता सहमत


काठमाडौं, १९ असार । प्रमुख तीन दलका शीर्षनेताहरु संसदीय समिमिका सभापति चयन गर्न सहमत हुनुभएको छ । आज सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकमा शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत हुनुभएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी कानुनमन्त्री धनराज गुरुङका अनुसार संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । पूर्वसहमतिअनुसार नै चाँडै सभापति चयन गर्न नेताहरु सहमत भएका उहाँको भनाइ छ । गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो ।

समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् । प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले आज शीर्ष नेताहरुलाई बोलाएर छलफल गर्नुभएको हो ।