जनता टाइम्स

२४ असार २०८२, मंगलवार २३:२२

रसुवाको बाढीमा ९ को मृत्यु, १९ अझै बेपत्ता


काठमाडौं, २४ असार । रसुवामा मंगलबार बिहान आएको भीषण बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन्। बेपत्तामध्ये दुई जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्।

बेपत्ता भएकामध्ये पछिल्लो पटक रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेका अनुसार २० जना बेपत्ता रहेकामा एकको शव भेटिएपछि अब १९ जना हराइरहेका छन्।

उद्धार कार्यमा खटिएका प्रहरीका अनुसार हालसम्म ५७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धारका लागि ३८३ जना प्रहरी परिचालन गरिएको छ।

बाढीले रसुवाको नेपाल–चीन सिमानास्थित मितेरी पुल बगाएको छ। साथै २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी (ईभी) बगाएको जनाइएको छ।

बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति पुर्‍याएको छ भने भन्सार कार्यालयको यार्डसमेत डुबानमा परेको छ।

धुञ्चे–टिमुरे सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। बाढी र पहिरोका कारण सञ्चार तथा आवागमनमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ।

सरकारले राहत तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ । मौसम विभागले आगामी केही दिन अझै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।