जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०८:०७

कुलमान घिसिङको कमाल : एकै बर्ष कमायो बिद्युत प्राधिकरणले ७ अर्ब २० करोड खुद नाफा


काठमाडौं, भदौ ३० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटर जडान गरेर टेलिफोनजस्तै स्वचालित विलिङ कार्यान्वयनमा ल्याउने घोषणा गर्नुभएको छ । आफ्नो कार्यकालको तीन वर्ष अवधि पुगेको अवसरमा आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ इतिहास भएको बताउँदै प्राधिकरणको आन्तरिक सुधारसँगै अत्याधुनिक प्रविधिको प्रयोगमार्फत स्मार्ट मिटर जडान गर्ने बताउनु भएको हो ।

उहाँले अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीसहित ग्राहकलाई थप सुविधा उपलब्ध प्रतिवद्धता व्यक्त गर्नुभयो । इ–सेवा, आइएमई पे र प्रभु पेजस्ता मोबाइल वालेटमार्फत बिजुलीको बिल भुक्तानी गर्न सकिने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । वर्षायाममा उत्पादित विद्युतको सदुपयोग गरी शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन केन्द्रित हुने प्राधिकरणका लक्ष्य छ । प्राधिकरणले प्रशारण तथा वितरणलाइन र सबस्टेशनको सुदृढीकरण र विस्तारलाई अभियानको रुपमा लाने जानकारी पनि कार्यकारी निर्देशक घिसिङले बताउनु भयो ।

उहाँले भष्ट्राचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने प्रतिवद्धता जनाउनुभयो प्राधिकरणको वित्तीय अवस्था सृदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने योजना प्राधिकरणको छ ।प्राधिकरणले स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण घोषणा कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ । घिसिङले आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति अर्को महत्त्वपुर्ण पाटो रहेको बताउनुभयो ।

विद्युत खपतको दायरालाई विस्तार गर्न विद्युतीय यातायातका लागि चार्जिङ स्टेशन, विद्युतीय चुल्हो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने योजना पनि प्राधिकरणको छ । पत्रकार सम्मेलनमा उहाँले यो अवधिमा मुलुकलाई लोडसेडिङमुक्त घोषणा गर्नुका साथै वार्षिक करिब नौं अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई नाफामा लगेको जानकारी दिनुभयो । तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिब २४५ युनिट पुगेको कार्यकारी निर्देशक घिसिङले बताउनु भयो । यस्तै, विभिन्न कारणले रुग्ण बनेका जलविद्युत उत्पादन, प्रशारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनले घिसिङले आर्थिक वर्ष २०७/७४ मा १ अर्ब ४७ करोड, आव २०७४/७५ मा २ अर्ब ८५ करोड र आव २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिनभयो । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणको घाटालाई आव २०७३/७४ मा २८ अर्ब १७ करोड, आव २०७४/७५ मा २५ अर्ब ५९ करोड र आव २०७५/७६ मा १५ अर्ब २२ करोड रुपैयाँमा झारेको बताइएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड रुपैयाँ आम्दानी रहेको प्राधिकरणको आव २०७३/७४ मा ५१ अर्ब ७० करोड, आव २०७४/७५ मा ६१ अर्ब ९७ करोड रुपैयाँ र आव २०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ पुर्‍याएको कार्यकारी निर्देशक घिसिङले जनाकारी दिनुभयो ।