काठमाडौं, २५ असार । प्रवासी नेपाली मन्च कतारको १९ जुलाई २०२४ मा हुन गइरहेको सातौँ राष्ट्रिय अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्नका निमित्त सम्पूर्ण तयारी भइरहेकोछ । चर्को घाम समेतको कुनै प्रवाह नगरी सातौँ राष्ट्रिय अधिवेशन समिति पूर्ण तयारीका साथ लागि परेको संयोजकले जनाउनुभएको छ । अधिवेशनको तयारी सम्बन्धी सातौँ राष्ट्रिय अधिवेशनका संयोजक अफसर अलि खानसँग जनताटाइम्सले गरेको कुराकानीको सम्पादित अंश :
प्रवासी नेपाली मञ्च भनेको के हो ? सामाजिक रूपान्तरणमा यसले कस्तो योगदान गर्दै आएको छ ?
नेकपा एमालेसँग निकट रहेको विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कमिटि एक गैर–नाफामूलक सामाजिक संस्था हो । जसले विदेशमा रहेका नेपालीहरूको हक, हितको रक्षा गर्दै उहाँहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा श्रमिकको हक, अधिकारको सुनिश्चितता गर्दै शिप विकासमा योगदान पुर्याउँदै आएको छ ।
विदेशमा रहेका नेपालीहरूको बीचमा एकता र सहकार्यको भावना बढाउने कार्य गर्दछ ।
मञ्चले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेर नेपाली, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रवास होस या देश, विपद्को समयमा राहत तथा पुनःस्थापना कार्यहरूमासमेत प्रवासी नेपाली मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
कतारमा स्थापित भएको यो मञ्चले श्रमिकका समस्याहरू उपर कसरी सम्बोधन गरिरहेको छ ?
प्रवासी नेपाली मञ्च कतारले श्रमिकहरूको समस्याहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्दै उनीहरूको भलाइका लागि विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ ।
कानूनी सहायता: आवश्यकता अनुसार मञ्चले यहाँका नेपाली श्रमिकहरूलाई कानूनी सहायता तथा परामर्श प्रदान गर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाले उनीहरूलाई आफ्नो अधिकार तथा कर्तव्यबारे जानकारी दिनुको साथै सजगसमेत बनाउने गरेको छ ।
समस्याको दर्ता र समाधान: नेपाली श्रमिकहरूका समस्याहरू सुन्ने र तिनीहरूको दर्ता गर्ने प्रणाली मञ्चले विकास गरिएको छ । यस सन्दर्भमा मञ्चले श्रमिक समस्या पहिचान तथा समाधान विभाग मार्फत दर्ता गरिएका श्रमिकका समस्याहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायहरूमा पुर्याउने र समाधानको पहल गर्ने गरेको छ ।
स्वास्थ्य सेवा: नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि विभिन्न समयमा संघ संस्थाहरू सँग समन्वय गरेर स्वास्थ्य शिविरहरू आयोजना गर्ने गरेको छ ।
शिक्षा तथा तालिम : श्रमिकहरूको सीप विकास गर्न विभिन्न तालिम तथा कार्यशालाहरू आयोजना गरी उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्ने गरेको छ ।
मनोरंजन तथा सांस्कृतिक कार्यक्रम: नेपाली श्रमिकहरूको मानसिक स्वास्थ्य सुधार गर्न र उनीहरूको मनोरंजनका लागि विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरूको आयोजना गर्ने गरिएको छ ।
समुदायको सुदृढीकरण: श्रमिकहरूलाई संगठित तुल्याएर एकता र सहकार्यको भावना बढाउँदै आत्मबल सुद्रिढ गर्न मन्चले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।
सातौँ राष्ट्रिय अधिवेशनको तयारी कस्तो छ ? अधिवेशन कहाँ र कुन समयमा गर्दै हुनुहुन्छ ?
