जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १८:३०

एमालेले सरकारमा हैसियतअनुसारको जिम्मेवारी किन पाएन ? यस्तो छ महासचिव शंकर पोखरेलको खुलासा


काठमाडौं, चैत १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको रक्षा गर्ने कुरामा सफलता प्राप्त भएपनि राष्ट्रप्रतिको दायित्व पूरा गर्ने सन्दर्भमा अझ धेरै मेहनेत गर्नुपर्ने निश्कर्ष सुनाउनु भएको छ ।

एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले एमालेका नेतादेखि कार्यकर्तासम्मले राष्ट्रप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने बताउनु भयो ।

‘हामीले पार्टीको रक्षा गर्ने कुरामा सफलता प्राप्त गरेका छौं । राष्ट्रप्रतिको दायित्व पूरा गर्ने सन्दर्भमा भने अझ धेरै मेहनेत गर्नुपर्नेछ । अहिले एमाले जुन ठाउँमा छ, त्यो ठाउँबाट राष्ट्रिय दायित्व पूरा गर्न सक्दैन, स्पष्ट बहुमत जरुरी छ ।’ चुनाव प्रणालीलाई देखाएर निराशा प्रकट गर्ने अवस्था अहिले नभएको महासचिव पोखरेलले बताउनुभयो । संसदीय राजनीतिमा लोकप्रिय पार्टीले कम्तीमा पनि ४० प्रतिशत मत ल्याउनु पर्ने उहाँको भनाई छ । त्यति मत ल्याउँदा पनि बहुमत पुगेन भने मात्र संविधानलाई दोष दिन मिल्ने तर्कपनि गर्नुभयो ।

‘संसदीय लोकतन्त्रमा लोकप्रिय राजनीतिक दलले जति मत प्राप्त गर्दछन, त्यति मत (४० प्रतिशत) प्राप्त गर्दा पनि बहुमत आउन सकेन भने संविधानलाई खोट लगाउन सकिन्छ, संसदीय लोकतन्त्रको औसत मत पनि ल्याउन नसक्ने अनि संविधानलाई दोष दिन मिल्छ ?’, महासचिव पोखरेलको प्रश्न थियो ।

बैठकमा बोल्दै पोखरेलले पार्टी राजनीतिमा सबैभन्दा धेरै मेहनेत वाग्मती प्रदेशले गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय दायित्व र चुनौतीको हिसाबले सबैभन्दा बढी दायित्व वाग्मती प्रदेश कमिटीको काँधमा रहेको उहाँले प्रष्ट पार्नुभयो । वाग्मती प्रदेशमा २०७९ को चुनावमा पार्टीलाई ठुलो क्षति भएकोले त्यसलाई उकास्न पार्टीले असाधारण ढंगबाट काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आन्तरिक रूपमा भएको असमझदारी र मतभेदको कारण एमालेले सोचे जस्तो मत प्राप्त गर्न नसकेको भन्दै महासचिव पोखरेलले अव ती सवै समस्याको पहिचानसहित समाधान दिएर नतिजा निकाल्नुपर्ने निश्कर्ष पनि सुनाउनु भयो । त्यसलाई ध्यानमा राखेर पार्टी एकतामा ध्यान दिनु पर्ने पोखरेलको धारणा छ । मिसन ग्रासरुटले पार्टीभित्रका आन्तरिक समस्या र जनताका अपेक्षालाई उजागर गरेको र त्यसकै आधारमा पार्टी केन्द्रीय कमिटी बैठकले वार्षिक कार्य योजना निर्माण गरेको पोखरेलले प्रष्ट पार्नुभयो । तथापि कार्य योजना अनुसार काम नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

एमालेमा अब काम नगरी नेता बन्न नसक्ने उहाँले बताउनुभयो । पोखरेलले अब पार्टीमा नेताहरूलाई काम गरेर देखाउन आग्रह गर्नुभयो । एमाले काम गर्नेहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘अब कामका आधारमा मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी हाम्रा कमिटीहरू अगाडि बढ्नु पर्दछ’, उहाँले भन्नुभयो ।

