जनता टाइम्स

२७ जेष्ठ २०८१, आईतवार १५:३५

तत्काल सदस्यको सूची सार्वजनिक गरी चुनावको मिति तोक्न पत्रकार महासंघलाई चेतावनी


काठमाडौं, जेठ २७ । नेपाल पत्रकार महासंघको नेतृत्वले निर्वाचन रोकेर आफ्नो कार्यकाल लम्ब्याउने हर्कत गरेकोमा पत्रकारहरुको बिभिन्न संगठनहरुले गम्भीर आपत्ति जनाएका छन ।

आफू आवद्ध संगठनको निर्देशनमा सदस्यता विवादलाई बहाना बनाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको भन्दै ती संगठनहरुले आपत्ति जनाएका हुन । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे बटमलाइन पनि सुनाएका छन ।

निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको यी ६ संगठनको ठहर छ । सुर्खेत साधारणसभाबाट महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएकोमा महासंघले आफ्नो कर्तव्य पूरा नगरेको कारण अहिलेको परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

असार दोस्रो साताभित्र चुनाव गराउने प्रतिवद्धता कार्यान्वयको माग राख्दै ६ संगठनका नेतृत्वले शुद्धीकरण मापदण्ड, जिल्ला र प्रदेशको सर्वसहमति, संगठनका अध्यक्षहरूबीच भएको भद्र सहमतिसहित कार्यदलको प्रतिवेदनको आधारमा सक्रिय पत्रकार नछुट्ने गरी टुंगो लगाउनु पर्ने, २०८१ जेठ ३२ गतेभित्र मतदाताको नामावली निर्वाचन समितिमार्फत सार्वजनिक गरिनुपर्ने उनीहरूले बताएका छन ।

पत्रकार महासंघको गरिमा, गौरव र जिम्मेवारीलाई कायम राख्दै यसको कानूनी वैधानिकता कायम निर्वाचन सम्पन्न गर्न आवश्यक सहमतिको वातावरण बनाउन र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता विज्ञप्तिमा जनाइएको छ ।

‘यसको जिम्मेवारी महासंघको मूल नेतृत्वले लिनु पर्दछ । महासंघले आफ्नो आधिकारिक तथ्याङ्क र धारणा सार्वजनिक गर्न नसकेपछि महाधिवेशन नै हुने/नहुने अनिश्चितता हुँदै गएको बेला संगठनहरूकै पहलकदमीमा २७ औं महाधिवेशन सफलताका साथ सम्पन्न भएको र जेठ २६ गते निवार्चन गर्ने मिति तय भएको थियो । अन्तिम अवस्थासम्म पुग्दा पनि महासंघले सदस्यताको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न नसक्दा तोकिएको समयमा निर्वाचन हुन नसकेको हो,’ बिज्ञप्तिमा भनिएको छ ।

संयुक्त प्रेस विज्ञप्ति
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनले तय गरेको तीनै तह केन्द्र, प्रदेश र जिल्ला शाखा/एशोसियट समितिको निर्वाचन हुनुपर्ने दिन २६ जेठ २०८१ हो । तर निर्धारित मितिमा निर्वाचन हुन नसकेको जानकारी महासंघले विज्ञप्तिमार्फत गराएको छ । विज्ञप्तिमा सदस्यता विवादको कारणले मात्रै निर्वाचन समयमै हुन नसकेको बताउँदै असार दोस्रो हप्ताभित्रमा निर्वाचन गरिने जानकारी गराइएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको मात्रै होइन, निर्वाचनको मिति समेत ठोस गरिएको छैन । यसले फेरि पनि अन्यौलता सिर्जना गरेको छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न (२०७९ पुस ८–९) साधारणसभाबाट पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएको थियो । सो मापदण्डका आधारमा शुद्धीकरण गरी पत्रकार महासंघको सदस्यता अभिलेखीकरण गर्न सर्वपक्षीय सहमति भएको पनि विदितै छ । तोकिएको समयावधिमा महासंघले आफ्नो कर्तव्य पुरा नगरेको कारण यस्तो परिस्थिति सिर्जना भएको हो । यसको जिम्मेवारी महासंघको मूल नेतृत्वले लिनु पर्दछ । महासंघले आफ्नो आधिकारिक तथ्याङ्क र धारणा सार्वजनिक गर्न नसकेपछि महाधिवेशन नै हुने/नहुने अनिश्चितता हुँदै गएको बेला संगठनहरूकै पहलकदमीमा २७ औं महाधिवेशन सफलताका साथ सम्पन्न भएको र जेठ २६ गते निवार्चन गर्ने मिति तय भएको थियो । अन्तिम अवस्थासम्म पुग्दा पनि महासंघले सदस्यताको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न नसक्दा तोकिएको समयमा निर्वाचन हुन नसकेको यथार्थ छर्लङ्ग छ ।
पत्रकार महासंघको निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मुल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेको मात्रै छैन महासंघ नेतृत्व महासंघलाई अमूक संगठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ भन्ने प्रमाणित भएको छ । अतः नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी यसको वैधानिकता जोगाउन हामी देहायका संगठनहरू निम्नानुसारका माग गर्दछौं ।
१. नेपाल पत्रकार महासंघको निर्वाचन २०८१ असार दोस्रो हप्ताभित्र गर्ने महासंघको प्रतिवद्धता पूर्ण रूपमा कार्यान्वयन गरियोस् ।
२ पत्रकार महासंघको सदस्यताको विषय शुद्धिकरण मापदण्ड, जिल्ला र प्रदेशको सर्वसहमति, संगठनका अध्यक्षहरूबीच भएको भद्र सहमतिसहित शुद्धिकरण कार्यदलले दिएको प्रतिवेदनको आधारमा सक्रिय पत्रकार नछुट्ने गरी टुंगो लगाइयोस् ।
३. नेपाल पत्रकार महासंघको नेतृत्वलाई २०८१ जेठ ३२ गतेभित्रभित्र मतदाताको नामावली निर्वाचन समितिमार्फत सार्वजनिक गरि निर्वाचन प्रक्रिया शुरु गरियोस् ।
४ पत्रकार महासंघको गरिमा, गौरव र जिम्मेवारीलाई कायम राख्दै यसको कानूनी बैधानिकता कायम गर्नको लागि महासंघको निर्वाचन सम्पन्न गर्न आवश्यक सहमतिको वातावरण निर्माण गर्न तथा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
तपसिल
१. गणेश बस्नेत, अध्यक्ष, प्रेस चौतारी नेपाल
२. विष्णु सापकोटा ‘जुगल’, अध्यक्ष, प्रेस सेन्टर नेपाल
३. विश्वमणि सुवेदी, अध्यक्ष, समाजवादी प्रेस संगठन नेपाल
४. शेरबहादुर विश्वकर्मा, अध्यक्ष, जनपत्रकार संगठन नेपाल
५. कमल बुढा, अध्यक्ष, क्रान्तिकारी प्रेस संगठन
६. श्यामलाल पोखरेल अध्यक्ष, प्रगतिशील पत्रकार संघ नेपाल