जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०९:१९

ओली सरकारको कामको परिणाम : २६ प्रतिशतले बढ्यो निर्यात, घट्यो आयात, दुई महिनामा मुलुक ९ अर्ब बचतमा


काठमाडौं, कात्तिक ७ । यस आर्थिक वर्षको साउन र भदौ महिनामा नेपालको निर्यात ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक बर्षको पहिलो दुई महिनामा करिव २६ प्रतिशतले निर्यात बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय स्थितिअनुसार यस अवधिमा निर्यात २५. ९ प्रतिशतले बढेको हो । निर्यातमा उल्लेख्य सुधार आउँदा आयात पनि घटेको छ । आयात १.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको बस्तु आयात भएको छ भने १८ अर्ब २५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ । यस अवधीमा भारतमा हुने निर्यात सबैभन्दा बढी ४६ प्रतिशतले बढेको छ । पाम तेल, अलैंची, जुटका सामान, धागो कपडालगायतका बस्तुको निर्यात बढेको हो । दुई महिनामा पेट्रोलियम पदार्थ, पशुपंक्षी, चामल, सवारीसाधन र तिनका पार्टपूर्जाको आयात घटेको छ ।

साउन र भदौ महिनामा रकमका आधारमा पेट्रोलियम पदार्थको आयात ८ प्रतिशतले घटेको छ । यस अवधिमा २८ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको यस अवधिमा ३० अर्ब ९४ करोड मुल्यको पेट्रोलियम पदार्थ आयात भएको थियो । मुलुकमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी रहेको छ । यस्तै जिउँदो पशुपंक्षीको आयात एक सय प्रतिशतले घटेको छ भने चामलको आयात पनि २५ प्रतिशतले घटेको छ । गाडी तथा स्पेयर पार्टस्को आयात ९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हालेदेखि नै आत्मनिर्भर अर्थतन्त्र निर्माणका साथै खाद्यन्नमा आत्मनिर्भर बनाउने अभियान चालेको परिणामका रुपमा यस अवधीको निर्यात बृद्धि र आयात कमलाई लिइएको छ

आयात घट्नु र निर्यात बढ्नुले मुलुकको व्यापार घाटामा सुधार देखिएको छ । अर्थात व्यापार घाटा गत आर्थिक वर्षको सोही दुई महिनाको तुलनामा ३. १ प्रतिशतले घटेको छ । दुई महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ छ । गत वर्षको यसै अवधिको तुलनामा यो ३. १ प्रतिशतले कमी हो । गत वर्षको यस अवधिमा निर्यात जम्मा ८ प्रतिशतले बढेको थियो भने आयात ३८ प्रतिशतले बढेको थियो । मुलुकको व्यापार घाटामा आएको सुधारसँगै भुक्तानी सन्तुलन समेत सकारात्मक बनेको छ । दुई महिनामा मुलुकको भुक्तानी सन्तुलन ८ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत वर्षको यस अवधिमा २५ अर्ब ४५ करोडले नोक्सानीमा थियो ।

मुलुकमा भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थिति अर्थात भुक्तानी सन्तुलन भन्ने गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हालेदेखि नै आत्मनिर्भर अर्थतन्त्र निर्माणका साथै खाद्यन्नमा आत्मनिर्भर बनाउने अभियान चालेको परिणामका रुपमा यस अवधीको निर्यात बृद्धि र आयात कमलाई लिइएको छ । भुक्तानी सन्तुलनमा भएको बचत पनि यसैको परिणम हो ।