जनता टाइम्स

२५ असार २०८२, बुधबार १६:३७

मिति घोणा नहुँदै कांग्रेसलाई लाग्यो महाधिवेशन, बिनोद चौधरी खुसी पार्न प्रदेश महामन्त्री नै पार्टीबाट निष्काशित


रुपन्देही, असार २५ । गत आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदार हराउन भूमिका खेलेको आरोपमा नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले खनाललाई पार्टीबाट निष्काशन गरेको हो ।

नेपाली कांग्रेसमा इतर समूहमा रहनु भएका खनाललाई ०७९ सालको निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गरेको भन्दै उजुरी परेको थियो । उजुरी परेको लामो समयपछि महाधिवेशनको मुखमा त्यही उजुरीलाई आधार मानेर कांग्रेस केन्द्रीय अनुशासन समितिले खनाललाई कारबाही गरी निष्काशन गरेको हो । समितिका सभापति आनन्दप्रसाद ढुंगानाले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पत्र लेख्दै खनाललाई निष्काशन गरिएको जानकारी दिनुभएको छ ।

पत्रमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकको निर्णयअनुसार नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० निवासी नेपाली कांग्रेस लुम्विनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टिकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएकोले उपलव्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) र उपधारा ८ (ड) बमोजिम निजलाई १ (एक) वर्षको लागि सदस्यताबाट निस्काशन गर्ने निर्णय भएको उल्लेख छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

यही असार १६ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो । यता महामन्त्री खनालले आफूलाई कारबाही गर्ने सूचना पाएसँगै जिल्लामै पत्रकार सम्मेलन गरेर त्यसको प्रतिवाद गर्नुभएको थियो । महामन्त्री खनालले यसको जवाफ आफ्नो क्षेत्रमा रहेका पार्टी कमिटीले नै दिने बताउनु भएको छ ।

‘कांग्रेस डन र धन भएकाहरुको कब्जामा गएको यो उदाहरण हो भनेर मैले भन्दै आएको छु, यस्तै गर्दै गए ०८४ मा पार्टी सकिने मेसो हो, जसले गल्ती गरेको छ उसलाई जोगाउने र जसले निरन्तर पार्टी बचाउन लागिरहेको छ, उसलाई सकाउने तरिकाले कसरी चल्छ पार्टी ?’ खनालले भन्नुभयो ।

कांग्रेसको महाधिवेशन गर्नुपर्ने मिति नजिकिदै गएको अवस्थामा मिति घोषणा नहुँदै भएको यो कार्वाहीलाई स्थानीय नेताहरुले महाधिवेशनको तयारीका रुपमा अर्थ्याएका छन । महाधिवेश गर्ने बेलामा कार्वाही गरेपछि खनालको प्रभावमा रहेकोहरु तितरबितर बनाउने र आफ्नो समुहलाई जिताउने योजनाअनुसारको काम भएको स्थानीय नेताहरुको भनाई छ ।