जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार १३:१६

दिवा खाजाले बढायो विद्यार्थी


लक्ष्मीप्रसाद सापकोटा
पर्वत,भदौ १७
पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए ।

बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे । खाजाखान घरमा गएका विद्यार्थी फर्किँदैन थिए ।

अभिभावक मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थी विद्यालय आसपासमा रहेका फलफूलका रुखमा भुण्डिन्थे । कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको हुन्थ्यो । तर, अहिले विद्यालयको वातावरण फेरिएको छ । विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थी बस्छन् ।

विद्यालयभन्दा केही तल निजी तथा आवासीय विद्यालय छन् । ती निजी विद्यालयबाट १० जना विद्यार्थी युवा वर्षमा फर्किएका छन् । १० जना विद्यार्थी निजीबाट सामुदायिक फर्किनु सङ्ख्यामा थोरै भएको भए पनि महत्वपूर्ण उपलब्धि भएको विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले बताउनुभयो ।

विद्यालयको वातावरणमा परिवर्तन आउनुमा विद्यार्थीलाई दिइने खाजा रहेको छ । स्थानीय प्रेम विक र वडा नंं। ७ कार्यालयले खाजा उपलब्ध गराएपछि विद्यालय समयसम्मै विद्यार्थी बस्ने गरेको प्रधानाध्यपक पुरीले बताउनुभयो ।

विद्यालयमा रहेका १२ जना छात्राका लागि विकले र बाँकी २३ जना विद्यार्थीलाई वडा कार्यालयले खाजा उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष विद्यार्थीको खाजा खर्चको लागि रु एक लाख विनियोजन गरेको वडाले चालू आर्थिक वर्षमा रु ६० हजार छुट्ट््याइएको छ । ‘यो विद्यालयमा गरीब, दलित र मजदूरका छोराछोरी अध्ययनरत छन् । उनीहरूको घरमा खाजा खुवाउन नसक्ने अवस्था पनि छ । खाजाकै कारण पनि विद्यार्थी विद्यालय आउन र शिक्षा प्राप्त गर्न सकुन् भनेर दिवा खाजा कार्यक्रमको थालनी गरेका हौँ,’ वडाध्यक्ष सुवासचन्द्र पौडेलले भन्नुभयो, “अघिल्लो आर्थिक वर्षमा एक लाख र यो वर्ष ६० हजार विनियोजन गरेका छौँ ।” खाजा कार्यक्रमको थालनी गरिएसँगै विद्यालयमा विद्यार्थीको टिकाउ दर राम्रो देखिएकाले खाजालाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

समाजसेवी विकले ‘छोरी पढाउ’ अभियान चलाउँदै आएका छन् । यही अभियानअन्तर्गत उनले तीन वर्षदेखि विद्यालयका बालिकाका लागि खाजाका साथै शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् ।

शिक्षक हरिप्रसाद आचार्यका अनुसार विकले यसवर्ष १२ जना बालिकाका लागि खाजा, स्टेशनरी, पोशाक, झोलालगायतका सामग्रीको उपलब्ध गराएका छन् । प्रधानाध्यापक पुरीका अनुसार विकले कक्षा– ५ सम्मको अध्ययन पूरा गरी नारायण मावि र शिवालय माविमा अध्ययनका लागि गएका छात्रालाई पनि निरन्तर सहयोग गर्दै आएका छन् ।

उहाँले भन्नुभयो, “यहाँबाट अर्को विद्यालयमा गएका छात्राले १२ कक्षा पढ्ने बेलासम्म खाजा, पोशाक, स्टेशनरीलगायतका सामग्री विकले उपलब्ध गराउँदै आउनुभएको छ ।” विद्यालयमा विपन्न परिवारका बालबालिका अध्ययनरत रहेकाले खाजाको प्रभावले विद्यार्थीलाई विद्यालय पठाउन सजिलो भएको अभिभावकहरु बताउँछन् । दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी विद्यालयमा रहेकाले अघिल्लो वर्षसम्म विद्यार्थी खाजाकै खोजीमा विद्यालय नजिकै रहेका स्थानीयवासीका अम्बा, कागती, सुन्तला, भोगटेका रुखमा झुण्डिने गरेको उनीहरूको भनाइ छ ।

दिवा खाजा कार्यक्रम सुरु भएपछि अहिले विद्यालयमा दैनिक विद्यार्थी उपस्थिति दर ९५ प्रतिशत भएको शिक्षक आचार्यको भनाइ छ ।
–––