जनता टाइम्स

१६ मंसिर २०८१, आईतवार १७:०६

आमाकै सलमा झुण्डिए अभियन्ता टिकटकर गिभिनाका भाइ राम


काठमाडौं, मंसिर १६ । पोखरा महानगरपालिका–२५ याम्दीको अभियन्ता टिकटकर गिभिना मगरले आमा गुमाउनु परेको छ । गत मंसिर ८ गते विवाह भएको गिभिनाको दुइटा घर (माइती) छन् । परिवारका सदस्यहरु धेरैजसो ‘माथिल्लो घर’ मा बस्छन् । शुक्रबार बेलुकीपख गिभिनाका भाइ २६ वर्षीय रामबहादुर बुढाले आफ्नो बाबु र आमालाई कतैबाट स्कुटरमा ल्याएर माथिल्लो घर नजिकै सडक छेउमा ओराल्नुभएको थियो । आफू ‘तल्लो घर’ गएर फर्किन्छु भनेर निस्किनुभयो ।

गिभिनाका बाबुआमालाई घर पुग्न बाटो क्रस गर्नुपर्ने थियो । उहाँहरु दुवै जेब्रा क्रसबाट बाटो काट्दै हुनुहुन्थ्यो । ५५ वर्षीया धनकुमारी बुढा अघिअघि र उनका श्रीमान पछिपछि हुनुहुन्थ्यो । सीसीटीभीमा देखिएअनुसार फराकिलो सडकमा गाडीहरु स्पीडमा आइरहँदा गिभिनाका बुबा रोकिए, तर आमा सडक पार गर्न अचानक दौडिनुभयो । उहाँलाई ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसमै ठक्कर दियो । धनकुमारी गम्भीर घाइते हुनुभयो । बुवाआमालाई छोडेर हिँडेका रामबहादुर तत्काल घटनास्थलमा आउनुभयो ।

आमालाई परिवारका अरु सदस्यसमेत जम्मा भएर धनकुमारीलाई मणिपाल शिक्षण अस्पतालमा पुर्याइयो, तर उहाँको प्राणान्त भइसकेको थियो । लैजानासाथ चिकित्सकले मृत घोषणा गरे । आमाको दुर्घटनाको खबर सुनेपछि काठमाडौंमा रहेकी गिभिना पोखरा पुग्नुभयो । भाइसहितका परिवारले मणिपालमा कानूनी प्रक्रिया पूरा गरेर आमाको शवलाई अस्पतालमै छोडेर घर फर्किए । गिभिना राति ८ बजे पोखरा पुग्नुभएको थियो, तर आमाको मृत्यु भएको उहाँलाई सुनाइएको थिएन । भोलिपल्ट मात्रै भन्ने परिवार र आफन्तको तयारी थियो ।

उहाँलाई अस्पतालमा धेरै जना बस्न नमिल्ने बताएर घरमै पठाइदियो । भाइ रामले आफू अस्पतालमा बस्ने बताएका थिए । राति अस्पताललाई शव जिम्मा लगाएर सबैजना घरतिर आउ । रामले आफूले दिदीलाई सम्हाल्न नसक्ने भन्दै ‘तल्लो’ घरमा एक्लै बस्ने बताउनुभयो । आमालाई गुमाएर विक्षिप्त बन्नुभएको उहाँ अरू परिवारलाई छोडेर एक्लै तल्लो घरतर्फ लाग्नुभयो । ‘सबै प्रक्रिया पूरा भएपछि उसलाई (गिभिनाका भाइ) घर जाऊँ भन्यौं, तर उसले माथिल्लो घरमा जान मानेन’, गिभिनाका फुपाजु जीवनकुमार श्रेष्ठले भन्नुभयो, ‘हामी गाडीमा आयौंं । ऊ स्कुटरमा फर्कियो ।’

अस्पतालमा रामले आमाको शव नजिकै विलौना गर्दै ‘ममी तपाईं जानु भो, तपाईंसँगै म पनि आउँदैछु है’ भनेका थिए । ‘हामीले त सुनेका होइनौं, तर पछि चौकीमा गएर थाहा भयो भाइले आमाको शव नजिक गएर ‘ममी तपाईं जानुभो, तपाईंसँगै म पनि आउँदैछु है’ भनेका रहेछन्’, गिभिनाका फुपाजुले भन्नुभयो । रामले आफ्ना आमाबाबुलाई औधी माया र सम्मान गर्ने गर्नुहुन्थ्यो । आमा गुमाएपछि उहाँले आफूलाई बेसहारा सम्झिनुभएछ । आफूले ‘जेब्रा क्रस’ कटाइदिएको भए यस्तो घटना नहुने सोचेर उहाँलाई आत्मग्लानी भइरहेको थियो ।

फुपाजुका अनुसार राम राति अबेरसम्म साथीहरूसँग थिए, तर छुट्टिने बेला एक्लै बस्छु भनेर घरतर्फ लागे । त्यसपछि रामले कसैको फोन रिसिभ गरेनन् । गिभिनाले राति लाइभ आउँदै भाइ हराएको बताएकी थिइन् । लाइभमा रुँदै उहाँले भन्नुभएको छ,‘मेरो सबै खुसी फिर्ता लैजा भगवान । मेरो आमा र बाबुलाई फिर्ता ल्याइदे । मेरो कान्छो भाइले ममीले छोडेर गएको कुरा खप्न सक्दैन । भाइ मेरो लाइभ हेरिरहेको छस् भने तँ आइज । जता भए नि आइज । ममी नभए पनि म छु त !’ अर्को दिन बिहान पनि फोन नउठेपछि सबैजना माथिल्लो घरबाट तल्लो घरमा पुगे ।

घरमा राम झुन्डिएको अवस्थामा भेटियो । रामको प्राण उडिसकेको थियो । रामले आमाको रगत लागेको ‘सल’ आत्महत्या गर्न प्रयोग गरेका थिए । पारिवारिक स्रोतका अनुसार राम गिभिनाका दुई भाइमध्ये कान्छा हुन् । विवाहित रामका श्रीमती र एक बच्चासमेत छन् । आमाको मृत्युको पीडा खप्न नसकेरै रामले आत्महत्या गरेको पारिवारिक स्रोतको भनाइ छ । पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष मोतीलाल तिमल्सिनाले पनि आत्महत्या गर्नुको अरु कारण नरहेको बताउनुभयो । प्रहरीले पनि प्रारम्भिक रुपमा यही निष्कर्ष निकालेको छ । गिभिनाले वैवाहिक जीवन सुरु गरेको एक साता पनि नबित्दै अकल्पनीय वियोग सहनुपरेको छ ।