जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार २३:२५

अब ‘बत्ति मुनीको अँध्यारो’ रहनु हुँदैन रामेछाप


गंगालालले स्वार्थ हेरेको भए हाँसीहाँसी प्राण आहुती दिने थिएनन। पुष्पलालले स्वार्थ हेरेको भए शासकसँग मिलेर अकुत सम्पति कमाउन सक्थे । कृष्णलालले माफी मात्र मागेको भए जेलको कालकोठरीमा मृत्यु वरण गर्नु पर्दैनथ्यो  ।  गंगालाल,  पुष्पलाल र कृष्णलाल जन्मेकै धर्तीमा उहाँहरुकै रगतको केही अंश अवश्य बाँकी छ भन्नेमा विश्वस्त छु ।

यसिमा महत

तीन लालको जिल्ला भनेर चिनिने रामेछाप क्रान्तिकारीहरूको किल्ला हो । जुन जिल्लाले चुक घोप्ट्याएको जस्तो कालो औंसीको रातमा पनि देशमा उज्यालो ल्याउन एउटा झिल्कोको काम गरेको इतिहास साक्षी छ । गंगालाल, पुष्पलाल र कृष्णलाल रामेछापको धर्तीले जन्माएको ती वीर योद्धा हुन् जसले निष्पट्ट औंसीको रातजस्तो राणातन्त्र र राजतन्त्रविरुद्ध नेपाली जनताको मस्तिष्कमा चेतानाको झिल्को बाल्न आफ्नो प्राणको आहुती दिए ।

देशभरको जनताको मस्तिष्कमा चेतनाको झिल्को बाल्ने सपुत जन्माउने रामेछापको धर्ती अहिले ‘बत्तिमुनिको अँध्यारो’ जस्तो भएको छ । क्रान्ति वीरहरू जन्माएको, हुर्काएको धरामा अहिले कस्को ताण्डव चलिरहेको छ, हामी सबैलाई थाहा छ । यस्तो हुनु भनेको हामी सबैले लज्जाबोध गर्नुपर्ने स्थिति हो । यस्तो कसरी र किन भयो भन्ने समिक्षा पछि–पछि गर्दै गरौंला अहिले नेकपा (एमाले) को ९औं जिल्ला अधिवेशन छ रामेछापमा । रामेछापेली लालहरूले पुष्पलालको विरासत बोकेको पार्टी एमालेको जिल्ला नेतृत्व छान्दैछन् ।

यस्तो गौरवशाली जिल्लामा यस्तो गौरवशाली विरासत बोकेको पार्टीले कस्तो नेतृत्व छान्ने त भन्ने अहिलेको प्रमुख विषय हो । हुन त ८ पालिकाको ६४ वडाबाट छानिएर आएका ७०० प्रतिनिधिहरूले यसको अन्तिम छिनोफानो गर्ने हुन् । रामेछापको धर्ती पुत्र/पुत्रीको विवेकमा अविश्वास गर्नु मुर्ख्याई हुन्छ । उहाँहरूको विवेकमा प्रश्न उठाउने मेरो धृष्टता होइन, बरु एउटा सानो सुझाव मात्र हो ।

पार्टीहरू सिद्धान्त र विचारको वाहक हुन् । नेकपा (एमाले) भनेको पुष्पलालले संगठित गरेको, स्थापना गरेको पार्टीको सच्चा उत्तराधिकारी पार्टी हो । त्यसैले पनि एमाले रामेछापको जिल्ला अधिवेशन एउटा जिल्ला अधिवेशन मात्र होइन, अबको पाँच वर्ष पुष्पलालको उत्तराधिकारी कसलाई छान्ने भन्ने अर्थमा पनि बुझ्नुपर्छ भन्ने लाग्छ मलाई । जसले पुष्पलाल र गंगालालको धर्तीमा गैरकम्युनिष्टको परेड बन्द गराउन सकोस ।

कुनै जवर्जस्ती वा जोरजुलुम गरेर हैन एमालेले अंगिकार गरेको जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको आलोकमा गैरकम्युनिष्टको परेड बन्द गराउने हो । प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गरेर त्यो परेड बन्द गराउने हो । यसो भनेको पुष्पलालको विचार र एमालेको सिद्धान्तका बारेमा जनतालाई सचेत गराएर उनीहरूको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने हो । यो अधिवेशनले रामेछापको धर्तीको यो गौरवशाली विरासतको मर्मलाई हृदयदेखिनै आत्मसात गर्ने नेतृत्व छान्न सके मात्र हामी सफल हुन सक्छौं ।