पोखरेलले यतिबेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै विवाद नभएको स्पष्ट पार्नुभयो । नीति, नेतृत्व र राजनीतिक मुद्दाका हिसाबले पार्टी एकैठाउँमा रहेको उहाँले बताउनुभयो । तथापि स्थानीय र प्रदेश तहमा व्यक्तिगत मतभेदलाई पार्टीभित्रका मतभेदका रूपमा वा समूहबन्दीको रूपमा रूपान्तरण गरेर आफूलाई बलियो देखाउन खोज्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले त्यो पार्टीका लागि हानिकारक हुने बताउनुभयो ।

‘स्थानीय र प्रदेश तहमा व्यक्तिगत मतभेदलाई पार्टीभित्रका मतभेदका रूपमा वा समूहबन्दीको रूपमा रूपान्तरण गरेर आफूलाई बलियो देखाउन खोज्ने प्रवृत्ति देखिएको छ । त्यो पार्टीका लागि निकै हानिकारक र खतरनाक छ,’ महासचिव पोखरेलको भनाई थियो ।

पार्टीका अधिवेशनमा सहमति भएन भने व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न पाइन्छ भनेको भए पनि त्यस अनुसार स्वच्छ प्रतिस्पर्धा नभएको उहाँले बताउनुभयो । ‘प्रतिस्पर्धा गर्ने नेताले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजिराखेका छन, त्यसले नीति, नेतृत्व र राजनीतिमा देखिएको एकतालाई खलबल्याइराखेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

नेतृत्वको लागि बनाउने टिम स्वार्थको लागि बनाइएको टिम भएको पनि उहाँले स्पष्ट पार्नुभयो । यस्ता कुरालाई प्रोत्साहित गर्नु नहुनेमा पोखरेलले जोड दिनुभयो । अधिवेशनको लागि पाँच दिन पहिले नै प्रतिनिधि चयनको काम सकेर अधिवेशन उदघाटन गर्नु दुई दिनअघि प्रतिनिधि प्रमाणीकरण गर्नुपर्ने पोखरेलले बताउनुभयो ।

अधिवेशन पछि जिम्मेवारी प्राप्त गरेको नेतृत्वले एकता र सहकार्यको वातावरण निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निर्देशन पनि महासचिव पोखरेलले दिनुभयो । त्यसो गर्न सक्दा मात्र मिसन २०८४ सफल पार्न सकिने उहाँको धारणा छ । लोकतान्त्रिक अभ्यासका लागि लोकतान्त्रिक संस्कृति निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

एमालेको अहिलेको मुख्य लक्ष मिसन २०८४ नै भएको पोखरेलले बताउनुभयो । सरकारमा पुगेको भए पनि एमाले मिसन २०८४ बाट विचलित नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘अहिले गरेको सहकार्य मिसन २०८४ लाई सहयोग पुर्याउने गरी नै गरेका छौं, मिसन २०८४ को हाम्रो उद्देश्यमा हाम्रो कुनै फेरबदल भएको छैन,’ महासचिव पोखरेलले भन्नुभयो ।

अहिलेको सरकारमा वामपन्थी दलहरूको सहकार्य बढी भएको भए पनि वामपन्थी गठबन्धन नभएको उहाँले प्रष्ट पार्नुभयो । अहिलेको सत्ता सहकार्य पाँच राजनीतिक दलहरूको सहकार्य भएको पोखरेलले बताउनुभयो । एमालेको नीति समाजवादी मोर्चा बनाउनेतर्फ नभई बलियो राजनीतिक शक्ति बनाउनेतर्फ केन्द्रित रहेको उहाँले बताउनुभयो ।

एमाले राजनीतिक ध्रुवीकरणको माध्यमबाट जाने स्पष्ट नीतिका साथ अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । ‘सहकार्य सँगसँगै हामी वैचारिक राजनीतिक प्रतिस्पर्धा पनि गरिरहेका छौँ’, उहाँले भन्नुभयो । एमालेले अहिले सरकारमा पार्टीको हैसियत अनुसारको जिम्मेवारी नखोजेको उहाँले बताउनुभयो । देशलाई सकंटबाट निकाल्न जे जिम्मा पाइन्छ, त्यसका माध्यबाट सकारात्मक सन्देश प्रवाह गर्ने सोच नेकपा एमालेको भएको उहाँको भनाई छ ।