जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १४:०१

राजावादीभन्दा खतरनाक छ राजपाको भित्री काम


यो समय नेपालजस्ता विकासोन्मुख देशहरू अत्यन्त अप्ठ्यारोमा परेको समय हो । खास गरेर पश्चिमा अर्थतन्त्रसँग जोडिएका मुलुकहरूमाथि अहिले कालो बादल ढाकिएको छ । यो बादल छाँटिन्छ कि छाँटिँदैन ? पश्चिमा अर्थतन्त्र पनि अहिले अप्ठ्यारोमा परिरहेको छ । पश्चिमा पुँजीवादसँग आपूmलाई सम्हाल्ने क्षमता पनि राम्रो छ तर हामीसँग त्यस्तो क्षमता छैन भनेर हामीले बेलैमा स्वीकार गर्नुपर्ने हुन्छ । यो हाम्रो आफ्नै कमजोरी हो । आफ्नो कमजोर क्षमताका कारण हामी पश्चिमा जसरी अप्ठ्यारोबाट बाहिर निस्कन पनि सक्दैनौं । त्यसैले परम्परागत शैलीबाट हामीले बढ्ने कोशिस गरिरह्यौं भने गहिरो ओरालोतिर झर्नेछौं ।

हाम्रो समस्या के हो ? परम्परागत सामन्ती चेत र त्यही चेतनामा बेरिएको शासन प्रणाली । चेतनाले प्रणालीमाथि शासन गरेको हुनाले हाम्रा सबै काममा समस्या आएको छ । म नेपाली कांग्रेस या अन्य पार्टीलाई दोष दिन्नँ । किनभने नेपाली काँग्रेसले समाजवादी सोचको श्राद्ध २०५० सालमै गरेको हो । त्यो श्राद्ध सकिएपछि नेपाली कांग्रेस समाजवादी रहेन । यो कुरा समाजवादी अन्तर्राष्ट्रियका महासचिवले नै भनेका हुन । उनले अंग्रेजीमा भनेका थिए, ‘विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको निधनपश्चात नेपाली कांग्रेस समाजवादी रहेन । यो अहिले उदार पुँजीवादको बाटोमा हिँडिरहेको छ ।’ यो आजको कुरो होइन । संयुक्त राष्ट्र महासंघ अधिवेशन चलेको, शायद सन् २००६ को सेप्टेम्बर हुनुपर्छ जस्तो लाग्छ । ती महासचिवसँग हाम्रो नेपालीको भेटघाटको व्यवस्था मिलाउनुभएको थियो, संयुक्त राष्ट्रसंघको नेपाली आयोगमा काम गर्ने रामप्रसादले । उहाँको थर ढकाल हो कि जस्तो लाग्छ । थर जे भए पनि यहाँ, नेपाली कांग्रेसले समाजवाद त्यागेर असफल पश्चिमा दलाल पुँजीवादको सेवा सुरु गरेको १२ वर्ष बितिसकेछ ।

कांग्रेसका बुढाहरू त अब कुनै हालतमा पनि समाजवादतिर जाँदैनन । युवामा पनि समाजवाद निम्त्याउने आत्मविश्वास, त्याग, तपस्या भएको देख्दिनँ । मैले नेपाली कांग्रेसका युवा साथीहरूमाथि हेलाँहोचो गरेको होइन तर उहाँहरूको जागरण अभियानले बीपी कोइरालाको बाटो समात्न नखोजेको हुनाले यसरी लेख्नुपरेको हो । अहिलेको राजनीतिको तात्विक निष्कर्ष निकाल्दा नेकपा र नेपाली कांग्रेसबाहेक अरू कुनै पनि राजनीतिक दलको जोडघटाउले देशको नेतृत्व गर्न सक्दैनन । सपारे पनि बिगारे पनि जस र अपजस, यिनै दुईटा पार्टीको टाउकामा जाने हो । म जस्तो साधारण नागरिकको यो प्रस्ताव राजनीतिका ठूलाबडालाई अर्थ न बर्थको लाग्ला तर गाउँ र नगरपालिकामा प्रतिनिधित्व गर्ने साथीभाइहरूलाई केही न केही सहयोगी पाठ्यसामग्री हुन सक्ला कि भन्ने सोच बनाएको छु ।