नेतृत्व अर्थात जिल्ला हाक्ने टिम साझा फुलवारी हुनै पर्छ । साझा फुलवारी भन्नाले त्यस टिममा सबैले अपनत्व महसुस गर्न हरेकले आफ्नो अनुहार देख्नु पर्छ । रामेछापमा बसोबास गर्ने सबै जातजाति, भाषाभाषीले त्यो आफ्नो प्रतिनिधित्व देख्ने अवस्था भयो भने मात्र उनीहरूले पत्याउने हो/अपनत्व महसुस हुने हो । अपनत्व महसुस गर्नु, गराउनु पहिलो शर्त हो । अर्को भनेको महिला, पुरुष, युवा र पाकाको पनि फुलवारी हुनु पर्छ ।

पाकाको अनुभवको मार्गनिर्देशमा युवाको जोस, जाँगर मिसिंदा मात्र पार्टी, संगठन जिवन्त र स्फुर्त हुने हो । युवा त हो तर अनुभव छैन, अनुभव त छ, जोश-जाँगर छैन भने जति नै राम्रो सिद्धान्त र विचार भए पनि त्यो ठिक ढंगले हिड्न सक्दैन । महिला र पुरुष त समाजरूपी रथका दुई पाङ्ग्रा भइहाले । एउटा बिना अर्को चल्नै सक्दैन । तर, हिजोआज महिला प्रतिनिधित्वको नाममा देखावटी गर्ने प्रचलन छ । तर, अब एमालेमा त्यस्तो चल्दैन जुन पार्टीले दुई कार्यकाल देशकै प्रतिनिधित्व गर्ने ठाउँमा महिलालाई पुर्यायो त्यो पार्टीका महिला पुरुषभन्दा अब्बल र सक्षम छन् भन्ने प्रमाण पनि हो । यति नै प्रतिशत त भनिन्न तर, संविधानमा व्यवस्था भएको ३३ प्रतिशतभन्दा बढी त हुनै पर्छ, त्यो पनि प्रमुख पदहरूसमेतमा ।

माथिनै भनिसकिएको छ । एमाले भनेको अहिलेलाई समाजवादको लक्ष्य बनाएर हिडेको कम्युनिष्ट पार्टी हो । हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो । समाजवादको पुच्छर झुण्ड्याएर खुलेका थुप्रै साना–मसिना पार्टीहरू छन् नेपालमा र रामेछापमा पनि । उनीहरू र एमालेमा के फरक छ भन्ने बुझाउन सक्ने नेतृत्व आजको आवश्यकता हो । विचारले लैस भएको जाँगरिलो टिम चाहिन्छ रामेछापलाई आजको नतिजा उल्टाउन । यो भनेको ‘सिद्धान्तमा दृढ र व्यवहारमा लचिलो’ को गुण नेतृत्वमा हुनैपर्छ । आजभोली लचकताका नाममा लपक्कै भएर विपक्षीसंगै लहसिने त कतै सिद्धान्तका नाममा अररो भएर आफ्नाबाहेक अरूसंग बोलचालै बन्द गर्ने वा अरू कसैसंग बोलचाल गरेकै भरमा पार्टीभित्र शंकास्पदरूपमा हेर्ने प्रवृति छ । यो पार्टी र नेतृत्वको लागि सबैभन्दा हानीकारक हो ।

अर्को र अति महत्वपूर्ण भनेको जनतासंग नङ र मासुको सम्वन्ध राख्न सक्ने नेतृत्व आजको आवश्यकता हो । नेतृत्व भनेको जनताले आफूलाई परेको बेला आँखा अगाडी उभिएको देख्न पाउनुपर्छ । उ जनताको सेवक बन्नुपर्छ । बाँच्दाको जन्ती र मर्दाको मलामी हुनुपर्छ । जनतासंग अलगथलग हुने, ठालु पल्टिने नेतृत्वलाई कसरी आफ्नो ठान्छन र ? त्यसैले जनताको हरेक दुःख सुखमा साथमा रहने, जिल्लाको भूगोल, भाषा, संस्कृति बुझेको नेतृत्वले मात्र नङ र मासुको सम्वन्ध बनाउन सक्छ । रामेछापमा जन्मिएको मान्छे स्वार्थी हुनै पाउदैन ।

यदी गंगालालले स्वार्थ हेरेको भए हाँसहाँसी प्राणको आहुती दिने थिएनन् । पुष्पलालले पनि स्वार्थ हेरेको भए राणा र पंञ्चायतसंग मिलेर अकुत सम्पति कमाउन सक्थे ।कृष्णलालले माफी मात्र मागेको भए जेलको कालकोठरीमा मृत्यु वरण गर्नु पर्दैनथ्यो  ।  गंगालाल,  पुष्पलाल र कृष्णलाल जन्मेकै धर्तीमा जन्मेकाहरूको रगतमा उहाँहरूको रगतको केही अंश अवश्य बाँकी छ भन्नेमा विश्वस्त छु ।