सातौँ राष्ट्रिय अधिवेशनको तयारी पूर्णरूपमा अघि बढिरहेको छ । हामी यसलाई भव्यता पूर्वक सम्पन्न गर्न लागि परेका छौं । सातौँ अधिवेशन तयारीका मुख्य पक्षहरू निम्नलिखित छन् ।
- आयोजनाको स्थान र समय : १९ जुलाई २०२४ का दिन ११ बजेबाट अधिवेशन उदघाटन समारोह सुरु हुने छ । हामी कतारको अबु हमोरमा स्थित डल्ला ड्राइविङ हलमा खुला सत्र आयोजना गर्दै छौं । अधिवेशन स्थलको व्यवस्थापन र सजावटको तयारी प्रायः पूरा भइसकेको छ ।
- आमन्त्रित अतिथिहरू : आमन्त्रित अतिथिहरुमा प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका पदाधिकारीहरू, महादेशीय कमिटीका नेतागण तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्षहरू साथै विभिन्न सम्मानित व्यक्तित्वहरूलाई आतिथ्यताको निम्ति निमन्त्रणा पठाइएको छ । एनआरएनए , नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरू, संघ संस्था प्रतिनिधि र सामाजिक अभियन्ताहरूलाई कार्यक्रममा अतिथिको रूपमा आमन्त्रित गरिएको छ ।
- कार्यक्रम तालिका : अधिवेशनको कार्यक्रम तालिका तयार भइसकेको छ, जसमा उद्घाटन समारोह, विभिन्न सत्रहरू, सांस्कृतिक कार्यक्रमहरू र समापन समारोह समावेश छन् ।
- सुरक्षा व्यवस्था : कार्यक्रम अवधीभर सहभागीहरूको सुरक्षाका लागि स्वास्थ्य सेवा, आपत्कालीन सहायता सहित स्वमसेवकको व्यवस्था गरिएको छ ।
- प्रचार-प्रसार : अधिवेशनको प्रचार–प्रसारका लागि विभिन्न सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरू प्रयोग भएका छन्, जसबाट कार्यक्रममा जनचेतना सहितको सहभागिता बढ्ने आसा गरिएको छ ।
- आर्थिक व्यवस्थापन : अधिवेशनको आर्थिक पक्षलाई व्यवस्थित गर्न प्रायोजनकर्ता तथा दाताहरूको उल्लेख्य सहयोग प्राप्त भएको छ । बजेटको व्यवस्थापन र खर्चको लेखाजोखा पनि व्यवस्थित रूपमा भइरहेको छ ।
प्रमुख वक्ताको रूपमा नेपालबाट को आउँदै हुनुहुन्छ ? कतारलाई अन्तराष्ट्रिय कमिटी तथा पार्टी केन्द्रले हेर्ने दृष्टिकोण कस्तो छ ?
प्रमूख वक्ताको रूपमा पार्टी केन्द्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आउँदै हुनुहुन्छ । प्रवासी नेपाली मञ्च कतारलाई अन्तर्राष्ट्रिय कमिटी तथा पार्टी केन्द्रले सधैँ साथ, सहयोग, समर्थनसहित उचित मार्गदर्शन प्रदान गर्दै उच्च महत्त्वका साथ हेर्ने गरेको छ ।
नयाँ बन्ने कार्यसमितिमा यस पटक कस्तो प्रतिस्पर्धा हुन सक्ने सम्भावना छ ? संयोजकको हैसियतले तपाईंसँग सबैलाई समेटेर लैजाने के–कस्ता योजनाहरू छन् ?
नयाँ बन्ने कार्यसमितिमा यसपाली रोमाञ्चक र चुनौतीपूर्ण प्रतिस्पर्धा हुन सक्ने सम्भावना छ । संयोजकको हैसियतले मैले सबैलाई समेटेर सर्वसहमत गराएर लैजाने योजना र प्रयास रहनेछ । यो मेरो प्रमूख दायित्व पनि हो । यसरि गयौं भने संस्था एक ढिक्का बनेर अगाडि बढ्न सक्छ र समग्रमा आफ्नो लक्षमा पुग्न सकिन्छ । यदि त्यो अवस्था नभएको खण्डमा लोकतान्त्रिक प्रक्रिया पनि छँदैछ । आन्तरिक प्रतिस्पर्धा गरेर नयाँ नेतृत्व चयन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्