जनता टाइम्स

४ चैत्र २०८०, आईतवार ०४:१७

मानव विकास सूचकांकमा तीन स्थान माथि उक्लियो नेपाल, अफगानिस्तान र युक्रेनमा सबैभन्दा बढी असर


संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपालको तीन स्थान सुधार भएको छ भने अफगानिस्तान र युक्रेनमा सबैभन्दा बढी असर देखिएको छ ।

काठमाडौं, चैत ४ । मानव विकास सूचकांकमा नेपालको सुधार भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको ‘गतिरोधको अन्त्यः ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३/२४ को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक मान ०.६०१ पुगेको हो ।

प्रतिवेदनले मानव विकासको असर सबैभन्दा बढी अफगानिस्तान र युक्रेनमा परेको उल्लेख गरेको छ । अफगानिस्तानको मानव विकास सूचकांक दश वर्ष पछि धकेलिएको छ । यस्तै युक्रेनको मानव विकास सूचकांक स्तर सन् २००४ यताकै सबैभन्दा कम भएको छ ।

राष्ट्रको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई), मानव विकास सूचकांक, विद्यालय जाने औसत उमेर, साक्षरता, लैंगिक विकास सूचकांक, औसत आयुलगायतका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनअनुसार अध्ययन गरिएका एक सय ९३ देशमध्ये नेपाल १४६औँ स्थानमा रहेको छ । तीन वर्षअघि सन् २०२१ मा नेपाल १४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा ०.०१० ले प्रगति भई सुधारमा तीन स्थान माथि उक्लिएको छ ।

जुन विश्वव्यापी औसत सूचकांक ०.००४ भन्दा बढी हो । नेपाल मध्यम मानव विकास श्रेणीको वर्गमा परेको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई जनाउँछ । सन् १९९० देखि २०२२ सम्म नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल राष्ट्रिय उत्पादन ५४ खर्ब २४ अर्ब रहेको तथ्यांक छ । यस अवधिमा नेपालको सरदर आयु १५.७ वर्षले परिवर्तन भएको छ । त्यस्तै, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्षले सुधार भएको छ । सन् २०२२ मा महिलाहरूको मानव विकास सूचकांक ०.५६२ र पुरुषहरूको ०.६३५ रहेको छ, जसका कारण लैंगिक विकास सूचकांकको मान ०.८८५ हुन आउँछ ।

प्रतिवेदनमा जनाइए अनुसार सन् २०२३ मा आर्थिक सहायता र विकास संगठन (ओइसिडी)का सदस्य रहेका सबै ३८ राष्ट्रहरूले सन् २०१९ मा प्राप्त गरेको सूचकांकको तुलनामा मानव विकास सूचकांक (एचडिआई)ले उच्च अंक हासिल गरेका छन ।

यस्तै सन् २०२० र २०२१ मा आफ्नो मानव विकास सूचकांकमा गिरावट सामना गर्ने ३५ अति कम विकसित देशहरूमध्ये आधाभन्दा बढी (१८ वटा देशहरू)ले अझै पनि सन् २०१९ को स्तरको मानव विकास पुनस्र्थापित गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी सबै विकासशील क्षेत्रहरूले सन् २०१९ अघि कायम रहेको मानव विकास सूचकांकको अपेक्षित गति हासिल गर्न असफल भएको प्रतिवेदनले औंल्याएको छ ।