नेकपाको सरकार आफ्नो अवस्थितिबारे सचेत छैन । हल्ला राजावादीको धेरै छ । ज्ञानबहादुर शाहीको तुच्छ बोली सामाजिक सञ्जालमा भाइरल भएको सबैलाई थाहा भयो । तर भित्री काम भने राजपाको बढी खतरनाक छ । पछिल्लोपटक त्यसका संस्थापक अध्यक्ष महन्थ ठाकुरले बोलेको वाक्यलाई कसैले चासो नदेखाएको हुनाले म झसङ्ग भएको छु । हुन त राजपाका बाँकी अध्यक्षहरूले पनि पटक पटक यस्तै कुरा भन्दै आएका हुन । महन्थ ठाकुर राजपाका वरिष्ठ नेता पनि हुनुहुन्छ । उहाँले सिधै– उहाँहरूको सहमति अनुसार संविधान लेखिएन भने प्रदेश नम्बर २ को नेपाली भूभाग नेपालबाट अलग्गिने घोषणा गर्नुभयो । तर कसैको ध्यान त्यता गएको छैन । न कुनै नेताले भाषण गरे, न कुनै कार्यकर्ताले सत्तोसराप गरे । सबै नेपाली र विशेष गरेर नेकपा र नेपाली कांग्रेसले थाहा पाउनुपर्छ— नाम ज्ञानेन्द्र राखे पनि कर्णाली प्रदेशको ज्ञानबहादुर शाही एक हुन । तर महन्थ ठाकुर एक होइनन । लामो समयसम्म नेपाली कांग्रेसका नेता महन्थ एउटा पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । उहाँले बोल्नु भनेको मधेस तराईको थोरै भए पनि मतको प्रतिनिधित्व हो ।

म र मभन्दा अगाडिका नेताहरू, हामीले के पाएनौं ? हाम्रो लडाइँ पद र प्रतिष्ठाका लागि थियो ? थिएन । त्यसैले हाम्रो पुस्ताले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गरेपछि, हामीले आफ्नो जिम्मेवारी पूरा गर्यौं । हामीले मात्र संसार बोक्नुपर्या छैन । तपाईंहरूलाई केको लोभ लाग्या हो ? खाने, लगाउने नै हो भने त्यसको जिम्मा आगामी सरकारको हुनेछ । लोकतान्त्रिक गणतन्त्रको सामाजिक व्यवस्थापनले गर्ने हो ।हामीले नै लोकतान्त्रिक गणतन्त्रकोे राजनीतिक एवं सामाजिक व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भन्ने अहंता प्रदर्शन नगरौँ । हाम्रो सोच गणतन्त्रसम्म मात्र थियो । तर हामीले गणतन्त्रको सर्वोच्च शिखर संघीयताको लक्ष्यसम्म मुलुकलाई पुर्यायौं ।

सामन्तवादबाट पुँजीवादसम्मको छलाङ हाम्रो राजनीतिक यात्रा हाम्रै नेतृत्वमा भएको हो । तर राजनीतिमा छलाङ दुर्घटनाको शिकार पनि हुनसक्छ, होस पुर्याउन सकिएन भने । यस्ता घटना धेरै देखिएका छन विश्व राजनीतिमा । चीनको सांस्कृतिक क्रान्ति, सोभियत संघको समाजवाद, कम्बोडियाको सांस्कृतिक क्रान्तिका असफलताहरू छलाङका परिणाम हुन । समाजवादी शासनका कारण होइनन भन्ने ज्ञानको हेक्का रहनुपर्छ नेकपाका सर्वोच्च नेतागणलाई । हामी छलाङका निष्कर्ष हौँ । हामीले राष्ट्रिय पुँजीवादको विकास नै नगरी समाजवादको सपना देखेका छौं । अहिले दलाल पुँजीवादले हाम्रो सरकारको खुट्टामा चाँदीको नेल ठोकिदिएको छ । सरकारले अहिले संघीय संसद, मन्त्रिपरिषद र कर्मचारीतन्त्रको सिंगो संगठनको पुनःसंरचना नगर्ने हो भने नेपाल ठूलो दुर्घटनाको शिकार हुने कुरो निश्चित छ ।

