काठमाडौं, असार ३१ । सत्ता साझेदार दल नेकपा एमालेसँग बजेटका विषयमा विवाद उत्कर्षमा पुगेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ ।
बुधबार मुख्यमन्त्री शाहले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाललाई पदमुक्त गर्नुभएको हो । त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद पनि पदबाट हटाइनुभएको छ ।
उच्च तहमा राजनीतिक छलफल गरी बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किनुभएका मुख्यमन्त्री शाहले बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको स्रोतले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर केही दिनयता नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र विवाद चलिरहेको छ । बजेट पारित गर्ने विषयमा पटक–पटक छलफल भए पनि दुई दलबीच सहमति जुट्न सकेको थिएन ।
बजेट विवादकै बीच मुख्यमन्त्री शाहले सत्ता साझेदार एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाएपछि सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण थप जटिल बनेको छ ।
मन्त्रीहरूलाई पदमुक्त गरिएको औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्