जनता टाइम्स

२८ कार्तिक २०८१, बुधबार ०८:१५

लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै बिद्युत प्राधिकरणको असुली धन्दा बन्द, उद्योगमा काटिएका लाइन जोडिए


२०७२ साउनदेखिको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुलको छुट बिल भन्दै २०७६ मा प्राधिकरणले जारी गरेपछि यो विवादित बनेको हो । प्राधिकरण नेतृत्वले उद्योगबाट असुली गर्न परेमा सोही आधार देखाउँदै बिजुलीको लाइन काटदै आएको थियो ।

काठमाडौं, कात्तिक २८ । डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा उद्योगमा काटिएका विद्युतका लाइन जोडिएका छन । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले काटिएका लाइन जोड्ने निर्णय गरेसँगै उद्योगमा लाइन जोडिएको हो ।

सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ऊर्जासचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतको उपस्थिति रहेको थियो । मन्त्रिपरिषदको आइतबारको बैठकले उद्योगका काटिएका लाइन जोड्ने निर्णयपछि मन्त्री खड्काले सोमबार नै प्राधिकरण सञ्चालक समिति बैठक डाक्नुभएको थियो । तर, केही समिति सदस्य उपत्यका बाहिर भएका कारण कोरम नपुगेपछि मंगलबार पुनः बैठक बसेको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले काटिएका लाइन जोड्न र टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र विवादित बक्यौता उठाउने निर्णय गरेको थियो । उक्त बैठकले लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको थियो । मन्त्री खड्काले सरकारको निर्णयअनुसार २४ घन्टाभित्र लाइन जोडिएको जानकारी दिनुभयो । खडकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै १५ दिनभित्र बक्यौता उठाउने पनि जानकारी दिनुभयो ।

मन्त्री खड्काले प्राधिकरणले टीओडी मिटरको आधारमा बिल दिनुपर्ने र उद्योगीले सोको आधारमा बक्यौता तिर्नुपर्ने बताउँदै बिल दिन नसके प्राधिकरणका कर्मचारीमाथि र बक्यौता नतिरे उद्योगीमाथि कारबाही हुने स्पष्ट जानकारी पनि दिनुभयो ।

यता, उद्योगहरूको काटिएको लाइन जोड्ने सरकारको निर्णयपछि प्राधिकरणले त्यसलाई कार्यान्वयन गरेको हो । प्राधिकरणले विवादित बक्यौता रहेका २८ उद्योगको लाइन यही कात्तिक ८ गते काटेको थियो । केहीले प्राधिकरणको किस्ता सुविधाअनुसार पहिलो किस्ता तिरेपछि केही लाइन काटिएर पनि जोडिएको थियो । अहिले सरकारको निर्णय कार्यान्वयन गर्दै काटिएका २८ उद्योगको नै लाइन जोडिएको प्रवक्ता चन्दन घोषले बताउनुभयो ।

२०७२ साउनदेखिको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत महसुलको छुट बिल भन्दै २०७६ मा प्राधिकरणले जारी गरेपछि यो विवादित बनेको हो । नियमित विद्युत महसुल तिरिरहेका उद्योगीहरूले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत महसुल बक्यौता २०७२ साउनदेखि २०७७ असारसम्मको भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता हालसम्म करिब २२ अर्ब पुगेको छ ।

विवाद सुल्झाउन यसअघि गठन भएका समितिका सुझावहरू कार्यान्वयन हुन नसकिरहेको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा विवाद समाधान आयोग गठन गरेको थियो । सो आयोगले प्रतिवेदन दिएपनि सो सकरारले गुपचुप राखेको थियो । अहिले भने आयोगको प्रतिवेदन कार्यान्वयनमा आएको छ । गत वैशाखमा सरकारलाई बुझाइएको लाल आयोगको प्रतिवेदन कात्तिक २५ गतेको मन्त्रिपरिषदको निर्णयपछि कार्यान्वयनमा गएको हो ।

आयोगको प्रतिवेदनले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवादलाई तीन चरणमा बाँडेको छ । २०७२ साउनदेखि २०७२ पुससम्म, २०७२ माघदेखि २०७५ वैशाखसम्म र २०७५ जेठदेखि जेठमसान्तसम्मको समयलाई अध्ययन गरेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले भएका नीति, कानुन र ऐन तथा टीओडी मिटरका आधारमा बक्यौता उठान सुझाएको छ । डेडिकेटेड तथा ट्रंकलाइनका सम्बन्धमा विद्यमान कानुनी व्यवस्थासँगै प्राधिकरणले जारी गरेका सूचनालाई आधार बनाएर छुट बिल जारी गर्न सुझाएको छ ।

प्राधिकरणले उद्योगीलाई सोही बिल देखाएर असुलीको अखडा बनाएको सूचना पाइएपछि सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र बिलअनुसारको असुली १५ दिनभित्र गर्ने निर्णय गरेको छ । यो निर्णयपछि कार्वाहीमा पर्ने त्रासले बिद्युत प्राधिकरणका केही कर्मचारी युनियन बिरोधमा उत्रदै आफ्नो बदमासी खुलासा गरेका छन ।