जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १०:४१

सहज कर्जा र ब्याजदर घटदा पनि बढेन घरजग्गाको कारोबार


काठमाडौं, बैशाख ३ । बैंकहरूले ब्याजदर घटाएर सहज कर्जा प्रवाह गर्दा पनि चालु आर्थिक वर्ष (आव) मा घरजग्गाको कारोबार निकै निराशाजनक रहेको पाइएको छ । उच्च ब्याजदर, कर्जामा समस्या हुँदा पनि गत आवको तुलनामा चालु आव घरजग्गा कारोबार निकै खस्किएको पाइएको हो ।

सरकारले चालु आव पहिलो त्रैसासमा भूउपयोग नियमावली संशोधनमार्फत जग्गा कित्ताकाटमा सहजीकरण गरिसकेको छ । यस्तै गत आव फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको घरजग्गा कर्जामा औसत ब्याजदर चालु आव फागुन मसान्त आउँदा १०.७८ प्रतिशतमा झरेको छ ।

बैंकिङ प्रणालीमा ५ खर्बभन्दा बढी लगानीयोग्य तरलता छ । राष्ट्र बैंकले आवासीय घर कर्जा सीमा बढाउनुका साथै स्वीकृति लिएर सञ्चालन भएको आवास विकास परियोजनाको कर्जामा जोखिम भारसमेत घटाएको छ । नीतिगत रूपमा सहजीकरण गर्ने र कर्जा सहज बन्दै जाँदा पनि चालु आव घरजग्गा कारोबारमा भने सुधार हुन नसकेको हो । जस्को कारण राजस्व् संकलनसमेत प्रभावित भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आव चैत मसान्तसम्म ३ लाख ८० हजार १ सय ७५ लिखत पारित भएको छ । उक्त लिखत पारित हुँदा २९ अर्ब १९ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आव चैतसम्म ३ लाख २१ हजार ३ सय ७ वटा लिखत पारित हुँदा ३० अर्ब २ करोड २५ लाख राजस्व संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउने भन्दै चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको छ । आम्दानीको ५० प्रतिशत मासिक किस्ता हुने गरी मात्रै कर्जा लगानी गर्न पाइने व्यवस्थालाई ६० प्रतिशत बनाइएको छ । यस्तै धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा (लोन टु भ्यालु रेसियो) पनि उपत्यकाभित्र ३० प्रतिशतम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरिएको छ ।

यसैगरी आवासीय कर्जा सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्याइएको छ । रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ ।फागुनको चुलनामा चैतमा घरजग्गाक कारोवार र राजस्वमा सुधार देखिए पनि राजस्व भने घटेको छ । गत आव चैतमा ४९ हजार १ सय ५० लिखत पारित भएकोमा चालु आव सोही अवधिमा ५० हजार २ सय ५२ लिखत पारित भएको छ । त्यसबाट ३ अर्ब ९४ करोड ८१ लाख राजस्व संकलन भएको छ । गत आव सोही अवधिमा ४ अर्ब ५१ करोड २७ लाख राजस्व संकलन भएकोमा चालु आव १२.५१ प्रतिशतले राजस्व घटेको छ ।

फागुनमा सबैभन्दा धेरै लिखत पारित सुनसरी इनरुवा मालपोतमा भएको चैतमा पनि सोही कार्यालय अगाडि देखिन्छ । उक्त कार्यालयबाट चैतमा २ हजार ८२ लिखत पारित भएको छ । भद्रपुर मालपोत कार्यालय झापाबाट १ हजार ८ सय ३५, धुनषा जनकपुरधाम १ हजार ८ सय २३, मोरङ बेलबारी १ हजार ७ सय ९९, सप्तरी राजविराज १ हजार ३ सय २, सर्लाही मलंगवा १ हजार १ सय ८२, सिरहा मालपोत १ हजार ९८, महोत्तरी जलेश्वर १ हजार ५४ र सिरहा लाहान मालपोतबाट १ हजार २७ लिखत पारित भएको छ ।

लिखत पारितमा मधेश प्रदेश र कोसी प्रदेशका मालपोत कार्यालय अगाडि छन । राजस्व संकलनमा भने ललितपुर लगनखेल मालपोतबाट सबैधन्दा धेरै संकलन भएको छ । फागुनमा ३ अर्ब ५९ करोड २७ लाख राजस्व संकनल हुँदा लगनखेल मालपोतबाट मात्रै ३२ करोड ५८ लाख ९० हजार संकलन भएको थियो । चैतमा ३ अर्ब ९४ करोड ८१ लाख राजस्व संकलन हुँदा लगनखेलबाट ३९ करोड ६२ लाख राजस्व संकलन भएको छ ।

त्यसैगरी भक्तपुर मालपोतबाट २७ करोड ६८ लाख, कलंकी २५ करोड ७७ लाख, डिल्लीबजार २४ करोड ५९ लाख, चाबहिल २३ करोड २२ लाख, चितवन १३ करोड ६१ लाख र सुनसरी इनरुवा मालपोतबाट १२ करोड ८२ लाख राजस्व संकलन भएको छ । चैतमा प्राप्त राजस्वमध्ये सेवा कर ३१ करोड ५३ लाख छ । यस्तै रजिस्ट्रेसन दस्तुर २ अर्ब ४९ करोड १८ लाख र पूँजीगत लाभकर १ अर्ब ४६ करोड ९१ लाख रहेको विभागले जनाएको छ ।