यो दुर्घटनाबाट बच्ने एकमात्र बाटो संघीयताको परिचय र त्यसको परिचालन हो । संघीयता स्थानीय स्वशासन मात्र होइन, त्यो स्वयं सत्ता हो । ‘गाउँ गाउँमा सिंहदरबार भनेर जसरी तपाईंहरू भाषण गर्नुहुन्छ नि, काम पनि त्यसरी नै गर्न सक्नुपर्यो । सम्पूर्ण सत्ता पालिका सरकारलाई भन्ने तपाईंहरूको व्यवहारले तल उत्साह दिन्छ । त्यसले राजनीति मात्र होइन, सामाजिक व्यवस्था र आर्थिक परिचालनमा पनि विकास ल्याउने कुराको परिणाम हाम्रासामु आइरहेका पनि छन । मासुमा ९५ प्रतिशत आत्मनिर्भर, अण्डामा ८० प्रतिशत आत्मनिर्भर जस्ता समाचार पढेकै हौं हामीले । बझाङ, हुम्ला र जुम्लामा उत्पादित स्याउले, विदेशी स्याउको आयातलाई घटाएका छन । हिमाली जिल्लासम्म पुग्ने सहज मार्ग निर्माण भएपछि स्याउमा पनि आत्मनिर्भर हुनेछौं । हामी अहिले निर्यातको सपना नदेखौं । अहिलेको हाम्रो लक्ष्य भनेको आत्मनिर्भरता हो । गाउँपालिकाहरू आत्मनिर्भर होउन । प्रदेशहरू आत्मनिर्भर होउन । सबै आत्मनिर्भर भएपछि केन्द्र त्यसै आत्मनिर्भर हुन्छ । यति सामान्य कुरोतिर किन तपाईंहरूको ध्यान नगएको हो ? मैले बुझ्न नसकेको कुरो चाहिँ यही हो ।

आर्थिक विकासका लागि केन्द्रीय शासन प्रणाली सबैभन्दा ठूलो बाधा हो भन्ने प्रमाणित भइसकेपछि पनि किन तपाईंहरू सिंहदरबारबाट बाहिर निस्कन चाहनुहुन्न ? यो प्रश्नले तपार्ईंहरूलाई घोचोस र तपाईंहरू स्थानीय सत्ताका असल सल्लाहकार हुन सक्नुहोस । केन्द्रीय शासन प्रणालीले मुलुकको भलो गर्न सकेन भन्ने तपाईं हामी सबैको साझा अनुभव हो । संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र असफल हुनु मूल कारण पनि केन्द्रीय शासन प्रणाली थियो । संघीयताको एउटा निर्वाचन काल सकिँदा नसकिँदै सफलताका सूचकहरू एकपछि अर्को देखा पर्दैछन ।

त्यसो भए संघीय संसद र सरकारले के गर्ने ? एकभारी काम छन तपाईंहरूका– पञ्चशीलका आधारमा विश्वसम्बन्ध कायम गर्ने, राष्ट्रिय महत्वका आयोजनाहरूको अनुगमन गर्ने र कुनै पनि आयोजनालाई मेलम्ची हुन नदिने, नेकपाका अध्यक्षको घरमालिकजस्तो छुट कसैलाई नदिने, काम बिगार्ने सबै ठूला ठेकेदारलाई कठोर कारबाही गर्ने अधिकार सम्बन्धित मन्त्रालयलाई दिने काम गरेर आरामसाथ लोकतान्त्रिक गणतन्त्र अनुकूलको कानुन बनाउने । यति काम भएपछि जजसले गिद्धेदृष्टि लगाए पनि नेपाल सधैँ नेपाल भएर बाँचिरहनेछ ।